सामान्य प्रशासन मन्त्रीको गाडी मोह, ९ वटा गाडी आफैसँग ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामान्य प्रशासन मन्त्रीको गाडी मोह, ९ वटा गाडी आफैसँग !


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । कोभिड-१९ का कारण चौतर्फी खर्च कटौती र मितव्ययीताको बहस भई रहँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नाममा ९ वटा गाडी रहेको भेटिएको छ ।

बजेटकै कारण देखाउँदै कर्मचारीको भत्तासमेत काटिएको अवस्थामा माउ मन्त्रालयका रुपमासमेत रहेको मन्त्रालयका मन्त्रीले सचिवालयसहित गरी ९ वटा गाडी प्रयोग गरिएको प्रशासनले फेला पारेको छ ।

स्रोतका अनुसार तीन वटा गाडी मन्त्री आफैले प्रयोग गर्दै आएका छन् भने बाँकी ६ वटा गाडी उनको निजी तथा स्वकीय सचिवालयका कर्मचारीले प्रयोग गर्दै आएका छन् ।

जसमध्ये बा.२ झ ४१२९, बा.२ झ २५०६ र बा.२ झ १०७५ नम्बरको गाडी मन्त्री त्रिपाठीले चढ्छन् भने उनको सचिवालयका कर्मचारी रमेश पाण्डेले ३९६३, विष्णु खड्का बा. १ झ ९८४७, निजी सचिव नीरज पौडेलले बा. २ झ १४०४, माधव पाण्डे बा. २ झ १६६१ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् । त्यसैगरी बा. २ झ ३३६८ र बा. २ झ २५०४ नम्बरको गाडी पनि मन्त्रीकै नाममा राखिएको छ ।

यसबारे मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीसँग सोध्दा उनले मन्त्रीज्यूले नै ९ वटा गाडी प्रयोग नगरेको बताएका छन् । ‘मन्त्रीज्यूले प्रयोग गर्ने जम्मा ३ वटा गाडी मात्रै हो’, उनले भने ‘बाँकी गाडी मन्त्रीज्यूले चढ्नु भएको छैन ।’

थप गाडीहरू क-कसले प्रयोग गरिरहेको छ भन्नेबारे आफूले बुझेपछि मात्रै भन्न सक्ने प्रवक्ता अधिकारीको भनाई छ ।

मन्त्रालयमा सवारी साधनदेखि इन्धनसम्मै मनपरी गर्ने मन्त्रीहरूको पुरानै रोग हो । अहिले पनि अधिकांश मन्त्रीहरूले सल्लाहकारदेखि सचिवालयका सबै कर्मचारी हुँदै आफ्ना तथा आफन्तहरूका लागि समेत सरकारी सवारी उपलब्ध गराउँदै आएका छन् । जुन सरासर गलत हो ।

सरकारले सवारी सम्बन्धी मापदण्ड नै बनाएको छ तर त्यसको पालना स्वयं कर्मचारीहरूले नै गरेका छैनन् । कति सिसीसम्मको गाडी क-कसले प्रयोग गर्ने भन्नेबारे स्पष्टै रूपमा उल्लेख गरिएको भए पनि गाडी सुविधा नै नपाउने कर्मचारीहरुलेसमेत गाडी प्रयोग गरिरहेका छन् । त्यति मात्रै होइन, केही मन्त्रालय सहसचिवहरूले समेत दुई-तीनवटैसम्म गाडी प्रयोग गरेको भेटिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस