थ्याङ्क यू अल इसेन्सियल वर्कर्स : एक टिप्पणी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थ्याङ्क यू अल इसेन्सियल वर्कर्स : एक टिप्पणी


६ असार २०७७, शनिबार


डियर अल इसेन्सियल वर्कर्स,
यो विषम् घडीमा सम्भवतः : तपाईँहरू आफ्नो जीवनलाई जोखिममा राखी विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) सँग आफै लड्दै हुनुहुन्छ।तपाईँहरू सबै महान् काम गर्दै हुनुहुन्छ। तपाईँहरू सबैलाई प्रेम, सम्मान, कदर र उच्च प्रशंसा पठाउँदै तपाईँहरूको यो बफादार सेवाको लागी भित्री हृदय देखि नै हार्दिक धन्यवाद।म सम्मान र सराहनाका साथ तपाईँहरू सबैलाई सलाम गर्दछु।

यतिबेला विश्व मानव जगतमा एक महान् सङ्कट, एक कठिन घडी, एक पिडादायी अवस्था, एक प्रतिकूल समय र एक नयाँ चुनौती जुन असाधारण समयको रूपमा देखा परेको छ। जुन गम्भीर तीव्र श्वासन सिन्ड्रोम कोरोना भाइरस-2 (सार्स-कोभ-२)को कारण संक्रामक रोगको रूपमा कोरोना भाइरस रोग-२०१९ (कोभिड-१९) को नामले पहिलो पटक डिसेम्बर २०१९ मा चीनको वुहानमा पहिचान भयो र त्यसपछि विश्वव्यापी रूपमा फैलिएको छ, जसको परिणामस्वरूप विश्‍वभरी निरन्तर महामारी फैलिएको छ। यस असाधारण समयका लागि विभिन्न असाधारण उपायहरू अवलम्बन गरिए र गरिनु आवश्यक मानिन्छ पनि।लाग्छ, परिस्थितिको पहिचानलाई प्रकृतिले अनुकूलनका रूपमा लिएको हुन्छ। किनकि, प्रणाली मर्मत-सम्भार र अनुकूलनले सबैतिर चौतर्फी स्थिरता ल्याउन मदत पुर्याउदछ। जुन स्थिरता एउटा अन्योलको बाटोमा पाखण्डी युगसँगै समयको समीकरण गर्दै आस्थाको ओडार खोजेजस्तो अर्थात् बालुवामा पानी थुपारेजस्तै भएको अवस्थामा पनि एक टिम जो हरदिन, हररात प्रयत्नशील छ, जसले वर्तमान सङ्कटको अवस्थालाई नजिकबाट नियाल्दै अनि यसका चुनौतीहरूलाई सामना गर्न आफ्नो निरन्तरको योगदान, खोज, अनुसन्धान एवं प्रयासलाई जारी राखेका छन्, त्यो हो टिम वर्क र जुन टिममा कार्यरत सबै इसेन्सियल वर्कर्स। तपाईँहरू(अल इसेन्सियल वर्कर्स)को यो टिम विश्वव्यापी महामारीको रूपमा फैलिएको यस कोरोना भाइरस (कोभिड-19) को कठिन एवं विषम घडीमा सर्वश्रेष्ठ कार्य गर्ने अहिले सम्मकै सर्वश्रेष्ठ टिम हुनुपर्छ।

यस टिमले प्रमाणित गर्दछ कि, टिम कार्यले सधैँ कठिन समयमा कठिन काम गर्ने गर्दछ’। कुनै पनि व्यक्तिमा ज्ञान हासिल भएपछि चेतना निर्माण हुन्छ। चेतनाले एक खालको दृष्टिकोण बनाउँदछ। उक्त सबै कुराको संयोगले मानिसमा एक बेग्लै मानसिकताको निर्माण गराउँदछ। ‘त्यो हो आवश्यक परेको खण्डमा तम्तयार हुनु, रहनु’ अर्थात् जीवनको हरेक दिन आफ्नो बलिदान दिई खाँचोमा परेकाहरूलाई मद्दत पुर्‍याउनु। मानवजातीमा भएको बुद्धि एवं विवेकले ज्ञान हासिल गर्नुपर्दछ भन्ने सिकायो। जसले सम्पूर्ण मानव मस्तिष्कमा परिस्थितिको पहिचान र विभिन्न प्रतिकूलताहरूको सामना गर्न सक्ने दृष्टिकोण बनाउन मदत पुर्‍यायो।असल दृष्टिकोणले कुनै पनि व्यक्तिलाई उसको असल कर्म, कर्म गर्ने इच्छा, तत्परतामा रूपान्तरण गर्दछ। यो कुरा तपाईँहरूले पुष्टि गर्नुभयो र गर्दै आउनुभएको छ जसमा तपाईँहरू निरन्तर लागिपर्नु भएको छ। यो टिम वर्क हो वर्तमान समयमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-19)को विरुद्ध लड्दै गरेको सम्पूर्ण इसेन्सियल वर्कर्सहरुको।

…त्यो बिरामी मान्छेको गला सुकिसकेको छ। आँखामा कुनै चमक छैन, बिरामी हाँस्न खोज्दछ तर हाँस्न सक्दैन, बोल्न खोज्छ तर बोल्न पनि सक्दैन। किनकि, उ कोरोना सङ्क्रमित हो रे। उसको हाँस्ने, बोल्ने र खुसी महसुस गर्ने सामर्थ्य गुमेको देखिन्छ।उसका नजिक जान या उसको अवस्था-हालखबर बुझ्न समेत निषेध गरिएको छ। उसलाई छुन वर्जित छ। अरुबेला उ सामान्य बिरामी पर्दा अस्पताल जानुपरे पुर्‍याउने र गइसकेपछि उसलाई भेट्न आउनेहरूको लाइन लाग्थ्यो रे। तर, यस पटक कोही कसैको अत्तोपत्तो उसले महसुस गर्न समेत पाएन। किनकि उ कोरोना सङ्क्रमित हो रे। उ एकोहोरो हेर्ने भएको छ त केवल उपचारमा संलग्नहरूको आउने बाटोतिर मात्र।उसको ध्यान अनि हेराई पनि एकोहोरो भएको छ। उसका आफन्तहरूसित भेट्न मनाही रहेको छ। उसका आफन्तहरूले उसको जानकारी सहजै माग्न सक्ने वातावरण छैन। जुन मनाहीसहितको उसको र उसको परिवारको श्रव्य, दृश्य या श्रव्य दृश्य जोडफल सहितको मुखाकृति, हाउभाउ मिडियाद्वारा प्रदर्शित दृश्यले गरिने र गरिएको सबैको मुहारमा एउटा अत्यास, अन्योल र भयले सताइरहेको प्रस्ट देखिन्छ। यस्तो विषम परिस्थितिमा पनि आफ्नो छातीलाई विशाल पारी तपाईँ हामी सबैको उदारको लागी अहोरात्र खटिएको एक जमात हो इसेन्सियल वर्कर्सको। सलाम छ तपाईँहरू सबैलाई ।

यस विषम घडीको अग्रणी भाग अर्थात् फ्रन्टलाइनमा रही कार्य गरिरहनुभएका सबै आवश्यक कामदारहरू, उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरू, वैज्ञानिकहरू, शोधकर्ताहरू जो यस महामारीको उपचार फेला पार्न दिनरात प्रयत्नशील हुनुहुन्छ, हुलाककर्मीहरु जसले सही सूचना सम्प्रेषणको कार्य गरिरहनुभएको छ, अस्पताल विकास सहयोग अभियान एवं हेल्प डेस्क कर्मी, रेडक्रस कर्मी, सरसफाइ अभियानको अभियन्ताहरू, सम्पूर्ण सञ्चारजगत, सबै सहयोगी सरकारी एवं गैरसरकारी कर्मचारीहरू, कृषि कामदारहरू, दैनिक उपभोग्य वस्तु वितरणकर्ताहरू, सवारी आवागमन व्यवस्थापनदेखि बाटोमा हिँडिरहेका मानिसहरूलाई पानी खुवाइरहेका ट्राफिक प्रहरीहरू, सम्पूर्ण सुरक्षा निकायका कर्मचारीहरू, पैदल यात्रीहरूलाई ड्राइ फुडदेखि जुत्ता-चप्पलको व्यवस्था गरिरहनुभएका सहजकर्ताहरू, कपडा वितरण अभियानका अभियन्ताहरू, क्वारेनटाइन व्यवस्थापकहरू, मानवीय सहयोगार्थ स्थापित विभिन्न अभियानका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संयोजकहरू, सामाजिक अभियन्ताहरू, जनचेतना सम्प्रेषण कर्ताहरू एवं संयोजकहरू, हामी र हाम्रा ढोकासम्म प्रकाशन पुर्‍याउन प्रतिबद्ध पत्रपत्रिकासँग सम्बद्ध कर्मचारीहरू, अनलाइनहरू जसले समय सान्दर्भिक लेख, रचना एवं आवश्यक जनचेतना/जानकारीहरू सम्प्रेषण गर्दै हुनुहुन्छ, यस्तै लेखकहरू, सबै शिक्षक-शिक्षिकाहरू जसले घरबाट विद्यार्थीहरूलाई आवश्यक पर्ने ज्ञान एवं समय दान दिनुभएको छ, अनि सबै बच्चाहरूका अभिभावकहरू जो अहिले घर शिक्षणमा रहनुभएका छन्, यी लगायत सम्पूर्ण यस्तै खाले जसले यस कठिन समयमा आवश्यक पर्ने सेवाहरू प्रदान कार्य जारी राखेका छन् र सबैलाई आशा दिई अनिश्चितता र डरको समयमा प्रकाश ल्याउनमा क्रियाशील सबै विशाल मन भएका तपाईँ प्रत्येक हिरोहरूलाई हार्दिक धन्यवाद।

यस्तो संवेदनशील यस परिस्थितिलाई तपाईँ हामी सबैले एउटा रोगको दृष्टिकोणले मात्र नहेरी हरेक दृष्टिकोणले हेर्नुपर्ने बेला आएको छ र गम्भीर सोच बनाउनुपर्दछ। ‘हुन्छ’ भन्नुपर्ने कुरा ‘हुँदैन’ र ‘सकिन्छ’ भन्नुपर्ने कुरा ‘सकिँदैन’ समेत भन्नुपर्ने या रूपान्तरित भएको यस अवस्थामा परिस्थिति र परिवेशलाई आकाश जमिनको फरकको रूपमा लिई, स्वीकार गरी सबैले आ-आफ्नो तर्फबाट आशाको दियोमा तेल थप्न कन्जुसलाई नगरौँ।

यो छोटो टिप्पणीमा समेट्न नसकेका विना भुक्तानी यो सङ्कटमा आफ्नै सुरक्षा र कल्याणको त्याग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार। तपाईँहरू विना यो सम्भव हुने छैन। तपाईँहरू सबैजना अनिश्चित संसारमा वास्तविक नायकहरू हुनुहुन्छ।तपाईँहरूको यो कसरतले छिट्टै पूर्ण सफलता पाओस्। म, हामी सबै जना तपाईँहरू सबैको समर्पण र हेरचाहको लागी आभारी छौँ। धेरै धेरै शुभकामना छ कि तपाईँहरू सबै जना सुरक्षित र स्वस्थ रहनु। छिट्टै नयाँ बिहानीको सुरुवात होस् जसले सबै प्राणी जगतको मुहारमा खुसी अनि उमङ्ग ल्याओस्। तपाईँ हामीहरू सबैले निर्धक्क रूपमा यो श्वासन सिन्ड्रोम रहित श्वास फेर्न सकूँ, सबैको जय होस्।

थ्याङ्क यू अल इसेन्सियल वर्कर्स। थ्याङ्क यू भेरी मच।

Tags :
प्रतिक्रिया दिनुहोस