मास्क र स्यानिटाइजरको उत्पादन गर्ने उद्योगमा हडताल निषेध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मास्क र स्यानिटाइजरको उत्पादन गर्ने उद्योगमा हडताल निषेध


११ असार २०७७, बिहिबार


काठमाडौँ । सरकारले मास्क र स्यानिटाइजरलाई ‘अत्यावश्यक सेवा’को सूचीमा राखेर यसको उत्पादन, पैठारी, ढुवानी, भण्डारण र वितरणमा हडताल निषेध गरेको छ ।

हुलाक, टेलिफोन, हवाई, जल तथा स्थल मार्गबाट हुने उपभोग्य वस्तुको आपूर्ति ढुवानी, दैनिक उपभोग्य वस्तु, सुरक्षा, छापाखाना, बैङ्किङ, विद्युत्, बिमालगायत १९ किसिमका सेवामा हडताल गर्न नपाइने व्यवस्था रहेकोमा यस पटक थप ३ वटा वस्तु तथा सेवामा हडताल निषेध गरिएको हो ।

कोरोना सङ्क्रमण विरुद्ध प्रतिकार्य योजना लागूभएसँगै सरकारले पनि मास्क र स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । कोरोना महामारीसँगै नेपालसहित विश्वभर मास्क र स्यानिटाइजर खपत पनि उच्च छ ।

औषधि व्यवस्था विभागले पनि नेपालमा स्यानिटाइजरको उत्पादन सुरु गरिसकेको छ ।

यस्तै, भेटिरिनरी सेवालाई पनि अत्यावश्यक सूचीमा राखिएको छ । सोमबार नै राजपत्रमा यसको सूचना प्रकाशित गरिएको छ ।

अत्यावश्यक सेवाको सूचीमा राखिएका वस्तु तथा सेवामा कर्मचारी वा मजदुर कसैबाट पनि आन्दोलन, हडताल र अवरोध गर्न पाइने छैन ।

एक पटक जारी भएको अत्यावश्यक सेवा सम्बन्धी आदेश ६ महिनासम्म कायम रहने अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ मा उल्लेख छ । सरकारको आदेश उल्लङ्घन गरे ६ महिनासम्म कैद वा २ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीले यस्तो कसुर गर्नेमाथि कैद र जरिवानाको सजाय गर्न सक्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस