कोरोना महामारी: चुनौती र अवसर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना महामारी: चुनौती र अवसर


२ असार २०७७, मंगलबार


हरेक समस्याका दुई वटा पाटा हुन्छन् । ती चुनौती र अवसर हुन् । चुनौतीलाई सही ढङ्गबाट सम्बोधन गर्न सक्दा अवसरमा बदल्न सक्छौँ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण सबैतिर त्रास बढिरहेको छ । जसको कारण सामान्य जीवनयापनमा समेत चुनौती थपिँदै गएको छ । कुनै खालको खोप या औषधीहरूको विकास नभइरहेको सन्दर्भमा कोभिड १९ को नियन्त्रण र रोकथामका लागि सबै मुलुकहरूले अपनाएको विकल्प भनेको लकडाउन र परीक्षण नै देखिएको छ । यसका साथै भौतिक दुरी कायम राख्नु र सरसफाइमा ध्यान दिनु अत्यावश्यक भएको छ । नेपालमा पनि कोरोनाका कारण विदेशमा भएका नागरिकहरू स्वदेश भित्रिने क्रम बढेको छ । कोरोनाले सिर्जना गरेका विविध चुनौतीहरूकाबिच परिवारका सदस्यहरू प्राय: एकत्रित भइरहेकोले यस अवस्थालाई स्वरोजगार तथा स्वनिर्भर बन्नेतर्फ उपयोग गर्ने अवसरको रूपमा ग्रहण गर्न सकौँ ।

सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको भाइरसका कारण विश्वभरका मुलुकहरूमा आर्थिक गतिविधिहरू कुण्ठित बन्न पुगेका छन् । विश्वभर ७७ लाख भन्दा बढी मानिसहरूमा कोरोना सङ्क्रमण देखिँदा अमेरिकामा २१ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् भने एक लाख भन्दा धेरै मानिसहरूले त ज्यान नै गुमाएका छन् । हालसम्म २ सय १३ मुलुकहरूमा कोभिड १९ फैलिएको छ । नेपालमा पनि पछिल्लो समयमा कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । जहाँ ५ हजार भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् भने १६ जनाले त ज्यान नै गुमाएका छन् । यसमाथि पनि सीमा पार रहेका नेपालीहरू क्रमशः स्वदेश भित्राउने कुराहरू आइरहेकोले उनीहरूको लागि क्वारेन्टाइन तथा परीक्षणको व्यवस्थापन निकै ठुलो चुनौती बन्न सक्ने देखिन्छ । दुई महिना भन्दा अघिदेखि लकडाउन लगाइरहँदा समेत भारतमा रहेका नेपालीहरू लुकीछिपी नेपाल प्रवेश गरेका छन् । भारत कोरोना संक्रमण हुने मुलुकहरूमध्ये चौथो स्थानमा रहेको छ । यसरी भारतमा बढिरहेको सङ्क्रमणका कारण भारतबाट नेपाल भित्रिएका नेपालीहरू सँगसँगै नेपालमा पनि सङ्क्रमणको जोखिम बढिरहेको छ ।

विधिवत् प्रवेश गरेकाहरूको पनि क्वारेन्टाइन तथा परीक्षणको लागि व्यवस्थापकीय जटिलताहरू देखिएका छन् ।
अहिले कोरोनाका कारण क्रमशः विदेश मोह घट्न सक्ने सम्भावना पनि छ । विदेश गई आएका युवाहरूको ज्ञान, सीप, जोस र जाँगरको महत्वम उपयोग गर्ने अवसर रहेको छ । उनीहरूसँग थोरै धेरै धन पैसाको जोहो पनि छ । तसर्थ यही मौकामा हामीले ती युवाहरूलाई कृषिजन्य उत्पादन तथा उद्योग व्यवसायहरूमा अभिप्रेरित गर्न सके आयातमुखी कृषिबाट स्व निर्भर हुँदै व्यापार घाटा समेत कम गर्नमा सहयोग पुर्‍याउन सक्छौँ ।

कोरोनाले अर्थतन्त्रका अन्य पक्षहरू शिथिल बनाइरहे पनि कृषिमा आत्मनिर्भर बन्न सक्ने अवसर हामीले उपयोग गर्न सक्छौँ । हामी सदिऔं देखि कृषि प्रधान मुलुक त भनिरह्यौँ तर सामान्य भन्दा सामान्य धनियाँ खुर्सानी पनि आयात नै गरिरहनुपरेको छ । यसको पछाडि विभिन्न कारणहरू हुन सक्छन् । एक त हामीसँग व्यवसायीक र प्रविधिगत ज्ञान भएन । अर्कोतर्फ कृषिमा लागेर काम गर्ने जनशक्ति पनि भएन । कृषिमा काम गर्ने खालको जनशक्ति बिदेसिन नै तल्लीन भए । जेनतेन उत्पादन भएका कृषि उपजहरूको पनि सुनिश्चित बजार नभएको अवस्थाले कृषि उत्पादनमा सुधार आउन सकेन । तर अहिले सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको छ । समर्थन मूल्य तोक्ने भनेको छ । अनुदानका कुराहरू पनि छन् । शीत भण्डार निर्माण, प्रशोधन केन्द्र निर्माणका कुराहरूलाई बजेट वक्तव्यले समेटेको छ ।

हाम्रो अर्को बलियो सम्भावना बोकेको क्षेत्र उद्योग हो । कृषि उत्पादन बढाउनु नै उद्योग धन्दाहरूको आधार खडा गर्नु हो । उद्योग धन्दाहरूको लागि चाहिने कच्चा पदार्थ प्रशस्त भयो भने कृषिजन्य उद्योगहरू विकास गर्न सक्छौँ । उद्योग धन्दाहरूको समस्या जनशक्तिको पनि हो । विदेशमा काम गरेका हाम्रा नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूमा विविध सीपहरू रहेका छन् । उनीहरूकै सीप तथा क्षमताको उपयोग गर्ने अवसर हामीलाई मिल्न सक्छ । यसको लागि सही नीतिहरू अख्तियार गरिनु आवश्यक छ । स्थानीय तह तथा प्रदेश सरकारहरूले यी जनशक्तिको सीप क्षमता सहितको अभिलेख तयार गरी आवश्यकताअनुसार उद्योग धन्दाहरू खोल्ने प्रबन्ध मिलाउन सक्छन् । रोजगारी दिँदा पनि स्थानीयहरूलाई प्राथमिकता दिन सकिन्छ ।

ठुला ठुला उद्योगहरू खोल्न धेरै जनशक्ति चाहिने र पूर्वाधारको प्रबन्ध गर्नुपर्ला तर साना तथा मझौला उद्योगहरूमा कमै लगानी र थोरै जनशक्तिबाट पनि सञ्चालन गर्न सकिने हुन्छ । उद्योग धन्दा, व्यवसायीकरण, बजारीकरण आदिको लागि धेरै खालका पूर्वाधारहरू धेरै हदसम्म तयारी अवस्थामा छन् । अहिले सबैजसो गाउँ ठाउँ सडक सञ्जालमा जोडिएका छन् भने लोडसेडिङ जस्ता समस्याहरू पनि हटेर गएका छन् ।

सबैभन्दा ठुलो कुरा त आफ्नै माटोमा केही गरूँ भन्ने भावना पनि जागरूक भएको छ । कोरोनाबाट सिर्जित समस्याहरूबाट खडा भएका चुनौतीहरूलाई अवसरमा बदल्न सकौँ । नेपालको कृषि तथा उद्योग धन्दा एवं व्यवसाय र यहाँको प्राकृतिक सौन्दर्यताले विदेशीहरू पनि आकर्षण गर्नेछ । पर्यटन प्रवर्द्धनका कार्यहरूबाट पनि मुलुकको आर्थिक समृद्धिको खाकामा ठोस टेवा दिइरहेको हुनेछ । परिस्थिति जटिल भए पनि समाधानको लागि मनस्थिति सकारात्मक बनाऔँ ।

कोरोनाको सन्त्रास परिस्थितिमा हामीले निकै संयमता अपनाउनुपर्दछ । हामीलाई कोरोना लाग्दैन या फलानो शक्तिले जोगाउँछ भनेर अनेक जिक्याइँ गर्नु पनि हुँदैन । सरकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सल्लाह सुझावहरूको अनुसरण गर्नुपर्दछ । जथाभावी हिँडडुल गर्ने र सावधानी नअपनाउने खालका त्रुटिहरू गर्नुहुँदैन । यो व्यक्तिगत तथा सामूहिक हितमा हुँदैन । सबै हिसाबले सशक्त मुलुकहरूलाई पनि कोरोनाले थला पारिरहेको विषयलाई सामान्य मान्नु पक्कै पनि हुँदैन । विश्वभर दैनिक लाख भन्दा बढी मानिसहरू कोरोना सङ्क्रमणले पीडा खेपिरहेका छन् भने दैनिक हजारौँ मानिसहरू ज्यान गुमाइरहेका छन् । बाँच्नु नै ठुलो कुरा भएको छ । पहिले बाँचूँ अनि परिस्थितिअनुसार जे जस्तो नाचुँला भन्ने खालका धारणाहरू विकास भएका देखिन्छन् ।

नेपालमा ७० भन्दा बढी जिल्लामा कोरोना सङ्क्रमितहरू फेला परेका छन् । यसले कोरोनाको सङ्क्रमण बढ्ने सङ्केत गरेको हुनाले कोरोना रोकथामको लागि उपयुक्त कदमहरू चाल्नुपर्ने देखिन्छ । कोरोना महामारी एक सङ्कटको रूपमा देखा परेको छ । यसको व्यवस्थापन गर्नु आफैमा चुनौतीपूर्ण कार्य हो । यसको व्यवस्थापन भनेको निरोधात्मक मात्र देखिएको छ । कोरोनाको रोकथामको लागि आवश्यक जनशक्ति, सूचना संयन्त्र, राहत तथा उद्धार तथा भौतिक एवं आर्थिक स्रोत साधनको उचित प्रबन्ध हुनु आवश्यक पर्दछ । यस कार्यमा खटिने जनशक्तिको मनोबल उँचो राख्नुपर्दछ । साथसाथै सबै मानिसहरूमा व्यक्तिगत तथा सामूहिक सुरक्षाको लागि जनचेतना जगाउनुपर्दछ । नागरिकहरूमा सही सूचना सम्प्रेषण तथा मनोसामाजिक परामर्शको प्रबन्ध गर्ने सबल प्रणाली पनि चलायमान गराइनुपर्दछ ।

सामाजिक सञ्जालहरूमा अनर्गल प्रचार प्रसार गर्नुहुँदैन । सूचना भनेको शक्ति हो । जसले क्षणभर मै ठुला उथलपुथल ल्याउन सक्छ । सत्य तथ्यको नजिक नपुगीकन संवेदनशील विषयहरूमा समाचारहरू प्रसारण गरिनु भएन । यसले एकातिर जनविश्वास गुमिरहेको हुन्छ भने अर्कोतर्फ सामाजिक सन्त्रास फैलाइरहेको हुन्छ । कोरोना सङ्क्रमणको जोखिममा सञ्चार कर्मीहरू पनि बढी नै पर्ने गरेका छन् र लकडाउनको कारण पनि सूचनाको पहुँचमा वाधा परेको हुन सक्छ ।

हामी सबै तह र तप्काका मानिसहरू अहिले सङ्कटमा भएको छौँ । यसको व्यवस्थापनमा सबैको साथ सहयोग र समन्वयको जरुरत पर्दछ । विश्वभर फैलिएको कोरोनाबाट कम मात्र प्रभावित भई यसको नियन्त्रण तथा रोकथाम गर्न सक्यौँ भने हामीले अपनाएका मोडलहरू विश्वका अन्य मुलुकहरूलाई अनुकरणीय बन्न सक्छन् । यसरी हामी आफू पनि सुरक्षित रहने र विश्वलाई पनि सन्देश दिन सकिने अवसरको रूपमा उपयोग गर्न सक्दा सबैको हितमा हुन जान्छ । नागरिकको साथ र सहयोगविना सरकार मात्रले कोरोनाको नियन्त्रण गर्न असम्भव प्राय नै छ ।

यसरी कोरोना सङ्क्रमणले दिलाएका चुनौतीको सामना गर्नको लागि कृषि, उद्योग तथा पर्यटन क्षेत्रको विकासमा ठोस योजनाका साथ कार्यान्वयनमा लाग्ने अवसर मिलेको छ । जसबाट हामीले विश्वलाई थला पारेको कोरोना भाइरसको पीडालाई शक्तिमा बदल्न सकिरहेको हुनेछौँ । यस सङ्कटबाट उन्मुक्ति पाउनको लागि सबै पक्षहरूले आ आफ्नो स्थानबाट सहयोग, समन्वय र सहकार्य गर्‍यौँ भने चुनौतीलाई अवसरमा बदल्न सफल हुनेछौँ ।

वैज्ञानिक अधिकृत, वनस्पति विभाग
[email protected]

प्रतिक्रिया दिनुहोस