प्रजातन्त्र देखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म : शाब्दिक झेल वा बुझ्न नसकिएको खेल ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रजातन्त्र देखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म : शाब्दिक झेल वा बुझ्न नसकिएको खेल !


१५ जेष्ठ २०७७, बिहिबार


नेपाली बोलीचालीमा सबैभन्दा बढी प्रयोग भएको वा सम्प्रेषण गरिएको मध्येकै शब्द हुनुपर्छ, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र । विक्रम संवत् २००७ देखि २०७७ सालसम्म आउँदा विभिन्न राजनैतिक उतारचढावसँगै यी शब्दहरूको काँचुली क्रमशः फेरिँदै आएको पाइन्छ । यो प्रक्रिया, शब्दहरूको निरन्तर स्वरूप परिवर्तन मात्र हो वा साँच्चै ? सफल राजनैतिक अवधारणाहरू हुन् ? के यी शब्दहरूले एकै अर्थ बोक्छन् वा केही तात्त्विक भिन्नताहरू रहेका छन् ? धेरैको लागि चासोको विषय बनेको छ, यो ।

सबैभन्दा पहिले, अङ्ग्रेजी शब्द डेमोक्रेसीलाई नै हेरौँ ।

  • यसको परिभाषामा ‘सिस्टम अफ गभरमेन्ट इन ह्वीच सिटिजन्स इलिट रिप्रिजेन्टेटिभ टु फोर्म गभर्निङ बोडी’ भनी यसलाई एक शासकीय पद्धतिको रूपमा चिनाइएको छ ।
  • डेमो र क्रेटिया दुई ग्रीक शब्दको संयोजनबाट बनेको डेमोक्रेसी शब्दले सिधा अर्थमा जनताले रोजेको शासन पद्धतिलाई जनाउने गर्दछ । यसका साथै बहुमतको शासन हुने गरी जनताले प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिनिधि मार्फत शासनमा नियन्त्रण गर्ने व्यापक प्रणालीको रूपमा समेत यसलाई अर्थ दिइएको पाइन्छ ।
  • डेमोक्रेसीको प्रारम्भिक अभ्यास प्राचीन ग्रीसको एथेन्स नगरमा भएको वर्णन प्लेटोको पुस्तक ‘द रिपब्लिक’ र अरस्तुको ‘पोलिटीक्स’ मा पाइन्छ । त्यो वेला नागरिकहरू प्रत्यक्ष रूपमा कानुन निर्माण र अन्य निर्णयमा भाग लिने साथै राज्यले कानुनी व्यवस्था कायम गरी मानिसको आवश्यकता पूर्ति गर्ने उल्लेख छ । त्यही नै आदर्श राज्य हो भन्ने दाबी समेत लिइएको पाइन्छ।
  • यसरी उत्पत्ति कालदेखि नै डेमोक्रेसीलाई आदर्श राजनैतिक मूल्यको रूपमा हेरिएको देखिन्छ । अव्राहम लिङ्कनको भनाई सम्म आइपुग्दा विश्व राजनीतिमा डेमोक्रेसीको अर्थ, अवधारणा र अभ्यासले पूर्णता पाइसकेको अवस्था छ ।
  • नेपालमा भने यस मूल्यलाई विभिन्न समयमा विभिन्न नाम दिँदै परिवर्तनशील बनाउने काम भएको देखिन्छ, प्रजातन्त्रदेखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म । यो यात्रामा स्पष्ट देखिने भनेको नेपालमा राजसंस्थाको सट्टामा राष्ट्रपतीय पद्धति र सङ्घीयताको स्थापना नै हो ।
  • यसबाट हेर्दा प्रजातन्त्र र लोकतन्त्र जे भने पनि त्यो डेमोक्रेसी नै हो र यसको सारभूत अर्थ वा उद्देश्य पनि एउटै हो कि नागरिक स्तरबाट नै शासन संयन्त्र खडा गर्ने ।
  • तर प्रजातन्त्रमा राजा सहितको शासन रहने र राजाका उत्तराधिकारी राजपरिवारबाटै बशांणुगत अधिकारको रूपमा आउने गरी राजा र प्रजाबिचको सिमाना कोरिएको देखिन्छ भने लोकतन्त्रमा त्यस्तो कुनै सीमा नहुने र जो कोही जनताको छोरा वा छोरी निर्वाचन मार्फत शासनको लागि योग्य हुन सक्दछन् ।

अव गणतन्त्र(रिपब्लिक)तर्फ हेर्दा

  • रिपब्लिकलाई परिभाषा गर्ने क्रममा ‘अ स्टेट इन ह्वीच पावर इज हेल्ड बाई पिपुल एन्ड देअर रिप्रिजेन्टेटिभ…ह्याज अ प्रेसिडेन्ट र्यादर अ किङ अर क्विन’ भनी स्पष्ट रूपमा राजा वा रानी बाहेकमा राज्य शक्ति रहने राज्यको रूप भनी किटानी गरिएको छ ।
  • रेस र पब्लिक शब्दहरू मिलेर रिपब्लिक बनेको र यसले ‘पब्लिक थिंङ’ वा ‘पब्लिक म्याटर’ को अर्थ बोकेको पाइन्छ ।
  • प्लेटोले तत्कालीन शासनका विकृतिहरू निर्मूल गर्नका लागि दार्शनिक शासक, श्रमको विभाजन, सहकार्य र सामूहिक हितको बढोत्तरी, महिला र वालवालिकको उत्थान तथा सक्षम कानुन र प्रशासनको निर्माणको लागि रिपब्लिक नामक शासकीय अवधारणा ल्याएको पाइन्छ ।
  • प्लोटोको यस अवधारणालाई साम्यवादी(कम्युनिजम) धारको सुरुवातको रूपमा लिइन्छ । उनले सीमान्तकृत समुदायको पक्षपोषण र शासकहरू सम्पत्ति वा द्रव्यविहीन दार्शनिक हुनुपर्ने मान्यताले समान हैसियत(गण) का शासक, प्रशासकबाट मात्र आदर्श राज्य स्थापना हुने तर्क लिएको पाइन्छ । यही धारणा नै अन्ततः गणतान्त्रिक(रिपब्लिक) शासनको आधार बनेको देखिन्छ ।
  • रिपब्लिक अवधारणाको सफल अभ्यास अमेरिकी संविधानबाट सुरु भयो र त्यहाँ बेलायती संसदीय शासन पद्धति भन्दा फरक र विपरीत हुने गरी यसलाई लागू गरियो ।
  • यसरी अर्थ, अवधारणा र अभ्यासको क्रमलाई हेर्दा (रिपब्लिक)भनेको राजा वा रानीविहीन राज्य हो र यसमा जनताबाट प्रत्यक्ष चुनिएको व्यक्ति मुलुकको अध्यक्ष बनी राज्यको बागडोर सम्हाल्छन् ।
  • उल्लिखित सन्दर्भहरूबाट राज्य शक्ति कसमा रहने र सो को स्रोत को हुने ? भन्ने प्रश्नको वरिपरि नै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र घुमेको देखिन्छ । पहिलोमा राजा रहने र अन्तिमको मा राष्ट्राध्यक्ष रहने तथा यी दुवै अवस्थामा जनताको हैसियत र नियन्त्रण कायम गर्ने पद्धति भनेको चाही लोकतन्त्र नै देखियो ।
  • यद्यपि प्रजातन्त्र मात्रैमा लोकतन्त्र नफस्टाउने र गणतन्त्र हुँदैमा लोकतन्त्रले आकाश छुने भनी अनुमान गर्न मिल्दैन । यसमा शासक, प्रशासक र नागरिकले खेल्ने भूमिका र निर्वाह गर्ने आचरणलाई परीक्षणको कसीमा राखेर हर्नुपर्ने हुन्छ ।
  • जुनसुकै तन्त्र भनिएता पनि जनप्रतिनिधिहरुले के कसरी आफ्नो दायित्व पुरा गरिरहेका छन् ? उनीहरूले बनाएका कानुन र गरेका नीति, निर्णयले खास व्यक्ति वा स्वार्थ समूहलाई मात्र नाफा दिन्छ कि समग्र समाज, देशवासी र राष्ट्रको हित गर्छ भन्ने कुरो नै लोकतन्त्रको चुरो हो ।
  • यसले जनप्रतिनिधिहरूको वकिल प्रतिनिधित्व(सीमित) र उदार प्रतिनिधित्व(फराकिलो) को फरकलाई दर्साउँदछ । देशको स्वाधीनता, अखण्डता र सीमा सुरक्षाका देखि लिएर नागरिकको बृहत् मानवीय सुरक्षाको पाटोलाई कति मजबुत बनाउन सकियो ? संविधानमा ढुङ्गाको अक्षर भनी लेखिएका नागरिकका मौलिक हकका विषयहरू एक छाक खाना र एक खुराक औषधीको अभावसँगै टुक्रा टुक्रा त भएका छैनन् ? यी गम्भीर प्रश्नहरू धेरैको लागि सस्तो भएता पनि गणतन्त्रको लागि भने महङो बन्न सक्छ ।
  • अनि, लोकतन्त्रले नागरिकको उचाइलाई सर्वोपरि ठान्छ । चुनावको वेला त्यो सार्वभौमले बेजोडको मान पाउँछ । अनि, त्यसपछि ती मतदाताहरूको लागि सम्मान, समृदि, सुख र सम्भावनाको कति वटा ढोका खोलिन्छन् ? कि कतै अनकन्टारमा ती अलपत्र छोडिन्छन्… चाबी अरूतिरै भएको नाउँमा ? गारो, सारो, अप्ठ्यारोमा जनताको नजिकै बसेर सरकार के गर्दै छ भन्ने प्रश्नमा लोकतन्त्रले नै उत्तर दिनुपर्नेछ ।
  • अतः यिनै चुनौतीका चाङसँगै हाम्रो लोकतान्त्रिक यात्रा जारी छ । यहाँ नागरिक अपेक्षा र आवश्यकताले आकाश छोएको र छुवाइएको छ । जति धेरै अपेक्षाको उचाइ हुन्छ सो पुरा नभए त्यति नै गहिराईँको निराशा स्वाभाविक हो नै । तर नेपाली जनताको अपेक्षा सिधा छ, सम्मानपूर्ण जीवन जिउन, गरी खान पाउने वातावरणको निर्माण । र यो कुनै शब्दको खेल वा राजनैतिक झेलबाट आउने नभई शासक, प्रशासकको कथनी र करनीको मेलले मात्र सम्भव देखिन्छ ।

सुसंस्कृत नागरिक चेत सहितको उन्नत गणतन्त्रको सबैमा शुभकामना

Tags :
प्रतिक्रिया दिनुहोस