व्यवस्थापन परीक्षण : नेपालमा यसको अभ्यास र आयाम « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

व्यवस्थापन परीक्षण : नेपालमा यसको अभ्यास र आयाम


२२ जेष्ठ २०७७, बिहिबार


सार्वजनिक प्रशासनको क्षेत्रमा नविन अवधारणाकोरुपमा व्यवस्थापन परीक्षणलाई लिने गरेको पाइन्छ । कुनै पनि संगठनको  निर्दिष्ट उदेश्य हासिल गर्नको लागि व्यवस्थापनको नीति, कार्य, संरचना समेतका विविध आयामहरुको पुनरावलोकन एवं परीक्षणलाई नै व्यवस्थापन परीक्षणका रुपमा लिने गरिन्छ । यो संगठनको संरचना, संचालन कार्य व्यवस्थापन तथा संगठनको योजना, लक्ष्य एवं उदेश्य, नीति, गतिविधि, संगठनको सबलता, दुर्वलता आयक्षमता एवं सक्षमता समेतका विषयको स्वतन्त्र, निष्पक्ष परीक्षण, मूल्याङकन तथा बिश्लेषण हो । सार्वजनिक क्षेत्रमा समग्र सुशासन कायम गरी उच्च कार्यदक्षता प्रस्तुत गर्ने उदेश्यबाट सर्वप्रथम सन् १९६२ मा अमेरिकी सार्वजनिक प्रशासनमा यसको प्रयोग भएको पाइन्छ । नविन सार्वजनिक व्यवस्थापन कै एक आयामका रुपमा सर्वप्रथम ज्याक्सन माटिन्डेलले यसको अवधारणा प्रकासमा ल्याएका थिए ।

नेपालमा यसको अभ्यास
नेपालको सार्वजनिक प्रशासनमा समेत व्यवस्थापन परीक्षणलाई सार्वजनिक व्यवस्थापनको अभिन्न अंगको रुपमा स्वीकार गरिदै आएको छ ! खास गरी नेपालको सार्वजनिक प्रशासनमा पनि नविन सार्वजनिक व्यवस्थापनका असल अभ्यासहरुको प्रयोगद्धारा सार्वजानिक प्रशासनलाई अझ बढि सक्षम, जनउत्तरदायी, पारदर्शिता कायम गर्ने उदेश्यबाट नेपालको निजामती प्रशासनमा वि.स. २०५० को दशमा यसको प्रयोग अभ्यासमा ल्याइएको थियो । निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० को प्रथम संशोधन ऐनको दफा ७२(क) तथा नियमावलीको ३(क) (२०५५) द्धारा व्यवस्थापन परीक्षणलाई निजामती प्रशासनको अभिन्न अङ्गको रुपमा स्वीकार गरेको पाइन्छ । जस अनुसार लोक सेवा आयोगको कार्यक्षेत्रभित्र पर्ने बिषयमा बाहेक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नेपाल सरकारका विभिन्न निकायहरुमा कार्यरत निजामती कर्मचारीहरुले प्रचलित कानून तथा प्रशासकीय नियम र कार्यविधिहरुको पालना गरे नगरेको सम्बन्धमा सुपरीबेक्षण, अनुगमन र मूल्याङ्कन गरी निर्देशन समेत दिने कार्य गर्दै आएको छ ।

त्यस्तै व्यवस्थापन परीक्षण निर्देशिका २०६७ को समेत व्यवस्था गरिएको छ जसमा व्यवस्थापन परीक्षण गर्ने तरिका समय तथा परीक्षणका आयाम तथा क्षेत्रहरु तथा जिम्मेवार निकायहरुको समेत स्पष्ट व्यवस्था गरेको पाईन्छ ।

लोक सेवा आयोग ऐन २०६६ ले समेत आफ्नो कार्यक्षेत्रको विषयमा वार्षिक रुपमा व्यवस्थापन परीक्षण गर्ने कार्य उल्लेख गरेको पाईन्छ ।

संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले वार्षिक रुपमा नियमित तथा आकस्मिक रुपमा व्यवस्थापन परीक्षण गर्ने उल्लेख भएको छ । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो अधिकार प्रत्यायोजन गरी नेपाल सरकारका सबै विभागीय प्रमुख, कार्यालय प्रमुखहरुले आफ्नो र मातहतका कार्यालयहरुको व्यवस्थापन परीक्षण गरी प्रतिवेदन पठाउन सक्ने व्यवस्था समेत उल्लेख छ । साथै परीक्षण गर्दा विभिन्न विधिहरुको प्रयोग भएको हुन्छ जस्तो: अवलोकन, कागज तथा प्रमाणहरुको अध्ययन, प्रश्नावली, अन्तरर्वार्ता, छलफल, प्रतिवेदनहरुको अध्ययन आदि कुनै पनि उपयुक्त विधिबाट व्यवस्थापन परीक्षण गर्न सक्ने व्यवस्था छ । सोको एकिकृत प्रतिवेदन समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार गरी मन्त्रिपरिषद्बाट पारित गरी सो अनुरुप कार्यान्वयन गर्ने व्यवस्था रहेको पाइन्छ ।

