नयाँ सडक अनि नयाँ सहर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नयाँ सडक अनि नयाँ सहर


३१ जेष्ठ २०७७, शनिबार


सुखी हुनका लागि आर्थिक समृद्धि पहिलो अनि महत्त्वपूर्ण कुरा हो। देशभित्र प्रशस्त मात्रामा काम नपाउनु जसले गर्दा आफ्नो अनि परिवारको आकाङ्क्षा आपूर्ति गर्न नसक्नुले सिर्जित गरिबी र सोको कारणले विरक्त भएर कतिपय मानिसहरू आफ्नो जन्मथलो छोड्दछन्, देश छोड्दछन्। तिनीहरूमध्ये केही आफ्नै देश नेपालको नयाँ सडक भएको नयाँ सहर सम्म भने पुग्नुपर्ने ठान्दा रहेछन् र पुग्दा रहेछन् पनि।

नयाँ सडक:
नयाँ सडक नेपालको राजधानी काठमाण्डौमा रहेको एउटा बजार हो। यो एक धेरै व्यस्त सडक पनि। प्राचीन कालमा यसलाई ‘न्यूरोड’ को नामबाट पनि चिनिने जुन हालका दिनहरूमा पनि तपाई हामी सबैको मुखारबिन्दुबाट ‘न्यूरोड’ नै सम्बोधन हुने गर्दछ। नामाकरणको समयमा यसको पूर्वमा टुँडिखेल, पश्चिममा वसन्तपुर दरबार क्षेत्र, उत्तरमा रञ्जना सिनेमा हल र दक्षिणमा खिचापोखरी रहेको पाइन्छ।यो सारै व्यस्त र ठुलो मात्रामा व्यवसाय हुने क्षेत्र हो। यसको निर्माण विक्रम सम्वत १९९० को महाभूकम्प पछि जुद्ध शमशेरले आफू प्रधानमन्त्री भएको समयकालमा निर्माण गरेको हुनाले यसलाई ‘जुद्ध सडक’ पनि भनिँदो रहेछ।यस सडकबाट पुर्व-राजपरिवारको बसोबास हुने पुरानो दरबारमा पुगिने भएकाले यसलाई ‘पुरानो दरबार मार्ग’ पनि भनिँदो रहेछ। यहाँ बसोबास गर्ने अधिकांश बासिन्दाहरू नेवार समुदायका रहेछन्।

यो काठमाडौँको सबैभन्दा नयाँ सडक भएकाले पछि त्यसलाई ‘नयाँ सडक, न्यूरोड वा न्हू शतक’ भन्न थालिएको रहेछ  र यो सडक नेपालकै पहिलो पिच सडक पनि रहेछ। न्यूरोडसँगै रहेको भूगोल पार्क नेपालकै पहिलो व्यवस्थित पार्क रहेछ, न्यूरोडमै रहेको नेपालको पहिलो सिनेमा भवन ‘जनसेवा सिनेमा’ निर्माण गरिएको जुन पछि आगलागीमा परी ध्वस्त भई हाल त्यस ठाउँमा नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर जुन हालको विशालबजारको नामले चिनिन्छ सो निर्माण गरिएको छ । प्रधानमन्त्री जुद्ध शमशेरले यसै नयाँ सडकमै नेपालको पहिलो दमकल सेवा ‘जुद्ध वारुणयन्त्र’ पनि स्थापना गरेका रहेछन् ,(स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट)। त्यसैले यो एक सडक मात्र नभएर वास्तवमा नेपाल रहेछ किनकि मैले सानो उमेरमा गाउँघरतिर ‘नेपाल बाजे’ भनेर बोलाउने गरेको नाम सुनेको थिए। आज आएर थाहा हुँदै छ कि प्राचीन कालमा काठमाण्डौलाई ‘नेपाल’ भनिने रहेछ र काठमाडौँ आएर गएकाहरूलाई ‘नेपाले’ हुँदै पछि बुढेसकालमा तिनीहरूलाई ‘नेपाले बाजे’ पो भनेका रहेछन्।अनि त्यो नेपालको एक मुख्य ठाउँ पो रहेछ नयाँ सडक (न्यूरोड)।

नयाँ शहर:
यो नयाँ सडक सहितको नयाँ सहर (काठमाडौँ)मा पुगेका अधिकांश मानिसहरू आर्थिक रूपमा सुकिला देखिन्छन् र देखाउने प्रयास गर्दछन् पनि। आधारभूत जीवनशैली प्राप्त छ। अर्थात् भौतिक रूपमा दुःख प्रवेश गर्ने प्वाल त्यति सहजै देखिँदैन। तर किन हो तिनीहरू पटक्कै खुसी देखिँदैनन्, कुनै घाउलाई दबाएजस्तो।यहाँनेर तपाइ हामीहरूले सुन्दा उस्तै लाग्ने शब्द ‘खुसी’ अनि ‘सुखी’ वास्तवमा फरक चिज नै रहेछ भन्ने एक खालको धारणा बनाउन कुनै फरक अनि आपत्ति नरहला।

यस्तै कुनै न कुनै रूपमा यो नयाँ सहरभित्र ईन्ट्रि/प्रवेश भैसकेका धेरै मानिसहरू आफ्नो यस्तै खुसी नहुँदाको जिन्दगीभित्र अटाउदारहेछन् वा सिङ्गो जिन्दगी बितेको पत्तै नपाउदारहेछन्। किनकि, उनीहरू नयाँ सहरलाई निकै ठुलो देख्दा रहेछन् एकपल्ट पुग्नैपर्ने ठाउँ सम्झदारहेछन्। किनकि यसलाई पुष्टि गर्ने उखान सबैका कानमा गुञ्जिन्छ, ‘काठमाडौँ सहर हेर्दा लाग्छ रहर’।

मलाइ पनि सुरुमा नयाँ सहर निकै ठुलो, विशाल अनि राम्रो लाग्यो। किनकि, यहाँ ठुल्ठुला भवनहरू, बाटाहरू पनि निकै ठुला अनि फराकिला, टन्नै गाडीहरू कुद्ने, जता गएपनि मानिसहरूको अनि गाडीहरूको भिडभाड, अस्पताल, सिनेमाहल, होटेल अनि लजहरू, स्कुलदेखि विश्वविद्यालयसम्मका थुप्रै शैक्षिक संस्थाहरू, मन्दिर अनि गुम्बाहरू, नाचघरदेखि फनपार्कसम्म, मजबुत सुरक्षा संयन्त्र, एयरपोर्ट, मुख्य प्रशासकीय अड्डाहरू, सपिङ मलहरू ठाँउठाँउमा भएको अनि केही राम्रै घुम्ने ठाँउहरु लगायतका थुप्रै अन्य कुराहरूले होला सायद। मलाई पनि यहाँ जे देख्यो त्यही राम्रो, अचम्म अनि अनौठो लाग्दै सुरु-सुरुमा नयाँ सहर निकै विशाल अनि गज्जबको लाग्यो।

निकै समय नयाँ सहरको बसाइले म पनि निकै अनुभवी भैसकेको थिए। अर्थात् कतिसम्म त भन्दा एक्लै यात्रा गर्न र केही प्रशासनिक कार्यहरू पुरा गर्न मात्र किनकि सबैसँग भलाकुसारी गर्ने ठाउँ होइन रहेछ नयाँ सहर। किनकि, यहाँ थरिथरिका मानिसहरू अर्थात् थोरै लेखेर धेरै नाम कमाएकादेखि धेरै लेखेर थोरै नाम कमाएका सम्मका सबैका थरिथरिका मानिसहरूको आ-आफ्नै व्यस्तता। अनि यिनीहरू सबैका आ-आफ्नै कथा-व्यथाहरू जो कपुरझैँ बिलाउने बाहेक पुरा होलान् जस्तो लाग्दैनथ्यो मलाई यहाँ। किनकि अधिकांशको बोली कमजोर नै पाए मैले र थियो पनि सायद। यहाँनेर यस नयाँ सहरको एउटा कटु सत्य जुन एक व्यङ्ग्यात्मक प्रस्तुतिको रूपमा राख्दा फरक नपर्ला, ‘घर पुग्दा प्राय:जसो बत्ती हुँदैन। तर घरमा आज बत्ती आउने पालो छ। त्यसैले पनि मन खुसी छ। घर गएर टिभी हेर्न पाइन्छ।किताब पढे पनि भयो। परिवारका सदस्यहरूको अनुहार उज्यालोमा हेर्न पाइन्छ। संयोगले जुन रात घरमा बत्ती थियो, भोलिपल्ट बिहान धारामा पानी आउने पालो पनि परेको रहेछ।त्यसैले त्यो रात मात्र होइन, भोलिपल्ट बिहान पनि साँच्चै सुन्दर लाग्यो। त्यो दिन पानी आयो, कति आयो बेग्लै कुरा हो। जेहोस् घरका गाग्री र बाल्टिनहरूले पानी पाए।घण्टौँसम्म लाइन बसेर पनि तेल नपाएर रित्तै फर्केको अनुभव छ। बाटोछेउमा एउटा पेट्रोल पम्पमा तेल हाले लाइन बस्नु परेन। बाइकमा पेट्रोल भरिरहँदा पेट्रोलजस्तै मनभरि खुसीको बास्ना डगमगायो। भान्छा कोठा रमाइलो लाग्दै थियो। सरदर हप्ता दिनमा पानी आउँछ धारामा। तर जुन दिन पानी आउँछ, पानीसँगै पानीभन्दा बढी खुसी आउँछ। बत्ती आयो, खुसी भइयो। पानी आयो झन् बढी खुसी भइयो। गाग्रीहरू पनि खुसी भए।’ (पत्रकार अशोक सिलवालले राजधानी दैनिक पत्रिकामा लेखेको रमाइलो व्यङ्ग्यात्मक लेखको अंश, कर्ण शाक्यको ‘मोज’ कृतिको पेज नं.5) त्यसैले भन्न सकिन्छ कि यो यस्तो सहर हो जहाँ एउटा आर्थिक होस् वा बौद्धिक, जुनसुकै स्रोतबाट सुख र समृद्धि प्राप्त गर्न खोज्न आउने ठाउँ रहेछ।

म पनि आमाबाबुको स्वप्न फुलाउन नयाँ सहर छिरे, तर वर्तमान युगलाई मसिनोसँग केलाउन खासै सकेको छैन आजका दिनसम्म पनि, किनकि यो नयाँ सहर अनि यहाँको भन्दा निकै फरक परिवेशमा हुर्के अनि बढेर लक्का जवान भई आएको मलाइ यो घुइँचोले भरिएको नयाँ सहरले जीवनका बहिरङ्गी जटिलताहरू अनि सङ्कुचित बन्धनहरू जुन यहाँ कटहरको चोपझैँ टास्सिन आउँदा मात्र रहेछन् भन्ने अभिव्यक्त बोधसम्म गरायो तर समाधान गर्न विल्कुल सिकाएन कहिल्यै र मलाई उपमा दियो त केवल नाममात्रको सहरियाको।

वर्तमान समयमा त नेपाल सरकारले नेपालको पूर्व पाँचथरको फिदिमदेखि पश्चिम बैतडीको पाटनसम्मका थुप्रै ठाँउहरुलाई नयाँ सहर बनाउन थालेको छ। तर चर्चाजत्तिको उपलब्धि भने भएको अझै आभास गर्न सकिएको छैन। किनकि, आजकल विकास भनेकै सडक खन्नु मात्र हो जस्तो भान हुन्छ। तर आजका दिनसम्म त यी घोषणा गरिएका नयाँ सहरहरूभन्दा त्यही नयाँ सडक (न्यूरोड) र त्योसहितको नयाँ सहर (काठमाडौँ) ले आफ्नो नयाँ पुस्ता पाएको छ। अनि साच्चिकै नयाँ सहर भएको छ यो।यहाँ जाँदा कुनै पनि मानिसले अब आफ्नो सवारी साधन लिएर कहाँ पार्किङ गर्ने भन्ने असजिलो महसुस आजकल कम हुँदै गएको छ। किनकि पछिल्लो समय यहाँ जानुपर्दा कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्नुपर्ने भएको छ।यसलाई नै भनिँदो रहेछ स्मार्ट पार्किङ।यो एक पूर्ण नयाँ सुरुवात हो नयाँ सडकका लागी। यसमा दर्ता गरिएको सवारी साधनहरूको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने र दर्ता भएको सवारी साधन मात्र पार्किङ गर्न सकिने व्यवस्था सुविधायुक्त यस स्मार्ट पार्किङमा रहेछ।यस्तै विभिन्न नयाँ उपलब्धि सहितका गतिविधिहरूले भरिपूर्ण नयाँ सडक अनि नयाँ सहरले आफ्नो नयाँ रूप प्रस्तुत गरेको छ आजका दिनहरूमा।नयाँ सडक अनि नयाँ सहर आउने नयाँ मानिसहरू बिच एक महान् सम्बन्ध छ जुन ‘घर बाहिरमा आधारित पूर्ण स्वीकृति’ हो।अर्थात् तपाइ हामीलाई बाहिरी गतिविधिहरूमा भाग लिन बढी प्रोत्साहित गर्दछ यसले।

यस्तै गतिविधिहरूले भरिपूर्ण यस नयाँ सडक अनि नयाँ सहरमा बसोबास गर्ने सबै मानिसहरूका यी र यस्तै खाले जिज्ञासाहरूले ज्ञानको नयाँ ढोका खोल्ने साँचोको काम गर्न सकुन्।यहाँ देखिएका र देखिने ती बहुरङ्गी जटिलताहरू अनि सङ्कुचित बन्धनहरू जस्तै:- यहाँको सबैभन्दा ठुलो चुनौती आवासको गुणस्तरीयता हो जसको स्वीकार गरी समाधान होस्, अनि बस्ने खर्चको बारे अनुसन्धान होस्। कम्पनी वा काम आउने बारेमा केही अनुसन्धान होस्, सबैले अनुभूति गर्न सक्ने किसमको भरपर्दो, आधुनिक अनि दिगो विकास होस्। विकृति, जटिलताहरू, सङ्कुचित बन्धनहरू जुन यही नयाँ सहरको ढोका हुँदै टुकुचाको भेल भएर ‍ओइरिइ डम्पिङ साइड भएका छन् यहाँ यिनीहरूको प्रभावकारी व्यवस्थापन भए साच्चिकै यो नयाँ सडक अनि नयाँ सहर नै हुन्थ्यो होला। यही नै हो नयाँ सडक (न्यूरोड) अनि नयाँ सहर (काडमाण्डौ)।

सुझाव/प्रतिक्रियाका लागी@joshinawaraj301

Tags :
प्रतिक्रिया दिनुहोस