बाँकेका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाँकेका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण


११ जेष्ठ २०७७, आइतबार


राँझा । बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टिनमा आज पिसिआर परीक्षणको तयारी भएको छ ।

खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका खजुरा –५ का एक युवकमा सङ्क्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा सङ्क्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । नरैनापुरमा शनिबार कोरोना सङ्क्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रहरी चौकी कालाफाँटा बन्द
कोहलपुर– प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको छ ।

बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय एक जनालाई कोरोना सङ्क्रमण देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिए। कालाफाँटा प्रहरीचौकीमा नौ जना कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस