गण्डकी प्रदेशका थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि


७ असार २०७७, आइतबार


काठमाडौँ । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार १६ सङ्क्रमित फेला परेका छन् ।

बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना सङ्क्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको गल्कोट नगरपालिकामा ४ जना र काठे खोला गाउँपालिकामा ३ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।

यस्तै ढोरपाटन नगरपालिका र बागलुङ नगरपालिकामा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरू सबै पुरुषहरू हुन् । उनीहरू २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन् ।

यसै गरी म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना सङ्क्रमित छन् ।

पर्वतको कुस्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरू सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस