नेपालमा कोरोना भाइरस असर र भावी दिशा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा कोरोना भाइरस असर र भावी दिशा


१७ जेष्ठ २०७७, शनिबार


पृष्ठभूमि
सन् २०१९ को डिसेम्बरमा चीनको बुहानवाट सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमण नेपालमा माघ महिना देखि नै देखिन थालेको भएता पनि नेपाल सरकारले २०७६ चैत ११ बाट लकडाउन सुरु गर्‍यो । पहिलो पटक २०७६ चैत ११ देखि १८ गते सम्म दोस्रो पटक चैत्र १९ देखि २५ सम्म  तेस्रो पटक चैत्र २६ देखि वैशाख ३ सम्म चौथो पटक वैशाख ४ देखि वैशाख १५ सम्म पाँचौँ पटक वैशाख १६ देखि जेष्ट ५ र छैटौँ पटक जेठ ६ देखि २० सम्म गरेर लकडाउन भएको अवधि दुई महिना बिती सकेको छ यो लेख तयार पार्दा सम्मको अवधिमा १२१२ जनामा कोरोनाको सङ्क्रमण देखि सकेको छ भने ६ जनाको मृत्यु भई सकेको छ साथै २०६ जना निको भएर घर फर्की सकेका छन् । विश्वव्यापी रूपमा देखिएको भन्दा फरक प्रकृतिको लक्षण समेत नेपालका कोरोना सङ्क्रमितमा देखिएको छ । यस अगाडी विश्वमा फैलिएको डेङगु, मलेरिया, बिफर, टिभी, दादुरा, वर्ड फ्लु, स्पेनिजफ्लु, सार्स, एड्स जस्ता सङ्क्रमणले विश्वमा धेरै मानिसको मृत्यु भएको इतिहास हाम्रा सामु छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिहरुलाई समेत यो अतिरिक्त बोझको रूपमा आएकोले धान्न मुस्किल परेको छ । क्वारेनटाइन व्यवस्थापन र त्यहाँ परिचालन हुने जनशक्तिको अभाव पर्याप्त श्रोत साधन र विषयवस्तुको गाम्भीर्यताका कारण पनि सोचे जस्तो काम गर्न नसकेकोमा दुई मत छैन । तापनि आफ्नो क्षमताले भ्याएसम्म सकारात्मक प्रयास भने गरेको देखिन्छ । स्थानीय सरकारले विपद् व्यवस्थापनका लागि छुट्ट्याइएको रकम समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गरी सकेका छन् । क्वारेनटिन व्यवस्थापन क्वारेनटिनमा बस्नको लागि आवश्यक खानपिनको बन्दोबस्त राहत वितरणमा खर्च भई सकेकोले अबका दिनमा सङ्घीय सरकार र प्रदेश सरकारले अनुदान नदिने हो भने क्वारेनटिन व्यवस्थापन र अव छिमेकी मुलुक भारत लगायत अन्य देशबाट थप हुने मानिसहरूको व्यवस्थापन गर्न कठिनाइ उत्पन्न उत्पन्न हुने अवस्था सृजना हुन सक्दछ ।

कोरोनाको असर
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको असर नेपालमा पछिमात्र देखा परेको भएता पनि यसले क्रमशः महामारीको रूपमा फैलिँदै गएको छ । यसको असर झन् झन् बढेर गएको छ भने साउन महिनामा यो सङ्क्रमणको असर मध्य विन्दुमा पुग्ने अनुमान समेत गर्न थालिएको छ । यसले नेपालको समग्र क्षेत्रहरू आर्थिक, सामाजिक, सार्वजनिक, राजनैतिक, नीति निर्माण, आपूर्ति व्यवस्था, धार्मिक लगायत समग्र क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ । भूकम्प र नाकावन्दीले थला पारेको अर्थतन्त्रलाई कोरोनाको सङ्क्रमणले झन् पछाडि धकेल्न थालेको छ । यसबाट उत्पन्न हुने असरलाई निम्न बमोजिम प्रस्तुत गरिएको छ ।

(१) सार्वजनिक प्रवाहमा परेको असरः- कोरोना सङ्क्रमणको असरले राज्यका सबै सेवाहरू अवरुद्ध भएका छन् । सेवाग्राहीहरूले सास्ती भोगी रहेका छन् । दैनिक सेवा दिने सरकारी निकायहरू लगायत यसले सेवा लिने र दिने दुवै पक्ष मारमा परेका छन् ।

(२) कृषि क्षेत्रमा परेको असरः- कोरोनाका सङ्क्रमणको कारण गरिएको लकडाउनले नेपालको कृषि क्षेत्रमा नकारात्मक असर परेको छ । मानिसहरूको आवतजावत ढुवानी व्यवस्थामा भएको असहजता र आवश्यक मात्र सहजरुपमा पाउनु पर्ने कृषि औजार, मल, बिउ ट्याट्ररलाई चाहिने इन्धन पशुपंक्षीको लागि आवश्यक आहारको ढुवानी र सहज आपूर्ति हुन नसक्दा समग्र कृषि क्षेत्रलाई नकारात्मक असर परी कृषि उत्पादन घट्न सक्ने अवस्था रहेको छ । यसले नेपालको कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्रको योगदान घट्ने प्रक्षेपण गरिएको छ ।

(३) उद्योग क्षेत्रमा परेको प्रभावः- नेपालको उद्योग क्षेत्र लकडाउनको कारण उठ्नै नसक्ने गरी थला परेको छ । सामाजिक दुरी कायम गर्नु पर्ने कारण उद्योगहरू सञ्चालन हुन सकिरहेका छैनन् । कच्चा पदार्थको सहज आपूर्ति र उत्पादित बस्तु बजारसम्म पुर्‍याउन ढुवानी समस्या जनशक्तिको अभावका कारण उद्योग धन्दा, कल कारखाना नियमित र पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेका छैनन् । यसको प्रत्यक्ष असर रोजगारीमा पर्न गई व्यक्तिको आय स्तर घट्न गएको छ ।

(४) व्यापार क्षेत्रः- लकडाउनका कारण नेपालको व्यापार व्यवसाय ठप्प भएको छ । यसले एकातिर व्यवसायीहरूलाई घर भाडा बैकको ब्याज तिर्न कठिनाइ भएको छ भने व्यवसायीहरू घरमा खुम्चिएर बस्नु पर्दा एक प्रकारको आलस्यपन मनोटोनस जस्तो भई मानसिक रोगी बन्ने खतरा छ भने लकडाउन खुले पछि  पनि ज्यानलाई जोखिममा राखेर कसरी काम गर्ने भन्ने चिन्ता बढेको छ ।

(५) शिक्षा क्षेत्रमापरेको असरः- लकडाउन गर्दा शैक्षिक संस्थाहरू सुचारु हुन सकिरहेका छैनन् यसले  एकातिर शैक्षिक क्यालेन्डर पछाडि धकेलिने सम्भावना बढेको छ भने अर्कोतिर विद्यार्थीको पढाई डामाडोल हुन गई उनीहरूको पढाई को अवधि लम्बिने चिन्ता बढेको छ । बिद्यार्थीहरु घरमै बस्नु पर्दाको पिडा र सामाजिक सञ्जालको पढ्दो प्रयोगले बिद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्न थालेको छ । घरमा बसी रहँदा खटपट हुने,दिमागमा विभिन्न किसिमका सोचाइको विकास हुने, पढ्ने बानी हराउने जस्ता समस्याहरू देखा पर्ने गरेका छन्  ।

(६) पर्यटन क्षेत्रमा परेको प्रभावः- नेपालले सन २०२० लाई पर्यटन वर्षको रूपमा घोषणा गरी २० लाख पर्यटन भित्र्याउने महत्वकाक्षी योजना आगडी सारेको थियो । यसको तयारीका लागि सरकारी तथा निजी क्षेत्रबाट समेत ठुलो धनराशि खर्च भई सकेको थियो । कोरोनाको सङ्क्रमणले एयरलाइन्स लगायत सबै सवारी साधन ठप्प हुँदा हिमाल आरोहणको सिजन सुरु हुनै लाग्दा आन्तरिक र बाह्य पर्यटकको आवागमन ठप्प हुन पुग्यो । होटेल व्यवसायी, र्याप्टीङ, पदयात्रा लगायत सबै गतिविधि ठप्प हुँदा त्यस क्षेत्रमा कार्यरत व्यवसायी र कामदार सबैको पेसा धरापमा परेको छ । यसले एकातिर रोजगारीमा प्रतिकूल प्रभाव परेको छ भने अर्कोतिर राजश्वमा समेत नकारात्मक असर परिरहेको छ ।

(७) यातायात क्षेत्रमा परेको असरः- कोरोना सङ्क्रमण सुरु भए पछि गरिएको लकडाउनका कारण हवाई र स्थल यातायातका साधन ठप्प हुँदा रणनीतिक महत्त्वका ठुला आयोजना लगायत स्थानीय तहमा सञ्चालित प्राय जसो पूर्वाधारका काम समेत ढुवानी समस्या जनशक्तिको अभाव र निर्माण सामाग्रीको अपर्याप्तताका कारण सुचारु हुन सकिरहेको छैन । यसले एकातिर निर्माण सामाग्री लगायत खाद्यान्नको भाउमा वृद्धि भएको छ भने अर्को तिर यातायात क्षेत्रमा संलग्न व्यवसायीहरूले समेत जोखिम मोलिरहेका छन् । विशेष गरी सार्वजनिक यातायातका साधनहरू सञ्चालन हुन नसक्दा त्यसमा कार्यरत व्यवसायी मजदुरको रोजीरोटी गुमेको  छ भने ऋणको किस्ता, व्याज समेत बढ्न गई तनाव सृजना हुँदै गएको छ ।

(८) रेमिटेन्समा परेको प्रभावः- अन्तर्राष्ट्रिय क्षेत्रमा रोजगारीका अवसरहरू गुम्न जाँदा करिब ६ लाख नेपाली युवाहरू विदेशबाट नेपाल फर्किने तयारीमा छन् । यसले रेमिटेन्स घट्न जाने, नेपालमा रोजगारीका अवसर सृजना हुन नसक्दा फर्किने युवाहरूको व्यवस्थापनमा कठिनाइ हुने, उनीहरूको आय स्तर नियमित हुन नसक्दा घर व्यवहार सञ्चालनमा समस्या परी पारिवारिक कलह समेत सृजना हुन सक्ने सम्भावना बढ्दै जाने निश्चित छ । विश्व बजारमा रोजगारी गुमाएर धेरै जनशक्ति नेपाल भित्रिदा यसले आन्तरिक श्रम बजारमा झन् नकारात्मक असर पार्नुका साथै सामाजिक विकृति विसङ्गति र अपराधका घटना घट्न सक्ने सम्भावना देखिन्छ ।

(९) रोजगारीको क्षेत्रमा परेको असरः- कोरोना सङ्क्रमणका कारण रोजगारी कटौती भई रहेको छ । उद्योग धन्दा कल कारखाना, एयरलायन्स, यातायात पर्यटन लगायत समग्र क्षेत्रहरूमा परेको प्रभावको कारण श्रम बजारमा रोजगारीको अवसर गुमिरहेको छ । यसले व्यक्तिको आयस्तरमा ह्रास आई उपभोग लगायत आर्थिक गतिशीलतामा कमी आइ समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । दैनिक ज्यालादारी गरेर खाने न्यून वर्गमा त यसले झन् ठुलो असर पुर्‍याएको छ ।

(११) आपूर्ति व्यवसायमा पारेको प्रभावः- ढुवानी व्यवस्था सहज नहुँदा अत्यावश्यक खाद्य सामाग्री, निर्माण सामाग्री, पेट्रोलियम पदार्थ लगायत सबै क्षेत्रको आपूर्तिमा असहजता आउँदा मूल्य वृद्धि कालोबजारी लगायतको समस्या सृजना हुन थालेको छ ।

(१२) मनोवैज्ञानिक त्रासको वातावरण सृजना हुनुः- कोरोना सङ्क्रमणका कारण स्वदेश तथा विदेशबाट आउने आफ्ना आफन्त र अपरिचित व्यक्तिसँग बोल्न भेटघाट गर्न एक अर्कामा हच्किनु पर्ने अवस्था सृजना हुँदा यसले समाजमा मनोवैज्ञानिक त्रासको वातावरण सृजना हुन गएको छ ।

(१३) मानसिक तनावः- लकडाउन सुरु भएको २ महिना पुगेको छ । यस अवधिमा धेरै सक्रिय जीवनमा रहेका मानिसहरू निष्क्रिय रूपमा घरमै बन्दीको रूपमा बस्नु पर्दा उनीहरूमा एक प्रकारको मनोटोनस उत्पन्न भएको, आलस्यता बढेको, मनोरोगी भएको, स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएको, काम गर्न वानी हराउने, पारिवारिक कलह बढ्ने जस्ता अवस्थाहरू समेत देखा पर्न थालेको छ । यसको साथै लकडाउन खुलेपछि ज्यानलाई जोखिममा राखेर कसरी काममा फर्किने भन्ने मानसिक चिन्ता समेत पैदा हुँदै गएको छ ।

(१४)  राहत वितरणमा परेको असर :- कोरोना सङ्क्रमणको असर देखिन थाले पछि सरकारले लकडाउन सुरु गर्‍यो । लकडाउन सुरु गरे पछि त्यसबाट सब भन्दा बढी प्रभावित जनसङ्ख्या कति छन् त्यसको यकिन तत्थ्याक हामी कहाँ छैन । स्थानीय सरकारहरूले पनि त्यसको तत्थ्याक सङ्कलन गर्न नसकेको अवस्था छ । जसले गर्दा वास्तविक लक्षित वर्ग पहिचानमै अलमलिन पुग्दा सहर बजारमा दैनिक मजदुरी गरेर खाने श्रमिक र ग्रामीणस्तरमा रहेका अति विपन्न परिवार बढी मारमा परेका छन् । सरकारी गैर सरकारीस्तरबाट वितरण गरिएको राहत वास्तविक लक्षित बर्गमा पुग्न नसकेको र वितरण छिटो भएको भन्ने गुनासो समेत सुन्ने गरिएको छ । लकडाउनको अवधि लम्बिँदै जाँदा  अव बल्ल राहत बाँड्ने बेला हुदैछ । तर स्थानीय सरकारहरूले पहिले नै राहत बाँडी सकेकोले अव उनीहरूको कोषमा राहत बाँड्ने रकम नहुँदा अबका दिनमा ती वास्तविक निम्न वर्गको जीवन झन् झन् कठिनाइ र चुनौतीपूर्ण हुने अवस्था छ ।

(१४)  भारतसँगको खुल्ला सिमानाका कारण परेको असर :- नेपालमा लकडाउन सुरु भएदेखि अन्तर्राष्ट्रिय नाकाहरू औपचारिक रूपमा बन्द गरिएको भएता पनि नेपाल भारतको खुल्ला सिमानाका कारण भारतबाट लुकिछिपी नेपाल भित्रिने बढ्दो सङ्ख्याका कारण नेपालमा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएको कुरा बिर्सनु हुन्न । नेपाल सरकारले जुन बेला लकडाउन सुरु गर्‍यो त्यही बेला देखि नै भारतीय खुल्ला सिमानाबाट हुने अनधिकृत आवत जावतलाई नियन्त्रण गर्न सकेको भए अहिले कोरोना सङ्क्रमण नियन्त्रणमा आइ सक्ने थियो ।

(१५) स्वास्थ्य सामाग्रीको अभावको असर :- कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन बढ्दै जान थाले पछि मुलुकको मौज्दात क्षमताले उपचार प्रक्रिया थाम्न सक्ने अवस्था छैन । समयमा स्वास्थ्य सामाग्रीहरू ग्लोव माक्स, सेनीटाइजर, पीपीई,पिपिआर किट, भीटीएम भेन्टिलेटर स्वास्थ्य संस्थाहरूमा समयमा व्यवस्था गर्न नसकेका कारण यसबाट उपचारमा असर परेको देखिन्छ । स्वास्थ्य कर्मीको अपुग छ । ढुवानी समस्याका कारण अत्यावश्यक स्वास्थ्य सामाग्री किट, पिपिइ, मास्क, ग्लोब, थर्मल  गन, औषधी लगायत आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएको छ ।

हामी कहाँ चुक्यौ ?
छिमेकी मुलुक चीन र भारतमा कोरोनाको सङ्क्रमण देखिए पछि हाम्रा हवाई तथा स्थल मार्गका नाकाहरू सिल गर्नु नसक्नु हाम्रो पहिलो कमजोरी हो । हामीसँग थुप्रै मजदुर/श्रमिक वर्ग अव्यवस्थित रूपमा सहर बजारमा बसेका छन् तिनीहरूलाई आफ्नो घर/गन्त्यव्यसम्म पुर्‍याउन पर्छ  पछि लकडाउन गरे पछि यिनीहरू समस्यामा पर्न सक्दछ भन्ने कुरा आंकलन गर्न नसक्नु हाम्रो दोस्रो कमजोरी रह्यो । खुल्ला सिमाना नियन्त्रण गर्न र टिमेकी मुलुक भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका व्यक्तिहरूलाई समयमा नै नियन्त्रणमा लिई उनीहरूलाई पिसिआर को विधिबाट कोरोना परीक्षण गरेर मात्र आफ्नो गन्तव्य भएको ठाउँमा पठाउन नसक्नु अर्को कमजोरी रह्यो । समयमा स्वास्थ्य सामाग्री ग्लोव मास्क, सेनीटाइजर, किट पिपिआर लगायतका स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु बर्को कमजोरी रह्यो । स्थानीयस्तरमा मापदण्ड अनुसारका क्वारेनटिन आइसोलेसन वार्ड व्यवस्था गर्न नसक्नु अर्को कमजोरी रह्यो । जोखिमको क्षेत्र पहिचान गर्न नसक्नु अर्को कमजोरी रह्यो । त्यसै गरी आपूर्ति व्यवस्थापन सहज बनाइ आन्तरिक व्यवस्थापन मजबुत पार्न नसक्नु अर्को कमजोरी रह्यो ।

भावी दिशा
कोरोनाले पारेको असर न्यूनिरण गरी आम जनताको जनजीवन सामान्य बनाइ थला परेको अर्थतन्त्रलाई सक्रिय बनाउन देहायको उपाय अवलम्बन गर्न सकिन्छ  ।

१. कोरोनाको असर मूल्याङ्कन गरेर सङ्क्रमणको प्रभावित क्षेत्र वर्गीकरण गरेर लकडाउनको प्रकृति परिवर्तन गर्नु आवश्यक छ ।

२. खुल्ला सिमानाबाट लुकीछिपी नेपाल भित्रने मानिसलाई सिमानामै रोकी पिसिआर गरेर मात्र नेपाल प्रवेश गराउने व्यवस्था गर्नु पर्दछ । यदि नेपाल सरकारले आफ्नो खर्चले धान्न नसक्ने भएमा नेपाल प्रवेश गर्ने सम्बन्धित व्यक्तिको निजी खर्चबाट भए पनि पिसिर नेगेटिभ देखिएमा आफ्नो गन्तव्यस्थल पठाउने र पोजेटिभ देखिएमा उपचारका लागि अस्पताल पठाउन सकेमा अनावश्यक क्वारेन्टीनको व्यवस्था गरेर अनावश्यक भोज भतेर गर्नु पर्ने थिएन स्थानीय सरकारलाई बोझ कम हुने  र सरकारी खर्चमा समेत मितव्ययी  हुनेछ ।

३. सङ्क्रमितको विवरण सार्वजनिक गर्न सकेमा नयाँ सङ्क्रमितका सङ्ख्या घटाउन सहयोग पुग्नेछ ।

४.एयलाईन्स मार्फत विदेशबाट आउने व्यक्तिहरूको पिसिर एयरपोर्टमा नै गरेर मात्र गन्तव्यमा पठाउन सकेमा कोरोना सङ्क्रमितको पहिचान भई समुदायस्तरमा फैलनबाट रोक्न सकिन्छ ।

५.लकडाउनको समयमा प्रत्यक्ष रूपमा जनसम्पर्कमा संलग्न रही फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्य कर्मी, सुरक्षाकर्मी,कर्मचारी पत्रकार एम्बुलेन्स चालकको समय समयमा पिसिआर विधिबाट स्वास्थ्य परीक्षण गर्ने गराउने गर्न सकेमा उनीहरूको उत्प्रेरणामा वृद्धि हुन जान्छ ।

६. स्थानीय तहले समुदायस्तरमा कोरोना फैलिन नदिन कोरोनाको पिसिआर विधिबाट परीक्षण नगरेका व्यक्तिहरूलाई गाँउबस्ती स्तरमा प्रवेशमा निगरानी बढाउने र  मापदण्ड अनुसारको क्वारेन्टीनको व्यवस्थाका लागि थप श्रोत र साधन उपलब्ध गराउनु पर्दछ ।

७. वैदेशिक रोजगारीबाट फर्किने सम्भावित ६ लाख युवाहरूलाई स्वदेशमा रोजगार मूलक कार्यक्रम ल्याई उनीहरूको पुनस्थापनलाई सहज बनाउनु पर्दछ ।

८. दैनिक ज्यालादारी गरेर खाने मजदुर/ श्रमिक वर्गको रोजिरोटी खोसिएको छ उनीहरूको दैनिक जीवनस्तर कष्टकर बन्दै गएको छ यसर्थ स्थानीय सरकारले वडा तहबाट आवश्यक तथ्याङ्क सङ्कलन गरी वास्तविक लक्षित वर्ग पहिचान गरेर उनीहरूलाई राहतको प्याकेज ल्याउनु पर्दछ ।

९. कोरोना सङ्क्रमण नियन्त्रणमा आइसके पछि सेवा प्रवाहलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा समेत अहिले नै ध्यान जानु आवश्यक छ । त्यसको लागि अहिले नै सरकारले इ सेवा/ अनलाइन सर्भिस, सञ्चालनको लागि पूर्वाधार तयार गर्नु आवश्यक छ । आउने दिनमा समेत यस्ता प्रकारका भाइरसहरू कुनै न कुनै रूपमा देखा पर्न सक्दछन् त्यसको लागि पनि अहिले देखि नै आवश्यक जनशक्ति तयारी अवस्थामा राख्नु आवश्यक पर्दछ । कागज रहित अनलाइन प्रणालीमा सबै सरकारी निकायहरूलाई आबद्ध गर्न सकेमा यसले भविष्यमा समेत सार्वजनिक सेवा प्रवाह छिटो छरितो, पारदर्शी हुन सक्दछ ।

१०. हरेक स्थानीय तहले आफ्नो क्षेत्र भित्रका जनताहरू कुनकुन देशमा कहिले गएका छन् उनीहरूको अवस्था के छ कहिले फर्किन्छन् यकिन तथ्याङ्क सङ्कलन गरी उनीहरू आफ्नो क्षेत्रभित्र फर्कँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पूर्वयोजना निर्माण गरी आवश्यक तयारी गर्नु पर्दछ ।

११. पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री, निजी स्वास्थ्य संस्था तथा अस्पतालहरू, श्रोत साधन समेत उपयोग गर्नु पर्दछ । सङ्क्रमितहरूको बढी भन्दा बढी र्यापिङ डाइग्रो किट आरडीटी तथा पोलिमरेज चेन रियाक्सन पिसिआर विधिबाट परीक्षणको दायरा बढाइ सङ्क्रमितहरूको उपचार गराउनु पर्दछ ।

निचोड 
कोरोना सङ्क्रमणले मुलुकको अर्थव्यवस्था माथि गम्भीर धक्का पुगेको छ । आर्थिक गतिविधि ठप्प भएको, उद्योग व्यवसाय, कृषि पर्यटन, सेवा क्षेत्रमा रेमिटेन्स लगायतमा गिरावट आएको छ । पर्यटन आवागमन अवरुद्ध छ । उत्पादन र वितरण प्रणालीमा गम्भीर असर पुगेको छ ।  लाखौँको रोजगारी गुमेको छ । दिगो विकासका लक्ष्य प्राप्तिमा ठुलो वाधा उत्पन्न भएको छ । कोरोना सङ्क्रमणको असरले विश्व बजारमा रोजगारीमा गिरावट आइ धेरै नेपाली श्रमिकहरू विदेशबाट फिर्ता भएर आउँदा पारिवारिक आम्दानीमा गिरावट आई क्रम शक्तिमा ह्रास आउन थालेको छ । कोरोना सङ्क्रमणको असरले विश्वमा आर्थिक मन्दी आउने र त्यसको प्रत्यक्ष असर हाम्रो जस्तो देशमा झन् बढी पर्ने सम्भावना छ । आर्थिक गतिविधि ठप्प हुँदा उद्योग व्यवसाय, कृषि पर्यटन, सेवा क्षेत्रमा रेमिटेन्स लगायतमा गिरावट आई आर्थिक वृद्धिदर घट्न पुग्दछ । आर्थिक वृद्धिदर घट्न जाँदा कुल ग्राहस्त उत्पादन र प्रति व्यक्ति आय घट्न गई समग्र अर्थतन्त्र थला पर्न सक्दछ । यसले समाजमा सामाजिक विकृति ल्याई सामाजिक सहिष्णुता कायम गर्नमा समस्या उत्पन्न हुन सक्छ । कोरोनाको सङ्क्रमणको असरबाट रोजगारी गुमाएका  श्रमिक, साना किसान, असहाय तथा गरिब वर्ग र विपन्न परिवार लाई लक्षित गरी स्वास्थ्य  सीप विकास तालिम र रोजगार एवं अय आर्जन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्नु पर्दछ । लोक कल्याणकारी राज्यको अवधारणालाई मूर्त रूप दिनका लागि सङ्घीय  प्रदेश र स्थानीय सरकारले समयमा नै सचेतनापूर्वक योजना बनाई कार्यान्वयनमा लैजानु आवश्यक हुन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी,   जिल्ला प्रशासन कार्यालय, पाँचथर ।

                                                         

Tags :
प्रतिक्रिया दिनुहोस