कोभिड-१९ सङ्क्रमणजन्य फोहोर व्यवस्थापन « प्रशासन
prasaLogo
२४ जेष्ठ २०७७, शनिबार

कोभिड-१९ सङ्क्रमणजन्य फोहोर व्यवस्थापन


प्रकाशित मिति : 6 June, 2020 3:15 pm

समग्र विश्व कोभिड–१९ नामक भाइरसको सङ्क्रमणले आक्रान्त बनेको छ । यो भाइरसले समग्र मानव जातिको अस्तित्व र विकासलाई चुनौती दिइरहेको छ । पहिलो पटक चीनको वुहान सहरमा देखा परेको यो सङ्क्रमणले अरू धेरै कुरा तहसनहस गराउँदैछ । विश्वशक्ति राष्ट्रहरूलाई आक्रान्त बनाउँदै भारत नेपालसहितका राष्ट्रहरूमा यो सङ्क्रमण फैलिँदै छ । हाल आएर बढ्दै गएको सङ्क्रमण ले सामाजिक रूपमा अझै बढ्दै जाने प्रस्ट सङ्केत देखाइसकेको छ । सामाजिक रूपमा हरेक अवस्थामा दुरी कायम राख्दै गर्दा पनि विविध कुराहरू छन् जसले गर्दा कोभिड जस्तो उच्चतम सरुवा रोग अझै छिटो छिटो सर्न सक्छ । छिट्फुट रूपमा देखिएको यो रोग हाल आएर अधिकांश जिल्लामा देखिएको छ । सङ्क्रमित व्यवस्थापना, आइसोलेसन तथा क्वारेनटाइन तथा उपचार कक्ष मात्रै होइन अब त सङ्क्रमित हरू लाई सबै अस्पतालमा धान्न पनि गाह्रो हुने देखिएको छ । आगामी दिनमा हरेक घरमा आफू आफू सङ्क्रमित हरू को व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।

हाल आएर नगरपालिकाबाट उठ्ने फोहोर को मात्रा घटेको हुन सक्छ। तर सङ्क्रमण जन्य फोहोर को मात्रा बढ्दै जानेछ । पछिल्लो लकडाउन को अवधिमा २५ – ३५ प्रतिशत फोहोर को मात्रा घटेको भये पनि समग्रमा अस्पतालजन्य फोहोरको मात्रा बढेको छ । यो क्रम सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अझै बढ्ने देखिन्छ । त्यस कारण पनि फोहोर व्यवस्थापनमा सजग हुनुपर्ने देखिन्छ । जब सङ्क्रमित घरमानै बसेको हुन्छ र उसको फोहोर सामान्य फोहोर जस्तै जान्छ भने त्यसको असर झन् झन् बढ्ने हुनेछ । हालको फोहोर व्यवस्थापन प्रक्रियाहरू लाई अझै छिटो र दुरुस्त पार्नुपर्ने देखिन्छ ।

सङ्क्रमणको समयमा उचित प्रबन्ध नगरिएको खण्डमा यसले महाव्याधिको रूप धारण गर्न सक्ने सम्भावना धेरै छ । सरकारले हाल सुचारु गरेका सबै क्रियाकलाप अत्यावश्यक छन् र अझै केही समयसम्म यसरी नै गरिरहनु पर्दछ ।

स्वास्थ्य तथा महामारी फैलिएको अवस्थामा, बिरामीले प्रयोग गरेका तथा स्वास्थ्यजन्य उपकरण तथा अन्य फोहोरलाई सङ्क्रमणजन्य फोहोर भनिन्छ । जबसम्म यो राम्रोसँग व्यवस्थित गरिएको हुँदैन सङ्क्रमणजन्य फोहोरले स्वास्थ्य सेवा कर्मचारीहरू, फोहोर कामदारहरू र आम जनतालाई थुप्रै प्रकारका स्वास्थ्य जोखिमहरू दिन सक्छ । प्रयोग गरेर फ्याँकिएको सुई, स्वास्थ्य उपकरण, मास्क, बिरामीले प्रयोग गरेका कपडा लगायत बिरामीले प्रयोग गरेका अन्य वस्तुहरू यस अन्तर्गत पर्दछन् ।

हालको अवस्थामा कोभिड रोगको जाँच तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गरेका उपकरण, सङ्क्रमितको उपचारमा प्रयोग गरिएका विविध उपकरण तथा वस्तु, सुई तथा बिरामीले प्रयोग गरेका अन्य वस्तु सङ्क्रमणजन्य फोहोर हुन् । नेपालमा यस्तो सङ्क्रमणजन्य फोहोर कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क त छैन तथापि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तथ्याङ्कको आधारमा सङ्क्रमणजन्य फोहोरको उत्पादन २००–४०० प्रतिशतले बढ्ने गर्छ भन्ने अनुमान छ ।

चीनको वुहान सहरमा कोभिड सङ्क्रमणको चरणमा अस्पतालजन्य सङ्क्रमित फोहोरको मात्रा ६०० प्रतिशतले बढेको तथ्याङ्क छ । त्यहाँ प्रतिदिन ४० टन हाराहारीमा उत्पादन हुने सङ्क्रमित फोहोरको मात्रा एक दिनमा २४० टन सम्म पुगेको थियो । सङ्क्रमित अस्पतालजन्य फोहोर आफैँमा खतराजन्य फोहोर हो । सामान्य अवस्थामा पनि अस्पतालजन्य फोहोरको व्यवस्थापन जटिल प्रक्रिया हो । अझै सङ्क्रमित फोहोरको व्यवस्थापन त झनै जटिल प्रक्रिया हो । यसको उचित व्यवस्थापन गर्न नसकेको अवस्थामा यस्तै फोहोरको कारण नै महाब्यधि फैलिन सक्ने सम्भावना हुन्छ । त्यस कारण पनि सङ्क्रमणजन्य फोहोरको व्यवस्थापनमा अत्यन्तै संवेदनशील हुनुपर्छ । नेपालमा त्यस्तो अवस्था भइसकेको छैन । तथापि, २१०० कोभिड सङ्क्रमण प्रमाणित भइसकेको छ । कतिपय शङ्कास्पदहरू एकल रूपमा बसिरहेका छन् । सङ्क्रमितहरू पनि एक ठाउँ मा मात्रै नभई धेरै ठाउँमा छन् । त्यस कारण पनि यो महाव्याधिको समयमा सङ्क्रमित व्यक्तिको फोहोर व्यवस्थापन महत्त्वपूर्ण तथा संवेदनशील हो । र, यसका हरेक क्रियाकलापहरू संवेदनशील तरिकाले गर्नुपर्दछ ।

चीनका सबै क्रियाकलापहरू अत्यन्तै व्यवस्थित रूपमा भएको कारण नै वुहानबाट यो महाव्याधिलाई नियन्त्रण गर्न उसलाई सहज भएको अनुभव छ । त्यसै अनुरूप सङ्क्रमित फोहोरको व्यवस्थापनमा चीनको अनुभव तथा क्रियाकलाप राम्रो र व्यवस्थित देखिएको छ । वुहानमा फैलिनु अगाडि नै उसले फोहोर को उत्सर्जन प्रक्षेपण गर्दै उचित व्यवस्थापन प्रणाली अपनाएको देखिन्छ । सदैव जस्तो फोहोर व्यवस्थापनको प्रणालीले यो संवेदनशील अवस्थामा सङ्क्रमित फोहोरको व्यवस्थापन गर्न सकिँदैन । त्यस कारण पनि सबै देशले विशेष प्रणाली अपनाउनुपर्ने हुन्छ ।

सँगसँगै सकेसम्म मिलेसम्म हरेक देशले सङ्क्रमित फोहोर व्यवस्थापनका सम्भावित योजनाहरू बनाउनुपर्ने आवश्यकता देखिन्छ । त्यो भन्दा पहिले नेपाल लगायत हरेक देशले सङ्क्रमित फोहोर व्यवस्थापनका लागि कानुनी व्यवस्था छ वा छैन त्यसको मूल्याङ्कन गर्नु पर्दछ । महाब्यधीको समयमा प्रबन्ध गर्नका लागि अस्पतालजन्य जोखिमयुक्त फोहोर व्यवस्थापनको कानुनी रूपमा वैध प्रक्रिया हुनु जरुरी छ । नेपाल सरकारले सन २०१४ मा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गर्न निर्देशिका तयार गरेको छ । त्यसबाहेक मेडिकल फोहोर व्यवस्थापन गर्न कानुनी प्रावधान देखिन्छ । कानुनी प्रक्रिया भन्दा बाहेक अर्को महत्त्वपूर्ण कुरा हो उपलब्ध हुन सक्ने उपकरण । सङ्क्रमित फोहोरको उचित प्रबन्ध गर्न वैज्ञानिक तथा आधुनिक उपकरणहरू आवश्यक पर्छन् । ल्याण्डफिल साइट, मेडिकल इन्सिनेरेटर, मेडिकल अटोक्लेव, अत्यावश्यक उपकरण हुन् । यसबाहेक महामारीको रूप लिएमा मोबाइल इन्सिनेरेटर, औद्योगिक यौगिक जलन मेसिन तथा सिमेन्ट किन्न पनि आवश्यक पर्छ । नेपालको हालको अस्पतालजन्य फोहोर व्यवस्थापन पनि वैज्ञानिक तथा सुरक्षित छैन ।

इन्सिनेरेटरको प्रयोग राम्रोसँग भएको छैन । त्यस कारण सङ्क्रमित फोहोर व्यवस्थापनका लागि उपकरण उपलब्ध छ छैन भनेर बुझ्न आवश्यक हुन्छ । महामारीको अवस्था आएको समयमा सामान्य रूपमा पनि हालको अवस्था भन्दा ६०० प्रतिशत बढी सङ्क्रमणजन्य फोहोर उत्सर्जन हुने प्रारम्भिक अनुमान गर्न सकिन्छ । हाम्रा नगरपालिकाहरुले फोहोरको राम्रोसँग वर्गीकरण गर्ने अभ्यास गरेका छैनन् । त्यस कारण महाब्यधीको तयारीमा सङ्क्रमणजन्य फोहोरको व्यवस्थापन संवेदनशील पक्ष हो ।

दोस्रो महत्त्वपूर्ण कुरा हो सङ्क्रमित फोहोरको ओसार पसार । फोहोरलाई विसर्जन गर्ने स्थानसम्म पुर्‍याउनको लागि आवश्यक पर्ने महत्त्वपूर्ण आवश्यकता सुरक्षित यातायात हो । कामदारहरूलाई यथेष्ट रूपमा सुरक्षित उपकरणहरू लगायत फोहोर बोक्ने यातायातका साधनहरू सुरक्षित तरिकाले स्टेरिलाईज गरिएको साधन हुनुपर्दछ । फोहोर जम्मा गर्ने जनशक्ति प्राविधिक रूपमा सुरक्षित हुनुपर्दछ । साधन चलाउने ड्राइभर पनि प्राविधिक रूपमा योग्य तथा सुरक्षाप्रति जानकार हुनुपर्दछ ।

विभिन्न समयमा गरिएका अध्ययनले काठमाडौँ उपत्यकामा दैनिक ३०० देखि ४०० टन फोहोर उत्सर्जन हुने देखाएको छ । त्यस मध्ये १ प्रतिशत फोहोर जोखिमजन्य फोहोर हुने गरेको देखिएको छ । विश्व परिवेश र हालको उपलब्ध तथ्याङ्क हेर्दा सङ्क्रमित सहरहरू मा ६०० प्रतिशत भन्दा बढी जोखिम जन्य फोहोरको मात्रा बढेको देखिन्छ । यस तथ्याङ्कलाई आधार मान्ने हो भने ३, ४ टन जोखिमजन्य फोहोरमा ६०० प्रतिशतले हुन आउने वृद्धि नै आधारभूत सङ्क्रमित फोहोरको मात्रा हुन आउँछ । यो मात्रालाई व्यवस्थापन गर्न सक्ने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारले पनि आ–आफ्नो क्षमता मूल्याङ्कन गरी सम्भावित सङ्क्रमण र त्यस्तो अवस्थामा कति र कस्तो फोहोरको व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको आधारभूत तयारी गर्नु आवश्यक छ । प्राविधिक रूपमा फोहोर जम्मा गर्ने, छुट्टाउने, ओसारपसार गर्ने र त्यसको व्यवस्थित रूपमा विसर्जन गर्ने व्यवस्था राम्रोसँग गर्नुपर्छ । यससँगै सङ्क्रमित फोहोरको वर्गीकरण गरी त्यसको व्यवस्थापनको अनुगमन गर्ने व्यवस्था पनि गर्नुपर्छ ।

अर्को महत्त्वपूर्ण विषय के हो भने फोहोरको व्यवस्थापन सङ्क्रमणको समयमा मात्रै हुन्छ भन्ने हुन्न । चीनको वुहानले पनि आफ्नो योजनामा सङ्क्रमण सकिएको ६० दिन भन्दा बढी समयसम्म सोही रूपमा फोहोर व्यवस्थापन गर्ने अल्पकालीन योजना बनाएको छ । त्यसैले सङ्क्रमण फैलिनु भन्दा पहिले अस्पतालजन्य तथा सङ्क्रमणजन्य फोहोर व्यवस्थापनको पूर्व तयारी आवश्यक छ । फोहोरको उचित व्यवस्थापन अति जरुरी तथा अति नै गाह्रो विषय हो । जनशक्तिको न्यून उपलब्धता, जोखिमजन्य फोहोरको उचित वर्गीकरण नभएको अवस्था तथा अन्य अवस्थाले पनि फोहोरको व्यवस्थापन कठिन हुन्छ । झनै महामारीको अवस्थामा त फोहोर व्यवस्थापन एकदमै चुनौतीपूर्ण हुन्छ ।

अहिलेको कोभिड सङ्क्रमणको अर्को डरलाग्दो पक्ष के हो भने सो भाइरस एकदमै सक्रिय देखिएको छ । यसको सर्ने प्रक्रिया सबै पत्ता नलागे पनि छिटो छिटो सरेको तथा सर्ने प्रकृति पनि मानिसको सम्पर्कबाट सहजै भएको देखिएको छ । त्यस कारण सङ्क्रमणजन्य फोहोर व्यवस्थापन जटिल छ ।

घरमा आइसोलेसनमा बसेका सङ्क्रमितको फोहोर अन्य फोहोरसँग मिसिनु हुँदैन । ती र त्यस्ता फोहोरलाई वर्गीकरण गरी छुटाउनुपर्ने हुन्छ । त्यो फोहोर जोखिमजन्य फोहोरसँगै विसर्जन गर्नुपर्दछ । यसमा मास्क, सङ्क्रमितले प्रयोग गरेका अन्य वस्तु पनि पर्दछन् । सो फोहोर जम्मा गर्ने जनशक्तिले त्यो फोहोरलाई उचित तरिकाले जम्मा गरी व्यवस्थित गर्नु पर्दछ । यसरी जम्मा गरिएको फोहोरलाई उपयुक्त तरिकाले विसर्जन गर्ने स्थानसम्म लैजानु पर्ने हुन्छ । यो झन् चुनौतीपूर्ण छ । कतिपय अवस्थामा यो भाइरस हावाबाट पनि सर्न सक्ने देखिएको छ ।

यातायात का साधनहरू पनि नन एब्जर्बेबल हुनुपर्दछ, बन्द गरिएको, निर्जलीकरण गरिएको हुनुपर्दछ । सक्षम सिल लोड क्षेत्र र ड्राइभरको क्याबिनबाट अलग तिनीहरूको गाडी पहिचान सङ्ख्या वा चेसिस नम्बरहरू सहित व्यवस्था गरेको हुनुपर्दछ । र, तिनीहरूको अनुमति दिन रेकर्ड गरिनु पर्छ ।

सङ्क्रमणजन्य, अस्पतालजन्य फोहोर र सामान्य फोहोर अलग गरिएको हुनुपर्दछ । प्याकिङको समयमा अस्पताल स्टाफ, डबलब्याग वस्तुहरू स्प्रे गरिन्छ । अनसाइट अस्थायी भण्डारण भन्दा पहिलेको विधि डिस्पोजल, त्यसपछि अस्पतालहरू बिच भिन्न हुन्छ अटोक्लेभको माध्यमबाट बन्दी वा विकिरण लाइसेन्स प्राप्त फिनल्यान्ड डिस्पोजल वा इन्सिनेरेटर विधिबाट विसर्जन गर्नुपर्ने हुन्छ । सङ्क्रमण बढी भएको अवस्थामा मोबाइल इन्सिनेरेटरको प्रयोग गरी सङ्क्रमणजन्य फोहोरको व्यवस्थापन गर्न सकिन्छ ।

फोहोर व्यवस्थापन नियमित प्रक्रिया हो । यसले समाजलाई फोहार मुक्त गराइ नागरिकहरूलाई स्वच्छ भई बाँच्न सक्ने बनाउँछ । तथापि, महाब्यधीको समयमा फोहोरको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । फोहोरको व्यवस्थापन राम्रोसँग गर्न नसकेको अवस्थामा महामारीको कारक नै बन्छ । त्यसैले सङ्क्रमणजन्य वा जोखिमजन्य फोहोरलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्नुपर्छ ।
(पोखरेल वातावरणविद् हुन् ।)

Tags :
प्रतिक्रिया दिनुहोस