लकडाउन डायरी : श्रमिक-सीमान्तकृतहरूको महादशा, छायाको शीतल ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लकडाउन डायरी : श्रमिक-सीमान्तकृतहरूको महादशा, छायाको शीतल !


२४ जेष्ठ २०७७, शनिबार


कोभिड-१९ विश्वव्यापीकरण भइरहेको कारणले चैत्रका सुरुका दिनहरू अन्योल, अनुमान, त्रासबाट सुरु हुन्छ । जीवनप्रतिको प्रेम प्रगाढ बनेर आउँछ । नेपालमा पनि विद्यालय र विश्वविद्यालयहरूको पढाइ र परीक्षा स्थगित गर्दै सरकार चैत्र११ गतेको दिनमा बन्दाबन्दी/लकडाउनको अप्रिय निर्णयमा पुग्छ ।आफूले आफैलाई बन्द गराएर बाँच्नु पर्ने अनि त्रासका समाचारहरू सुन्दै हेर्दै दिनचर्या सामना गर्नुपर्ने दैनिकीमाविश्वसँगै नेपाल पनि एकाकार हुन्छ । यस्तो आपत् ले प्राणप्रतिको मायामा जागरण बढ्दो रहेछ । संवेदनशीलता बढ्दै गएपछि भावुकता अभिव्यक्त हुनलाई अकविहरु पनि कवि हुने लाइनमा उभिँदा रहेछन् । फेसबुक कवितामय हुँदा म आफै पनि यसरी कवि भएँ,लकडाउनमा !

आफू रुझ्दै/बिझ्दै भए पनि
वाटर प्रुफ झोलामानागरिकता बोकेर हिँड्नेहरू,
नियतिले राष्ट्रियता विहिनभएर
भाव शून्य भएकाहरूको क्रन्दन
आफन्तजनको मलामी जान नपाउनेहरूको चीत्कार
मुर्दाले चिहान नपाएर
बेवारिसे भएका दुःखद खबर
पृथ्वीको चार कुनामा
रोमान्स-क्रान्ति/ मिलन-बिछोड सबै जीवन्त धुनहरू बिर्सिएर
शोकधुनमात्रै गुन्जाइरहेका बाजाहरू !
मीमांसा हराएको मौनता !
१८ चैत्र,२०७६लकडाउन

महामारी : गरीब-दुःखी, श्रमिक-सिमान्तकृतहरुको महावेदना
ब्ल्याक डेथ भनेर चिनिने चौधौँ शताब्दीको मध्यमा फैलिएको महामारी प्लेगको कारणले इटली पनि क्षतविक्षत भएको मानिन्छ । प्लेग महामारी फैलनुमा कामको खोजीमा विभिन्न ठाउँ घुमिरहने इटलीका कामदार वर्ग/श्रमिकहरूले रोग फैलाएको आरोप खेप्नु पर्‍यो ।

प्रथम विश्वयुद्ध समाप्तिसँगै सन् १९१८ मा विश्वभर फैलिएको स्पेनिस फ्लुले दक्षिण अफ्रिकाका प्रधानमन्त्री, स्विडेनका राजकुमारले ज्यान गुमाए ।स्पेनिस फ्लुको फैलावटमा काला जातिले अपजस बोक्नु पर्‍यो । दक्षिण अफ्रिकामाकालाजातिको लापरबाहीको कारणले फ्लु फैलिएको भन्दै स्पेनिस फ्लु रङ्गभेदी हतियार बन्यो ।

कोभिडबाट नेपाल तुलनात्मक रूपमा सुरक्षित रहला कि भन्दाभन्दै महामारीले उग्र रूप लिँदै गइरहेको छ । सङ्क्रमितहरूको मृत्यु त हुँदैन होला भनेर विश्वास सँगाल्दासँगाल्दै पनि १० जनाले मृत्युवरण गरिसकेको अप्रिय,अकाट्य तथ्य हाम्रो सामुन्नेमा छ । सुरुमा सङ्क्रमितको अप्रत्याशित सङ्ख्या बढ्दा इस्लाम धर्मावलम्बी जमातीहरुकै कारणले फैलने आशङ्का समुदायमा गाइँगुइँ चल्दै थियो । तर भारतमा श्रमसँग जीविका सौदा गर्न गएका मैला-धैलानेपाली श्रमिकहरू नेपाल फर्कने क्रमसँगै सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ ।

सुरक्षाकर्मीको आँखा छल्दै महाकाली नदीमा पौडी खेलेर आउनेहरूले कोभिड फैलाएको आरोप खेप्नु परेको अवस्था छ । तर अवसरहरुकोअसमान वितरण, रोजगारीको अभावजस्ता पहलुहरुको बारेमा चर्चा छैन । जुन प्रदेशहरूमा कोभिड-१९ को प्रकोप बढी छ । सो प्रदेशहरू मानव विकास सूचकाङ्कमा पछि परेकाहरू छन् । सिमाना पारी देशतिर फर्किएर रोइरहेका नेपालीहरूलाई राज्यले अनागरिकझैँ ठानिरह्यो ।यद्यपि ढिलै भए पनि परदेशीहरूले नेपाल आउन पाउने कुराको आत्मीकरण हुँदै छ ।

महामारीले कसैलाई जोगाउँदैन,मानव जातीको वेदना हो । तर गरिब,पहुँच नहुनेहरूको,सीमान्तकृतहरूको महावेदना हो । लकडाउन डायरीमा नोट हुने गरी फेसबुकमा यस्तो लेखियो ।
महाविपत्ति कोभिड-१९
१. सवारी पासमा भनसुन !
२. राहतमा भनसुन ।
३.परीक्षणमा पनि सोर्सफोर्स ।
४.बिरामी भएमाअस्पतालमापनि भनसुन ।
५.रोगले मरेमा घाट/चिहान पाउन पनि भनसुन ।
यस्तो नहोस् !

हराउँदै गएको राहत वितरणको फोटो र निभ्दै गएको गरिबको चुल्हो
लकडाउनको पहिलो हप्ता सुनसान भएर बित्यो । दोस्रो हप्ता फेसबुकका पेजहरू राहत वितरणकोफोटाहरुले रङ्गिन भयो ।समाजसेवी हुँ भन्नेहरू र स्थानीय तहका जनप्रतिनिधिहरुले राहत र आस दुवै बाँडे । स्थानीय तहका जनप्रतिनिधिहरू जनतालाई भोकै मर्न नदिने लोकप्रिय भाषण-अन्तर्वार्ता दिएर सेलिब्रेटी भए । समाजसेवीहरूको सङ्ख्या बढे । अहिले लकडाउन नवौँ हप्तामा आइपुग्दा समाजसेवीहरू लगभग भूमिगत भएको अवस्था छ । फेसबुकमा रहलपहल बाहेक राहत वितरणको फोटा पोस्ट हुन छाडेका छन् । स्थानीय जनप्रतिनिधि हात उठाएर राहत बाँड्न नसक्ने भन्दै छन् । क्वारेनटाइन निर्माणमा नेपाल टप र नेपाल फस्ट हुन खोज्ने स्थानीय सरकारहरू अहिले रन्थनिएका छन् ।

फोटोको संसारमा कोभिडका कारणले मृत्यु भएका सुत्केरीको नाममा श्रद्धाञ्जली(RIP),चिहान नपाएका तस्बिर कथाहरू, क्वारेनटाइन रोइरहेकामान्छेहरुका तस्बिरहरू,सिमानामा आफ्नो देश प्रवेश गर्न तछा-मछाड गरिरहेका तस्बिरहरू छाइरहेका छन् ।