व्यवस्थापन परीक्षणका आयामहरु
व्यवस्थापन परीक्षण गर्दा लिइने कार्यक्षेत्र तथा परीक्षणको दायरालाई नै यसको आयामहरुको रुपमा बुझ्ने गरिन्छ । व्यवस्थापन परीक्षण गर्दा समेत त्यसका विभिन्न आयामहरु पहिचान गरी परीक्षण, मूल्याङ्कन, सुपरीबेक्षण गर्ने गरी व्यवस्थापन परीक्षण निर्देशिका २०६७ मा उल्लेख गरीएका छन् । जस्तै :

१.संगठनात्मक नीति र व्यवहार : यसबाट संगठनको समग्र नीति बार्षिक कार्ययोजना, श्रोत र साधनको दिगो र कुशल व्यवस्थानको अवस्था, नीतिहरुको अनुशरण र उपयोग जस्ता विषयको परीक्षण गर्ने ।

२.संगठन संरचना : कार्यलयको स्वरुप, कर्मचारी आपुर्तिको अवस्था, संगठनको दरबन्दि खारेजी, थप तथा ओ एण्ड एम सर्भेलगायत विषयहरु ।

३.कार्यलय व्यवस्थापन र अभिलेख व्यवस्थापन : कर्मचारीहरुको सरुवा, बढुवा , कार्यसंपादन मूल्याङ्कन लगायतका कागजात तथा कार्यालयमा भएका महत्वपूर्ण निर्णयहरुको अभिलेख सुरक्षित र व्यवस्थित भए नभएको ।

४. कार्य प्रक्रिया,कार्यालय विन्यास  : अधिकार प्रत्यायोजन तथा कार्य जिम्मेवारीको बाडफाड उपयुक्त भए नभएको, कार्यलयको कार्य प्रक्रिया र निर्णय प्रक्रियालाई सरलीकरण गरे नगरेको, कार्यलयको कार्य वातावरण र कार्यलय संरचना सेवाग्राही मैत्री भए नभएको जस्ता विषयहरु ।

५.आर्थिक प्रशासन र जिन्सी व्यवस्थापन : स्वीकृत बार्षिक कार्यक्रम र बजेट सिमा भित्र रहि खर्च गरे नगरेको, आन्तरिक नियन्त्रणको प्रभावकारी व्यवस्था गरे नगरेको, जिन्सीको हिनाविना र दुरुपयोग हुन नपाउने गरी प्रयाप्त प्रबन्ध गरे नगरेको, बेरुजु फर्छ्यौट सम्बन्धी प्रगती ।

६.सेवा प्रवाह र पारदर्शिता : नागरीका सेवा वडापत्रको व्यवस्था र सोको कार्यान्वयनको अवस्था ,सेवा गा्रहिका गुनासो सुनवाईको व्यवस्था, सार्वजानीक सुनवाई लगायतका विषयहरु ।

७.सुचना प्रविधिको प्रयोग र अन्य उपयुक्त विषयहरु : कार्यलयको महत्वपूर्ण सुचनाहरु को सार्वजनिक प्रकाशन गरे नगरेको, सेवा प्रवाहलाई सुचना प्रविधि मैत्री बनाए नबनाएको, वेव साईटहरुको व्यवस्था र अभ्यास भए नभएको लगायत विधुतीय शासनको प्रयोगको अवस्था लगायत मूल्याङ्कनकर्ता, सुपरिवेक्षणलाई अन्य उपयुक्त आयमहरु समेतको व्यवस्थापन परीक्षण गर्ने व्यवस्था रहेको पाईन्छ ।

व्यवस्थापन परीक्षण सार्वजनिक प्रशासनको नविन अवधारणाका साथै सेवा प्रवाहलाई उत्कृष्ठ  ढङ्गबाट सम्पादन गर्न गरिने अभ्यासका रुपमा लिने गरिन्छ । यसबाट नै समग्र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारीता आउनुका साथै कर्मचारीतन्त्रमा समेत नागरीकप्रति उत्तरदायित्व सृजना गरी पारदर्शिता र समग्र सुशासन कायम गर्न सकिने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस