एक्काइसौँ शताब्दीमा एक स्वास्थ्य अवधारणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एक्काइसौँ शताब्दीमा एक स्वास्थ्य अवधारणा


१५ जेष्ठ २०७७, बिहिबार


एक स्वास्थ्य(वान हेल्थ) जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई स्वस्थ र स्वच्छ राख्नको लागि मानिस, पशुपन्छी, वनस्पति र वातावरणबिचको अन्तर सम्बन्धबाट उत्पन्न हुने रोगहरूको पहिचान गर्दै अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्न अन्तर विषयक र बहुपक्षीयरुपमा सहकार्य गर्नुपर्दछ भन्ने एक अवधारणा हो । यस अवधारणाले जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यबिच एकआपसमा नीति नियम कानुन र कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरी अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्ने कुरामा जोड दिएको छ ।

एक स्वास्थ्य रणनीतिको विकासक्रमलाई हेर्ने हो भने सन २००४ मा वाईल्ड लाइफ सोसाइटीले मानव चिकित्सा र पशु चिकित्सा सम्बन्धित अन्तर्राष्ट्रिय विज्ञहरूबिच मानव पशुपन्छी र वन्यजन्तुको रोगहरू सम्बन्धी विचार आदान प्रदान र छलफल गर्नको लागि गोष्ठी आयोजना गरेको थियो । यस गोष्ठीले व्यापक मन्थनपछि मानव स्वास्थ्य र पशु स्वास्थ्य माथि परिरहेको चुनौतीप्रति अन्तर्राष्ट्रिय र अन्तरविषयकरुपमा एकै ठाउँमा उभिएर प्राथमिकतासाथ काम गर्ने निष्कर्ष निकाल्यो ।

सन् २००८ मा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व स्वास्थ्य सङ्गठन( डब्लुएचओ) संयुक्त राष्ट्रसङ्घीय वालकोष (युनिसेफ), विश्व बैङ्क ((डब्लुबी), विश्व पशु स्वास्थ्य सङ्गठन(ओआइइ) लगायत संयुक्त राष्ट्रसङ्घीय सिस्टम ईन्फ्लुन्जा को—अर्डिनेशन (यूएनएसआइसी) सँगै मिलेर ‘कन्ट्रिब्युट टु वन वर्ल्ड अ्यान्ड वन हेल्थ’ को रणनीतिक खाका तयार गरे । मानव—पशु इकोसिस्टम ईन्टरफेसमा संक्रामक रोगहरूको जोखिम हटाउनको लागी उक्त रणनीतिक खाका तयार पारे ।

यसै गरी सन २०११ को फेब्रुअरीमा अस्ट्रेलियाको मेलबर्नमा एक स्वास्थ्य सम्बन्धी पहिलो भेला सम्पन्न भयो । यस भेलामा ७० देशका ६५० भन्दा बढी सम्बन्धित विधाका मानिसहरू भेला भएका थिए । उक्त भेलाले वान हेल्थ एप्रोचको प्रवर्धन र सहकार्य गर्दा हुने उपलब्धि तथा मानव पशु र वातावरणीय स्वास्थ्यको अन्तर सम्बन्धको महत्त्व बारेमा छलफल भएको थियो । सन २०१२ फेब्रुअरीमा ग्लोबल रिस्क फोरमले स्वीजरल्याण्डको डाभोसमा वान हेल्थ शिखर सम्मेलन सम्पन्न गरेको थियो ।

माथि उल्लेख गरिएका विभिन्न भेला सम्मेलन बैठक आदी सबैको एउटै लक्ष्य उद्देश्य र निष्कर्ष भनेको विगतमा भएका, हाल भइरहेका र भविष्यमा हुने मानवीय स्वास्थ्य सङ्कटहरू मानव पशुपन्छी र वातावरणबिचबाटै उत्पन्न हुने र यस्तो महामारी मानव चिकित्साबाटमात्र नियन्त्रण गर्न नसकिने भएकोले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यबिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ भन्ने हो ।

मानिसका दैनिक क्रियाकलाप सञ्चालन गर्नदेखि लिएर आफ्नो प्राणको लागि आवश्यक प्राणवायु वातावरणले उपलब्ध गराइरहेको छ । जुन ठाउँमा हामी बसिराखेका छौँ जुन वस्तुले हामीलाई जीवन दिएको छ त्यहीँ वातावरणको हामीले लगातार दोहन गर्दा आज विभिन्न समस्याहरू देखापरेका छन् । पृथ्वीमा हाल हरित गृह ग्यासहरूको वृद्धिले गर्दा पृथ्वीको तापमानमा वृद्धि भएको छ । वैज्ञानिकहरूका अनुसार सन् २१०० भित्रमा पृथ्वीको तापक्रम ३—४ डिग्रीले वृद्धि हुनेछ । हालको १ डिग्रीले वृद्धि हुँदा मात्र थुप्रै किसिमका सङ्क्रमणहरू देखा परिसकेका छन् । उदाहरणको लागि लामखुट्टेलाई लिन सकिन्छ । केही समय अगाडी तराईतिर मात्रै पाइने लामखुट्टे आजभोलि पहाडतिर पनि देखिन थालेका छन् । वातावरणमा हामीले नदेखेका लाखौँ हानिकारक जीवाणु विषाणु कीटाणुहरू सल्बलाईरहेका छन् । मानिसले अहिले वन्यजन्तु तथा चराचुरुङ्गीको मासु खाने आधुनिक प्रवृत्तिले र वन्यजन्तुको अङ्गहरू पैठारी गर्नको लागि वन्यजन्तुको सिकार गर्दा तिनीहरूले शरीरमा बोकी हिँडेका तर रोग नलगाउने रिजरभ्वाएरको रूपमा रहेका जीवाणु विषाणु लगायत अन्य संक्रामक आदिले मानिसमा रोग लगाउन सक्छन् । अर्कोतिर वातावरण जीवजन्तुहरूको इकोसिस्टम खल्वलिएर वातावरण प्रदूषित भई नयाँ जीवाणु विषाणुको उत्पत्ति हुनसक्छ । यसरी स्वस्थ वातावरणविना स्वस्थ मानव जीवनको कल्पना गर्न सकिँदैन ।

पशु स्वास्थ्य र पशु कल्याणको साथसाथै जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई स्वस्थ राख्नको लागी पशु स्वास्थ्यकर्मिहरुको भूमिका अपरिहार्य छ । एक स्वास्थ्य रणनीति अनुसार पशु स्वास्थ्यकर्मिहरुको मुख्य भूमिका पशुपन्छीहरूमा भएका जुनोटिक(पशुपन्छीबाट मानिस र मानिसबाट पशुपन्छीमा सर्न सक्ने) रोगहरूको नियन्त्रण गरी मानिसमा सर्नबाट जोगाउनु हो । विश्व पशु स्वास्थ्य सङ्गठनका अनुसार करिब ६० प्रतिशत पशुपन्छीका संक्रामक रोगहरू मानिसमा सर्दछन् । मानिसमा सर्न सक्ने कम्तीमा ७५ प्रतिशत नयाँ सङ्क्रमणहरू जस्तै : ईवोला, ईन्फ्लुन्जा आदीे पशुपन्छीहरूबाट उत्पत्ति हुने अनुमान गरिएको छ । त्यस्तै मानिसमा प्रत्येक वर्ष देखिने ५ वटा नयाँ रोगहरूमध्ये ३ वटा पशुपन्छीबाट उत्पत्ति हुने अनुमान विश्व पशु स्वास्थ्य सङ्गठनले गरेको छ । नेपालमा मात्रै करिब ६९ वटा रोगहरू जुनोटिक रहेको पाइएको छ । विश्व भरी हाल पशुपन्छीबाट उत्पन्न हुने र मानिसमा सर्ने प्यान्डेमिक ईन्फ्लुन्जा, रेबिज, ब्रुसेलोसिस, रिफ्ट भ्याली फेवर आदि रोगहरू मुख्य रहेका छन् । उपरोक्त तथ्याङ्क अनुसार भन्न सकिन्छ की सबल पशु स्वास्थ्य विना स्वस्थ मानव जीवन कदापि बन्न सक्दैन । भेटेरिनरि जनस्वास्थ्यको उद्देश्य भनेको पनि मानव स्वास्थ्यलाई पशुपन्छीहरूमा लाग्ने रोगहरू सर्नबाट बचाउने हो ।

चीनको वुहान प्रान्तबाट सन २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड १९ केही महिनामै विश्वभरि फैलिएको छ । कोभिड १९ हाल मानिसबाट मानिसमा तीव्र गतिमा फैलिरहेको छ । यसको उत्पत्ति कसरी भयो भन्ने विषयमा आधिकारिक वैज्ञानिक तथ्य सार्वजनिक भएको छैन, तर पनि विषाणु प्रत्यक्ष वा अप्रत्यक्षता पशुपन्छी वा वातावरणबाटै उत्पत्ति भएको हुनसक्छ भन्दा अन्यथा नहोला । हुन त यस्ता सङ्क्रमणहरू विश्वमा बेलाबेलामा नदेखिएका होइनन् । वर्तमान समयमा कोरोना सङ्क्रमण यसको ज्वलन्त उदाहरण बनेको छ । सन् १९१८/१९१९ तिर स्पेनिस फ्लु (पेन्डेमिक इन्फ्लएन्जा एचवान एनवान) विश्वव्यापी महामारीको रूपमा फैलिएको थियो । स्पेनिस फ्लुबाट विश्वको करिब ५० करोड मानिस अर्थात् एक तिहाइ जनसङ्ख्या सङ्क्रमित भएको र ५ करोड मानिसको मृत्यु भएको अनुमान गरिएको थियो । यस्ता महामारीहरू नत पहिलोपटक देखा परेका हुन नत अन्तिम नै हुनेछन् ।

आजको एक्काईसौँ शताब्दीको विश्व परिवेशमा पृथ्वीको तापमान वृद्धि सँगसँगै विभिन्न जीवाणु, विषाणु लगायत अन्य मानिस तथा पशुपन्छीमा रोग लगाउने कारकतत्वहरुको उत्पत्ति भइराखेको छ । आगामी दिनहरूमा यस्ता जीवाणु विषाणु, कीटाणु लगायत अन्य संक्रामक कारक तत्त्वहरूको अझै वृद्धि हुनेछ । बढ्दो पशुपंक्षीपालन, पशुजन्य पदार्थको अव्यवस्थित बजारीकरण, जनसङ्ख्या वृद्धि, तीव्र बसाइसराइ र वातावरणीय विनाश आदिका कारण मानिस लगायत पशुपन्छीमा नयाँ रोगहरू देखिराखेका छन् । विभिन्न समयमा फरक फरक प्रकारका जुनोटिक रोगहरूले विश्व महामारीको रूप लिई रहेको वेला पशु चिकित्साकर्मी र मानव चिकित्साकर्मीहरुले एक अर्कामा समन्वय गर्नुपर्दछ । विश्वका विभिन्न देशहरूमा पशुपन्छी र मानव चिकित्साकर्मीहरु हाल कोरोना महामारीको विरुद्ध एकसाथ लडिरहेका छन् । पशु चिकित्साकर्मीहरुले मानिसमा कोरोना परीक्षणको लागि मानिसका नमुनाहरू परीक्षणमा सहयोग गरिरहेका छन् । साथै पिपिई(पर्सनल प्रोटेक्टीभ ईक्युपमेन्ट) र पशुरोग अन्वेषण प्रयोगशालाहरू उपलब्ध गराएर सहयोग गरिरहेका छन् ।

विश्वका विभिन्न मुलुकहरूमा कोरोनाको खोप विकासमा समेत पशु चिकित्साकर्मीहरुले सहयोग गरिरहेका छन् । वास्तवमा कीटाणु, जीवाणु विषाणु लगायत अन्य संक्रामकहरु मानिसमा र पशुमा लाग्ने एकै किसिमका हुन्छन् मात्र फरक यती हो मानिस र पशुपन्छीलाई असर गर्ने अङ्ग, देखाउने लक्षण र उपचार पद्घती फरक हुनसक्छ । जर्मन विद्वान रुडोल्फ भिर्चोका अनुसार मानव चिकित्सा र पशु चिकित्सामा कुनै पनि भिन्नता छैन । मानव चिकित्सा र पशु चिकित्साको उद्देश्य फरक फरक हुन सक्छ तर अनुभवहरू चिकित्साको माध्यमबाटै प्राप्त हुन्छ, भनेका छन् । तर नेपालमा भने त्यस्तो कुनै प्रकारको समन्वय गरेको देखिँदैन । जनशक्ति र प्रयोगशालाको कमीले हुन गइरहेका नमुना परीक्षणमा ढिलाइ र पिपिईको अभाव केही हदसम्म भए पनि पूर्ति हुने थियो । हाल पशु सेवा विभाग अन्तर्गत रहेका पशु तथा पन्छी रोग अन्वेषण प्रयोगशाला र उपलब्ध जनशक्तिबाट २४ घण्टामा दुई हजार नमुना परीक्षण गर्न सकिने बताइएको छ । अझ अहिलेको विश्वव्यापी विकराल समस्याको रूपमा देखा परेको एन्टीमाईक्रोबायल असिस्टेन्टसँग लड्नको लागी मानव र पशु चिकित्सा कर्मी एक ठाउँमा हुनुको विकल्प छैन ।

पृथ्वीको तापक्रम वृद्धि सँगसँगै वातावरणमा निष्क्रिय रहेका असङ्ख्य रोगका कारक तत्त्वहरू सक्रिय हुँदै गएका छन् । जसको कारणले पशुपन्छी तथा मानव स्वास्थ्यमा बेलाबेलामा नयाँ सङ्क्रमणहरू देखापरिरहेका छन् । नयाँ देखा पर्ने सङ्क्रमण, पुनः देखा पर्ने सङ्क्रमण र जुनोटिक रोगहरूको उत्पत्ति भई मानवीय विपत्ति आउन सक्छ र मानवीय सामाजिक आर्थिक अवस्थामा अकल्पनीय क्षति हुनसक्छ । यस्ता सङ्क्रमणहरूको स्रोत हामीले पालेका पशुपन्छी, वन्यजन्तु र हाम्रो वरपरको वातावरण हो । सर्वश्रेष्ठ विवेकशील मानव प्राणीले अविवेकशिलरुपमा वातावरणको उपयोग गर्दा नयाँ संक्रामक रोगहरूको उत्पत्ति हुने गर्दछ । यसरी देखिने नयाँ सङ्क्रमण तथा रोगहरू मानव चिकित्साबाट मात्र नियन्त्रण गर्न असम्भव छ ।

मानव चिकित्साले मानवबाट रोगहरूको उन्मुलन गर्नु भनेको दूषित पानी आउने धारा र पाइप सफा गर्नु मात्रै हो । दूषित पानी चाहिँ मुहानमा जस्ताको तस्तै रसाइरहन्छ । यसरी नै खोप र औषधि प्रयोगबाट तत्कालीन सङ्क्रमण हटाएपनी वातावरण तथा पशुपन्छीमा सङ्क्रमणका अवशेषहरू रहिरहन्छन् र पुनः रोगको उत्पत्ति हुनसक्छ । त्यसैले मानव वातावरण र पशुपन्छी बिचको अन्तर सम्बन्धलाई बलियो रूपमा स्वस्थ राख्नुपर्दछ । मानव वातावरण र पशुपन्छी लगायत अन्य सम्बन्धित पक्षहरूसँग सहकार्य गरी एक सर्वोत्कृष्ट छुट्टै संस्थाको स्थापना गर्नुपर्दछ । यसरी गठित संस्थामा मानव, वातावरण, वनस्पति र पशुपन्छी लगायत अन्य सम्बन्धित विधाका विज्ञ जनशक्तिहरूको व्यवस्था गरी प्रभावकारीरुपमा अगाडि बढ्नुपर्दछ । यसरी मानव, पशुपन्छी र वातावरण बिचको त्रिपक्षीय गठबन्धनबाट स्वस्थ, स्वच्छ, सुन्दर र विकसित संसारको परिकल्पना गर्न सकिन्छ ।

अम्बर रावत नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, बुटवल ।

Tags :
प्रतिक्रिया दिनुहोस