राष्ट्रवादको उज्यालो खबर र नवराज बि.क.को अधुरो प्रेम कहानी
अप्रिय लकडाउनकै बिचमा नेपालको नक्सामा छुटेको भूमिराजनैतिक-प्रशासनिकनक्सामा समेटिएको उपलक्ष्यमा राष्ट्रवाद चम्केको उज्यालो खबर सुन्न-हेर्न रवन्दावन्दी भए पनि उत्साहकासाथ रमाउन पाइयो । भारतले हाम्रो भूमि मिचेर बनाएको सडक उद्घाटनको खबरले निराश भएको नेपाली जनमा लुटिएको जमिन नेपालको नक्सामा समेटिएको गौरवपूर्ण हर्ष सञ्चार भइरहेकै बेला नवराज बि.क. र उसका साथीहरूको भेरी नदी रुनेगरीरुकुम पश्चिममा अस्ताएको/नृशंस हत्याको खबरले अँधेरो छाउँछ । भेरी नदीमा विभेदको विरुद्धमा गरिएको क्रान्तिको नाममा सबैभन्दा बढी रगत बगेको हुनुपर्छ । तर त्यही भेरी नदीमा दलित/कामी भएकै कारणले नवराजको प्रेमले सहादत प्राप्त गर्छ । उनी र उनका निर्दोष ५ जना साथीहरू छुवाछुत विरुद्धको आन्दोलनको पक्षमा उभिँदा सहिद हुन्छ ।

हत्याकाण्डको कारण नवराज बि.क. र शुष्मा मल्लको साधारण प्रेम कहानी मात्रै थिएन सदिऔं देखि नबदलिएको पशुवत् जातीय कुप्रथाको विरुद्धमा आन्दोलित हुँदाको परिणाम थियो । त्यसैले नवराज बि.क.लाई श्रद्धाञ्जली स्वरूप महाकवि देवकोटाको शब्द सापटी लिएर यसो भन्न मन लाग्यो ।
इट इज वेटर टु ह्याभ लभ्ड एण्ड लस्ट
देन नेभर टु ह्याभ लभ्ड अल
कहिले पनि बिलकुल प्रेम नगरेको हुनुभन्दा त प्रेम गरेर गुमाएको हुनु बेस ।

पुनर्जागरण : छाँयाको शीतल-बादलमा चाँदीको घेरा
प्लेगको महामारीले गर्दा इटालीबाट पुनर्जागरण रिनासेन्सको उद्भव भयो । त्यसैको बेलमा युरोपभरिभाषा,संस्कृति, सिद्धान्त, धर्मको विकृति विरुद्धको ठुलो लहर आयो । मार्टिन लुथर किङ, पिका डेला,लुका पासिलिओहरुको जन्म भयो । मध्ययुगिन बर्बरताबाट आधुनिक समयमा प्रवेश गर्‍यो । स्पेनिस फ्लुको महामारीले सङ्क्रमित भएपछि महात्मा गान्धी दक्षिण अफ्रिका देखि भारत फर्किएका थिए ।महामारी नचलेको भए महात्मा गान्धी आफ्नो देश फर्कन ढिला गर्थे ।फलतः भारत मुक्त हुनको लागि अझै समय लाग्न पनि सक्थ्यो । तसर्थ दुःख-वेदना, अपूरणीय क्षतिका बाबजुद पनि हामी पुनर्जागरणको प्रस्थान विन्दुमा छौँ। सिमानामा हात दिइरहेका नेपालीहरू,क्वारेनटाइनमा छटपटाइरहेका

परदेशीहरू,तेस्रो मुलुकबाट देश फर्कन काकाकुल भएका युवाहरू र नवराज बि.क.जस्तै मध्ययुगीन पशुवत् व्यवहार भोगिरहेका नेपालीहरू सबैलाई पुनर्जागरणको अभियानबाट राष्ट्र निर्माणमा एकीकृत गर्ने हो भने कोरोनाले मात्रै होइन अशिक्षा, गरिबी,पछौटेपन, कु संस्कृति सबैले छोडेर जान्छन् । लकडाउनमा म अकविलेभावुकताबस लेखेको कविताको प्रस्तुत अंशमा भनिएझैँ मान्छेले मान्छेलाई माया चाहिँ गर्नै पर्छ ।

कोरोना भाइरस
सोधिरहेछन्
हे मनुष्य!
तिमीले तिमीलाई नै माया गर्दैनौ
मैले तिमीलाई किन माया गरूँ ?

Tags :
प्रतिक्रिया दिनुहोस