चौरजहारी घटना : बेपत्ताको खोजी गर्न गोताखोरको टोली परिचालन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चौरजहारी घटना : बेपत्ताको खोजी गर्न गोताखोरको टोली परिचालन


१४ जेष्ठ २०७७, बुधबार


जाजरकोट । रुकुमको चौरजहारी घटनामा बेपत्ताको खोजी गर्न भेरी नदीमा गोताखोरको टोली परिचालन गरिएको छ ।

अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो ।

घटना भएको ५ दिनसम्म पनि बेपत्ताहरुको कुनै पत्तो नलागेका कारण भेरी नदीमै डुबेको आशंकामा गोताखोरको टोली परिचालन गरिएको छ । खोजीमा सशस्त्र प्रहरीको शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोरको टोली परिचालन गराइएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख डिएएसपी यज्ञ बस्नेतले बताए ।

डिएसपी बस्नेतका अनुसार पानीमा डुबेर खोज्न मिल्ने अक्सिजन सहितको पाँच जनाको टोली शमशेरगञ्जबाट झिकाइएको र केही जिल्लाका तालिम प्राप्त जनशक्ति गरि दर्जन बढी शसस्त्र प्रहरीलाई बेपत्ताको खोजीमा बुधवार विहानै देखि भेरीमा परिचालन गरिएको छ ।

जाजरकोटका पव्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुले हराइरहेकाको निरन्तर खोजी गरेर पनि भेटाउन नसकेपछि गोताखोरको टोली बोलाइएको हो।

तीनजनाको शव फेला परिसकेको र तीन जना बेपत्ता रहेका छन् । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

पीडित परिवारले वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता गराइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस