१० करोड २७ लाख गैर कानुनी सम्पत्ति आर्जन गर्ने मालपोत अधिकृत विरुद्ध मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१० करोड २७ लाख गैर कानुनी सम्पत्ति आर्जन गर्ने मालपोत अधिकृत विरुद्ध मुद्दा दायर


२० जेष्ठ २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । १० करोड २७ लाख गैर कानुनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको पारिश्रमिक र भत्ता लगायतको बचत, कर्जा शेयर बिक्री सबै गर्दा चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ मात्र आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

यो अवधिमा उनले गरेको खर्च, जोडेको जग्गा जमिन, शेयर खरिद, बैङ्क खाता सबै गरेर १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपैयाँ सम्पत्ति मूल्याङ्कन भएको छ ।

आयोगका अनुसार ढकालले साली नाता पर्ने व्यक्तिका नाममा सवारी साधन खरिद गरेर प्रयोग गर्दै आएको र गैर कानुनी रूपमा आर्जन गरेको रकम लुकाउन अस्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाता पर्ने नवराज अर्यालका नाममा जनता बैङ्कमा खाता खोलेर आफूले सञ्चालन गरेको पाइएको छ ।

यो खाताबाट मात्र उनले जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाई ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

उनले तनहुँ मालपोत कार्यालयमा कार्यरत रहँदा आयस्रोत बढाउन न्यूनतम राजश्व तिरेर अरूको जग्गा आफ्नो नाममा ल्याउने र महँगो मूल्यमा बेचेको समेत देखाएको पाइएको छ । डेकबहादुर गुरुङ र उनकी श्रीमतीको नाममा दर्ता भएको जग्गा खरिद बिक्री कारोबार नै नगरी लिखतमा सरकारी न्यूनतम मूल्य १ लाख ९७ हजार उल्लेख गरी आफ्नो नाममा ल्याएका थिए ।

केही समयकै अन्तरमा उनले त्यही जग्गा डेकेन्द्र, उनकी श्रीमती, डेकेन्द्रका दिदीभिनाजु र बहिनीको नाममा एक करोड ६८ लाखमा बिक्री गरेको लिखत बनाएका थिए । यो बदनियत तवरले आयस्रोत बढाउन गरेको अख्तियारको दाबी छ । र, ढकालसँगै उनकी श्रीमती सिर्जना अर्याल र जेठान नाता पर्ने नवराज अर्याल समेतलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस