तीन हजार श्ययाको क्वारेन्टिन बनाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन हजार श्ययाको क्वारेन्टिन बनाइने


१० जेष्ठ २०७७, शनिबार


बैतडी । बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने भएका छन् । भारतमा रहेका यहाँका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या बढाउने निर्णय भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारत तथा सीमापारीका नेपालीको पालिकास्तरीय तथ्याङ्क सङ्कलनसमेत गरिने भएको छ ।

जिल्लामा हाल एक हजार ९०५ श्यया (बेड)का क्वारेन्टिन र ३२ आइसोलेसनकक्ष छन् । एक स्थानीय तहमा कम्तीमा पाँच श्ययाको आइसोलेशन र जिल्लाभरी कम्तीमा क्वारेन्टिन तीन हजार श्ययाको पुर्‍याइने निर्णय भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले खटाएका तीन चिकित्सकको समयावधि सकिएर फर्किसकेकाले कोरोनाको बढ्दो अवस्थालाई मध्यनजर गरी सम्बन्धित निकायलाई पुनः खटाउन अनुरोध गर्नेसमेत निर्णय भएको उनले बताए ।

बैतडीका क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलनका लागि गएका पत्रकारको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहजीरकण गर्दै शव परीक्षण गर्नुपर्ने वा कोरोना प्रभावित बिरामीको ओसारपसारमा सहजता प्रदान गर्न वा कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न आवश्यक सवारी साधन परिचालन र व्यवस्थापनको जिम्मा जिल्ला समन्वय समितिलाई दिने निर्णय पनि भएको छ ।

सङ्क्रमित सिसीटिभीको निगरानीमा
कोरोना सङ्क्रमितलाई सिसीटिभीको प्रत्यक्ष निगरानीमा राखिएको छ । जिल्ला अस्पतालको आइसोलेसनकक्षमा उपचाररत सङ्क्रमितलाई सिसीटिभीको निगरानीमा राखिएको हो । जिल्लाको शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय ती युवकलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनी प्रहरी कार्यालयको हिरासतमा थिए । कोरोना पुष्टि भएपछि ती युवकलाई सुरक्षाको दृष्टिकोण र निर्देटिकाअनुसार सिसीटिभीको निगरानीमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए ।

सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा जान नसकिने भएकाले उनको स्वास्थ्यमा कुनै थप समस्या भए/नभएको पनि सिसीटिभीबाट हेर्न सहज हुने उहाँले बताउनुभयो । यसका साथै सङ्क्रमितलाई टेलिफोन सेवा पनि उपलब्ध गराइएको छ । स्वास्थ्यमा सामस्याका साथै कुनै काम परेपछि चिकित्सकसँग सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

युवती हत्याको आरोपमा गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका ती युवक चैत ६ गते भारतको दिल्लीबाट आएको खुल्न आएको छ । चार दिन अगाडि स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा ती युवकमा पिसीआर पोजेटिभ देखिएको हो । सङ्क्रमित युवकको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसैबीच जिल्ला अस्पताल बैतडीको आइसोलेसनकक्षमा हाल तीन जना भर्ना रहेका छन् । सङ्क्रमित युवक, युवककी १९ वर्षीया बहिनी र दोगडाकेदार गाउँपालिका–१ का २५ वर्षीय युवकलाई आइसोलेसनमा भर्ना गरिएको हो । सङ्क्रमित युवकसँगै थुनामा रहेकी युवककी बहिनीको पनि थ्रोट स्वाब सङ्कलन गरी भर्ना गरिएको डा जोशीले जानकारी दिए । शिवनाथ गाउँपालिका–४ की १९ वर्षीया गीता महरको मृत्यु प्रकरणमा दुवै पक्राउ परेका थिए ।

आइसोलेसन भर्ना भएका अर्का युवक एक हप्ता अगाडि सिन्धुपाल्चोकबाट घर आएका र बान्ता हुने, रिङ्गटा लाग्ने समस्या आएपछि आइसोलेसन भर्ना गरिएको थियो । दुवै जनाको स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको भए पनि रिपोर्ट आउन बाँकी छ ।

जिप्रका सिल
बैतडीमा थुनामा रहेका एक युवकमा कोरोना सङ्क्रमण भेटिएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेका प्रहरी र अन्यको स्वाब सङ्कलन गरिने भएको छ । प्रहरी हिरासतमा रहेका युवकमा कोरोना पोजेटिभ देखिएपछि शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाइने डा जोशीले जानकारी दिए ।

कन्टयाक्ट ट्रेसिङको काम भइरहेको र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब सङ्कलन गरिने उनले बताए । पहिलो चरणमा सङ्क्रमित युवकसँग बढी सम्पर्कमा रहेका व्यक्तिको थ्रोट स्वाब सङ्कलनको तयारी भएको हो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी, सङ्क्रमित युवकको घरका मानिस र अन्य सम्पर्कमा आएका व्यक्तिको पहिलो चरणमा स्वाब सङ्कलन गरिनेछ । उनीहरुको स्वाब परीक्षणका लागि धनगढी पठाइने डा जोशीले बताए । जिल्लामा पहिलो सङ्क्रमित भेटिएपछि कोरोनाको त्रास पनि बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस