एकल महिला र अपाङ्गता भएकाहरूको भत्ता नरोक्न संसदीय समितिको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकल महिला र अपाङ्गता भएकाहरूको भत्ता नरोक्न संसदीय समितिको निर्देशन


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । संसदीय समितिले ६० वर्षमुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ ।

महिला तथा सामाजिक समितिको शुक्रवारको बैठकले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका ६० वर्ष भन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा बापतको भत्ता नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति निरुदेवी पालले सरकारले सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा यसअघि गर्दै आएका कामहरूको विवरण समितिमा उपलब्ध गराउन र उपलब्ध गराउँदै आएको सुविधालाई निरन्तरता दिन निर्देशन दिइएको बताइन् ।

‘नेपालको संविधान बमोजिम आर्थिक रूपले विपन्न अशक्त र असहाय अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका फरक रूपले सबल, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकहरूको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने, सामाजिक सुरक्षा सम्बन्धी कानुनहरू र प्रचलित व्यवहार बिच भिन्नता देखिएको कारण लाभग्राहीहरूलाई समस्या देखिएको भनी सम्बन्धित पक्षहरूबाट यस समितिमा गुनासोहरू प्राप्त भएकोले सो सम्बन्धमा भए गरेका कामहरूको विस्तृत विवरण यथाशीघ्र यस समितिलाई उपलब्ध गराउन, तथा महामारीको परिवेशमा उपलब्ध गराउँदै आएको सुविधालाई निरन्तरता दिन आवश्यक रहने देखिएकोले प्रचलित सामाजिक सुरक्षा भत्ता हाललाई यथावत् राख्न समिति नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।’समितिको निर्णयमा भनिएको छ ।

बैठकमा सांसदहरूले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्तिहरूलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्न लागिएको भन्दै विरोध गरेका थिए । ६० वर्ष भन्दा कम उमेरका एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता सरकारले रोकेको भन्दै उक्त कदमलाई समितिले रोक्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस