बिम्बिका « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बिम्बिका


भागवत खनाल

८ जेष्ठ २०७७, बिहिबार


आज शार्दूलशिला देशको राजधानी चक्रशिलामा देशभरिका किशोरहरुको नामकरण समारोह चलिरहेको छ I यहाँ हरेक वर्ष फाल्गुन शुक्ल पूर्णिमाका दिन सोह्रवर्ष पुगेका किशोरहरुको नामकरण गर्ने परम्परा छ I पन्जिकाधिकारी मृगशिराको हातमा रुखको बोक्राबाट बनेको एउटा ठूलो रजिस्टर छ I नामकरणका लागि पङ्तिबद्ध किशोरहरु सानोसानो समूह बनाएर प्रतीक्षा गरिरहेका छन् I प्रत्येक समूहमा सम्वन्धित कुलभित्र पालितपोषित किशोरहरु छन I
पन्जिकाधिकारी मृगशिराले पङ्क्तिमा उभिएको पहिलो किशोरलाई आफूतिर आउने सङ्केत गरिन I किशोर उनको अगाडि आएर मर्यादासाथ उभियो I

मृगशिरा – ‘तिम्रो कुल कुन हो ?’

किशोर -’म चामुण्डा कुलको हुँ देवी !’

मृगशिराले किशोरको शरीर , हातखुट्टा , अनुहार सबै नियालेर हेरिन् I केटो गोरो वर्णको सुन्दर थियो I

मृगशिरा – ’आजदेखी तिम्रो नाम सुन्दरानन भयो I’ केटो मुसुक्क हाँस्दै अगाडि बढ्यो I सहायक पन्जिकाधिकारी चन्द्रप्रभाले काठको सानो बोक्रामा ‘सुन्दरानन : चामुण्डा कुल’ लेखेर सो बोक्रोलाई केटाको घाँटीमा पहिराइदिइन् I किशोरहरु बडो अनुशासित ढङ्गले अगाडि बढ्दै गए र आफ्नो शारीरिक अवस्थाको आधारमा कालवर्ण , कटाक्ष , सुर्पनख , सुन्दराक्ष , धुम्राक्ष , दीर्घबाहु , भग्नपाद , भग्नाक्ष , लम्बकर्ण आदि नाम पाउँदै गए I

एउटा केटो मृगशिराको अगाडि आएर उभियो I उनले केटाको भौतिक अस्तित्वको सूक्ष्म निरीक्षण गरिन् I सानै उमेरमा भालुले चिथोरेर विरूप पारेको हुँदा ऊ बडो असुन्दर देखिन्थ्यो I शार्दूलशिलामा पुरुष जातिले दर्पण हेर्न नपाउने नियम रहेको हुँदा केटोलाई आफ्नो अनुहार कस्तो छ भन्ने थाहा थिएन I

मृगशिरा – ‘तिम्रो नाम आहतकाय भयो I’ तर केटो अगाडि नबढी चुपचाप उभिइरह्यो I आफूलाई प्रदान गरिएको नाम मन नपरेमा नामित किशोरले अर्को नाम माग्न पाउने नियम रहेको हुँदा ऊ वैकल्पिक नाम पाउनका लागि खडा भइरह्यो I मृगशिराले उसलाई फेरि राम्ररी हेरिन् I उसको नाक आधा मात्र थियो I

मृगशिरा – ‘ठीक छ भाग्यवान ! तिम्रो नाम भग्ननासिक भयो I’ आआफ्नो अवस्था अनुरुप वक्रपाद , बिडालाक्ष , सुर्पकर्ण , जीर्णकाय , हिरण्याक्ष , बामन , अघोरगन्ध , भीमकाय , सुबल , निर्बल आदि नाम पाई परिचययुक्त माला पहिरेर केटाहरु आफ्नो कुलतर्फ फर्के I

चैत्र कृष्ण अष्टमीको दिन I राजधानी चक्रशिलाको महाविद्यालयमा विभिन्न विषयमा स्नातक उत्तीर्ण गरेका युवतीहरुका लागि दीक्षान्त समारोह चलिरहेको थियो I शार्दूलशिला गणराज्यकी राज्यप्रमुख चन्द्रघण्टा मुख्य अतिथिको रुपमा समुपस्थित थिइन् I यसवर्ष स्नातक गरेका एक सय सन्ताउन्न युवतीहरुलाई उनी एकएक प्रश्न गर्दै थिइन् I उनले एकजना युवतीलाई सोधिन – ’बिम्बिका ! तिम्रा लागि सबैभन्दा ठूलो सौभाग्य के हो ?’ बिम्बिकाले शिर ठाडो पारेर उत्तर दिई

-’महादेवी ! मेरो सबैभन्दा ठूलो सौभाग्य शार्दूलशिलामा जन्मनु हो I’ बिम्बिकाले सही उत्तर दिएको हुँदा ऊ पूर्ण स्नातक भई I अर्की युवती कृतिकालाई चन्द्रघण्टाले सोधिन ‘कृतिका ! तिम्रो ठूलो दुर्भाग्य के हो ?’ कृतिकाको उत्तर थियो

-’महादेवी ! मेरो लागि सबैभन्दा ठूलो दुर्भाग्य हो हामीले दुष्ट छिमेकी देश ब्याघ्रशिलालाई पूर्णरुपमा वसमा पार्न नसक्नु I’

चन्द्रघण्टा – अश्लेषा ! पुरुषहरु किन शिक्षादीक्षा पाउन अयोग्य हुन्छन ?

अश्लेषा – महादेवी ! पुरुषहरु मन्दबुद्धि हुन्छन I उनीहरु कायर र पलायनवादी हुन्छन I उनीहरुमा सत् र असत् छुट्याउने विवेक हुँदैन I त्यसैले उनीहरुमा बौद्धिक ज्ञानको पात्रता हुँदैन I उनीहरुमा युद्धकौशल नहुने हुँदा युद्धमा खटाउन योग्य हुँदैनन I पुरुषहरु शारीरिक रुपमा बलिष्ठ हुनेहुँदा खेत खनजोत गर्न , पशु स्याहार्न , घाँसदाउरा , वस्त्रकला , सरसफाइ र निर्माण आदिको काम गर्न मात्र योग्य छन् I’

चन्द्रघण्टा – तितीक्षा ! ताडनाका अधिकारी को हुन् ? कसको विश्वास नगर्नु ?

तितीक्षा – महादेवी ! – पुरुष जाति , पशु र सर्प ताडनाका अधिकारी हुन् I यी तीन प्राणी , बालिका , अति वृद्ध नारी एवं विदेशी नागरिकहरुको विश्वास गर्नु हुँदैन I

चन्द्रघण्टा – मुमुक्षा ! ल भन त , हाम्रो देशमा कतिओटा कुल छन् र तिनको नाम के हो ?

मुमुक्षा – महादेवी ! शार्दूलशिलामा जम्मा एघार कुल छन् I ती हुन् – अम्बा , अम्बालिका , अनुराधा , कात्यायनी , कुष्माण्डा , विशाखा , रोहिणी , प्रसिद्धा , आक्रान्ता र भद्रिका I

चन्द्रघण्टा – चर्चिका ! पुरुष जातिको नामकरण संस्कार गर्नु पर्दैन I किन ?

चर्चिका – महादेवी ! पुरुष जातिले युद्धमा काम गर्नु पर्दैन , शिक्षण प्रशिक्षण आदिको काम गर्नु पर्दैन , उनीहरुलाई कुनै सार्वजनिक पदमा रहेर काम गर्ने अधिकार छैन , उनीहरु मतदानमा सहभागी हुन योग्य हुँदैनन् I अतः उनीहरुको नामकरण संस्कारको आवश्यकता पर्दैन I सोह्र वर्षको उमेर पूरा गरेपछि उनीहरुलाई शारीरिक विशेषता अनुरुप चिनारीका लागि मात्र नाम दिइन्छ I उनीहरुलाई परिचयको आवश्यकता नै पर्दैन I’

शार्दूलशिलाको जनसंख्या बाह्र हजार थियो I यो देशमा घना बस्तीहरु थिए I खेतीयोग्य जमिनमा घर बनाउन प्रतिबन्ध थियो I खेतमा कामगर्ने पुरुषहरुका लागि ससाना छाप्रा बनाइएको थियो I उनीहरुका लागि खानपानको अत्यन्त उचित प्रबन्ध थियो I खेतमा भइरहेको कामको अनुगमन गर्न एउटा छुट्टै अनुगमन टोली थियो I खेतको बगलमै पशुपालनका लागि व्यवस्थित प्रवन्ध थियो I गोठालाहरुका लागि राम्रो खानपिन र बसोबासको व्यवस्था थियो I उच्चस्तरीय बैठकहरुमा देशको शासन व्यवस्थाबारे निकै तर्कवितर्क गर्ने चलन थियो I हरेक निर्णयहरु निर्वाचित प्रतिनिधिको व्यापक छलफलबाट गरिन्थ्यो I विदेशी आक्रमणकारीबाट सुरक्षा राज्यको प्रमुख दायित्व मानिन्थ्यो I ब्याघ्रशिला , जाम्बुशिला, काकशिला, उलुकशिला, हिरण्यशिला, कपोतशिला, मत्स्यशिला आदि छिमेकी देशहरु प्रायः आपसमा लडिरहन्थे I शार्दूलशिलाको सबैभन्दा नजिकको देश ब्याघ्रशिला थियो र प्रमुख शत्रु पनि I समाजमा अनुशासन कायम गर्न र आत्मनिर्भर अर्थतन्त्रको स्थापना गर्न नसक्ने सरकारले आफै राजीनामा दिने परम्परा थियो I

त्यस बखतका राज्यहरूबीच युद्ध हुने मुख्य कारण लुटपाट थियो I एक राज्यले अर्को राज्यका स्वस्थ किशोरकिशोरी र पशु लुटेर लैजाने प्रयत्न गर्दथे I विशेष गरेर खेती र गोठमा आवश्यक पर्ने जनशक्ति कम हुने हुँदा केटाहरुलाई अपहरण गरेर लैजाने परम्परा थियो I हिमांशुनाभवर्षमा रहेका यी ससाना राज्यहरुको भाषा , पोशाक , संस्कृति र खानपान उस्तै थियो I साल्मलीनाभ , बक्रनाभ , चित्रनाभ र बीभत्सनाभवर्ष नाम गरेका महादेश अन्तर्गत रहेका राज्यहरुसङ्ग हिमांशुनाभवर्षका राज्यहरुको सम्पर्क थिएन I शार्दूलशिलामा रहेका एघार कुलको एकाउन्न पुस्ता अघिसम्मको लिखित इतिहास थियो I छोरीका लागि मात्र स्थापना भएका विद्यालयहरुमा इतिहास , भूगोल , औषधविज्ञान , युद्धकला , आन्तरिक सुरक्षा र गणित आदि विषयको पढाइ हुन्थ्यो I

केटाहरुलाई अक्षर चिनाउने र इतिहास , भूगोल , युद्धकला , आदि विषयको शिक्षा दिने परम्परा थिएन I उनीहरुलाई सात वर्षको उमेरसम्म राम्रोसङ्ग पालनपोषण गरेर हुर्काइन्थ्यो I ‘पुरुषको बल र नारीको बुद्धि’ राज्यको मूल नीति थियो I सातवर्ष पुगेपछि केटाहरुलाई सिधै व्यावहारिक शिक्षा दिइन्थ्यो I केटाहरुको निपुणता र चाखका आधारमा सोह्रवर्ष पुगेपछि स्थायी रुपमा खेतीपाती , पशुपालन , काठको काम , निर्माण , पाकशाला , वस्त्रनिर्माण र सरसफाइ जस्ता कार्यहरुमा नियुक्त गरिन्थ्यो I

हिमांशुनाभवर्षका कुनै पनि राज्यमा विवाहको परम्परा थिएन I सबै कुलहरू नारीको नामबाट चल्दथे I थर गोत्र आदि भनेको नै कुलको परिचय थियो I विवाहको परम्परा नभएको हुँदा शिशुको परिचय आमाको नामबाट हुन्थ्यो I पुरुषको परिचय नहुने हुँदा हरेक सार्वजनिक अभिलेखहरुमा नारीकै नाम हुन्थ्यो I चिरकालदेखि स्थापित संस्कृतिले गर्दा नारीको सोचाइमा पुरुष भनेका उपभोग्य वस्तु र निम्न श्रेणीका सेवकहरु (चेट) मात्र थिए I पुरुषको प्रयोग गर्दा गरिने प्रेम तत्कालीन र तदर्थ हुनुपर्दछ भन्ने कुरामा सबैको एकमत थियो I जुनसुकै नारीले जुनसुकै पुरुषलाई एक रातका लागि बोलाउन सक्दथे , तर एउटै पुरुषलाई लगातार र सूर्यास्तअघि बोलाउने अधिकार थिएन I नारीले बोलाएपछि खुरुक्क जानु पुरुषको कर्तव्य हुन्थ्यो I नारीले पुरुषलाई उपभोग गर्ने पद्धतिसम्बन्धी कडा कानून थियो I कुनै नारीले कुनै पुरुषलाई सूर्योदय अघि भेट गरेको या लगातार एकदिनभन्दा बढी बोलाएको पत्ता लागेमा त्यस्ती नारीलाई दुई वर्षका लागि पुरुषभोग गर्नबाट बन्चित गरिन्थ्यो I शार्दूलशिलामा यी नियमहरुको उल्लङ्घन करिबकरिब दुर्लभ थियो I

बिम्बिका भद्रिका कुलकी युवती हो I ऊ शार्दूलशिला देशकी सबैभन्दा प्रतिभाशाली युवती थिई I ऊ अत्यन्तै रुपवती पनि थिई I बिम्बिकाकी आमा रुद्रिका पनि सुन्दर र मेधावी थिइन् I उनले भनेकी थिइन् , ‘मेरी प्यारी पुत्री बिम्बिका ! अव तिमी वयस्क भयौ I यो समयमा धेरै इच्छाहरु जाग्दछन I कामवासनाले ग्रस्त पार्ने समय पनि यही हो I शार्दूलशिलाका विभिन्न कुलमा अत्यन्त सुन्दर र बलिष्ठ युवक र किशोरहरु छन् I तिमीले आफूलाई मन परेको युवक या किशोरलाई बोलाउन सक्छ्यौ I पहिलो पल्टलाई कसैले नबोलाएको किशोरलाई बोलाउनु I हामी नारी जाति कुनै पुरुषप्रति आसक्त हुनु हुँदैन I साल्मलीनाभ भन्ने महादेशमा एक नारी एक पुरुषको परम्परा कायम हुन जाँदा त्यहाँको राज्यशक्ति पुरुषले कब्जा गरेका छन् रे I त्यस महादेशका राज्यहरुमा नारीलाई शिक्षा दिंदैनन् रे I युद्धमा सहभागी हुन दिंदैनन् रे I नारीको काम भनेको गृहकार्य गर्नु र शिशु जन्माउनुमा सीमित छ रे I त्यहाँ पुरुषको नामबाट कुल परम्परा कायम गरेका छन् रे I म त त्यो कुरा सुन्दै भयभीत भएकी थिएँ I कल्पना गर त बिम्बिका ! पुरुषको स्वामित्वमा चलेको राज्यमा कति अव्यवस्था होला ? एउटा पुरुषप्रति समर्पित हुन वाध्य पारिएकी नारीको स्थिति कति दयनीय होला ?’

रुद्रिकाले भनिरहिन ,’म अनुराधा कुलको एउटा केटोसङ्ग आसक्त भएकी थिएँ I गौरानन नाम गरेको त्यो युवक मलाई साह्रै मन पर्यो I उसको तदर्थ माया गर्ने तरिकाले मलाई यति आकर्षित गर्यो कि मैले उसलाई दोस्रो दिन पनि बोलाएँ I ऊ डराइडराई आयो र अलौकिक तदर्थ माया गरेर गयो I सौभाग्यवस कसैले थाहा पाएनछ I मैले उसलाई तेस्रो दिन पनि बोलाएँ I ऊ लुक्दै छिप्दै मेरो कुन्जमा आउंदै रहेछ , तर गुप्तचरको फेला परेछ I उसलाई अनुशासन अधिकारीले सोधिछ ‘हे सीमोल्लङ्घक युवक ! तिमीलाई निमन्त्रणा प्राप्त भएको हो कि स्वेच्छाले जाँदै छौ ?’ ऊ पनि मप्रति आसक्त रहेछ I आसक्तिले तदर्थ मायालाई स्थायी मायामा रुपान्तर गर्दो रहेछ I त्यही मायाले गर्दा उसले स्वेच्छाले जान लागेको बयान दिएछ I मलाई त कुनै दण्ड मिलेन , किन्तु गौराननले दुई वर्षको सश्रम एकान्तवासको शासना पायो I मलाई आजसम्म पनि त्यस कुराको पश्चात्ताप छ I किन्तु न म ऊसङ्ग क्षमा माग्न सक्छु न त यो कुरा कसैलाई भन्न मिल्छ I त्यो मेरो अत्यन्तै प्रज्ञाहीन, असामाजिक र स्वेच्छाचारी कृत्य थियो I पुरुषसङ्गको समागम तदर्थ माया मात्र हो बिम्बिका ! तदर्थ मायालाई कदापि आसक्तिमा रुपान्तर गरी स्थायी मायामा परिवर्तन गर्ने भूल नगर्नू I भोग्य वस्तुलाई भोगमा सीमित गर्नु पर्दछ, अनुराग र प्रेममा विस्तार हुन दिनु हुँदैन I’

एकदिन बिम्बिकाले चामुण्डा कुलको किशोर सुन्दराननलाई बोलाई I बिम्बिका वयस्क भएको हुँदा उसको लागि छुट्टै कुन्ज निर्माण गरिएको थियो I कुन्जलाई सुगन्धित फूलले सिँगारिएको थियो I कुन्जभित्र अनेकानेक सुगन्धित पदार्थरु छरिएको हुँदा त्यहाँ वर्णनातीत मादकता छाएको थियो I त्यो रात बिम्बिकाले सुन्दराननको गहिरो र अविस्मरणीय तदर्थ मायामा बिताई I दश एघार घन्टाको त्यो मादक रात उसको लागि केही निमेषको भयो I सूर्योदय हुनु अगावै सुन्दरानन कुन्जबाट बाहिरियो I

झलमल्ल घाम लागेपछि आमा रुद्रिका बिम्बिकाको लागि सुगन्धित काठको सुन्दर पात्रमा दूध र काठकै पात्रमा फल लिएर आइन् I उनले सोधेकी थिइन् ‘कस्तो भयो त बिम्बिका प्रथम तदर्थ माया ?’ बिम्बिकाले एकोहोरो आमालाई हेरिरही I रुद्रिका भन्दै गईन् ‘हामी नारी जातिको अभिभारा विशाल छ पुत्री ! हामीले शिशुहरू जन्माएर कुल परम्परालाई स्थायित्व दिनु पर्दछ I शत्रु देशको आक्रमणबाट राज्यको रक्षा गर्ने दायित्व पनि हामी नारी जातिकै काँधमा छ I शिक्षादीक्षाको माध्यमबाट आफूलाई विदुषीको रुपमा स्थापित गर्न सकियो भने समाजमा प्रतिष्ठा प्राप्त हुन्छ I सुयोग्य माताले जन्माएका पुत्रीहरू पनि सुशिक्षित हुन्छन् र कुल परम्पारालाई चिरस्थायी बनाउन समर्थ हुन्छन् I मलाई विश्वास छ तिमीले सुन्दर र मेधावी पुत्री जन्माउने छौ I’

आज सुन्दरानन चुपचाप बसिरह्यो I तदर्थ माया गरेर फर्केका पुरुषलाई साथीहरुले केही पनि सोध्न नपाइने परम्परा भएको हुँदा उसलाई कसैले केही सोधेन र जिस्क्याएन पनि I सुन्दरानन पाककलामा पारङ्गत भएको हुँदा ऊ चामुण्डा कुलको भोजन तयार गर्ने कार्यमा नियुक्त भएको थियो I उसलाई आफ्नो देश र कुलको नाम बाहेक केही थाहा थिएन I परम शत्रु ब्याघ्रशिला बाहेक उसलाई अन्य कुनै देशको नाम पनि थाहा थिएन I उसका अन्य साथीहरुको अवस्था पनि यस्तै थियो I आफ्नो विशेषज्ञताको काम बाहेक अन्य कुनै पनि विषयमा सरोकार राख्ने स्वीकृति कुनै पनि पुरुषलाई थिएन I

साह्रै सुन्दर अनुहार र अत्यन्तै आकर्षक शरीर एवं बडो बलिष्ठ सुन्दराननलाई अन्य कुन्जबाट पनि निमन्त्रणा प्राप्त भयो I जति सुन्दर र बलिष्ठ भए तापनि एउटा कुन्जले सोही पुरुषलाई छ महिनामा एकपटक मात्र बोलाउन पाउने नियम थियो I एउटा पुरुषलाई एक सप्ताह पूरा नहुँदै अर्को कुन्जबाट निमन्त्रणा आएमा आफूले तदर्थ माया गरेको एक सप्ताह नप्पुगेको कुराको जनाउ दिनु उसको कर्तव्य थियो I सुन्दराननलाई धेरै कुन्जबाट निमन्त्रणा आयो र ऊ गयो पनि I किन्तु ऊ कहीं पनि समुचित रुपमा तदर्थ मायामा तल्लीन हुन सकेन I उसको मनमा बिम्बिका मात्र थिई I

एकदिनको कुरा हो I सुन्दरानन भोजन पकाउँदै थियो I आज क्षीरभोजन पकाउने पालो थियो I सिपालु सुन्दराननले पकाएको क्षीरको सुगन्ध पाकशालाभन्दा परसम्म फैलिएको थियो I यस्तैमा अकस्मात बिम्बिका आइपुगी I दुबैजनाले एक अर्कोलाई एकोहोरो हेरिरहे I हेर्दाहेर्दै भोजन डढेको गन्ध आउन थालेको पनि दुबैले चाल पाएनन I सुन्दराननको सहकर्मी बिडालबक्त्र दौडेर आएर पाकपात्र उतारेर राख्यो I बिडालबक्त्र केही पनि नदेखे जस्तो गरी गयो I रुद्रिका आएर बिम्बिकाको चुल्ठो समातेपछि मात्र उनीहरु होसमा आए I रुद्रिका बिम्बिकालाई लिएर फटाफट बाहिर निस्किन् I कस्तो अवस्थामा के गर्नु पर्दछ भन्ने सम्यक ज्ञान भएकी प्रत्युत्पन्नमति रुद्रिकालें अन्य नारीहरुलाई भन्दै गइन् ,’चामुण्डा कुलमा पाक्ने क्षीरभोजन धेरै नै प्रख्यात भएको हुँदा कसरी पकाउँदा रहेछन भनेर अवलोकन गर्न गएका थियौं हामी I अब ज्ञात भएको कुरा हाम्रो कुलको पाकशालामा पनि सिकाउनु पर्ला I’ ठूलो प्रतिष्ठा प्राप्त गरेकी र राज्यको उच्च पदमा आसीन रुद्रिकाको कुरामा अविश्वास हुनु पर्ने कुनै कारण थिएन I

रुद्रिकाले बिम्बिकालाई आफ्नो कुन्जमा लिएर गइन् I बिम्बिका रोइरहेकी थिई I रुद्रिकाले भनेकी थिइन ,’तिमी जस्तो मेधावी नारी यसरी रुनु किमार्थ शोभायमान हुँदैन I कुल , समाज र राज्यको तिमीमाथि ठूलो विश्वास छ I अहिले ब्याघ्रशिलाले शार्दूलशिलासङ्ग निहुँ खोजिरहेको छ I अस्ति मात्र त्यहाँका सैनिक पसेर हाम्रा सातजना बलिष्ठ युवक र एक सहस्र छाग हरण गरेर लगे I अहिले सिमानामा दुबैतर्फबाट युद्धको वृहत् तयारी भइरहेको छ I मेरो वय र जीर्ण कायाको कारण म अब युद्धमा सहभागी हुन योग्य छैन I सम्भवतः तिमी एकसप्ताहपछि युद्धमा सरिक हुनु पर्नेछ I’

बिम्बिकाले भनेकी थिई ,’माता ! म सुन्दराननलाई चिरस्थायी माया गर्न चाहन्छु I’ रुद्रिकाले बिम्बिकाको गालामा एक थप्पड हानिन् I रुद्रिकाका आँखाबाट बलिन्द्र आँसु झारिरहेका थिए I किन्तु उनले भनेकी थिइन् ‘किमार्थ सम्भव छैन I राज्यको नियमको उल्लङ्घन गर्ने सुविधा कसैलाई छैन I भविष्यमा पनि यस्तै क्रियाकलाप भयो भने तिमीलाई म आफै गएर अनुशासन अधिकारीको समक्ष बुझाइदिने छु I’ तर बिम्बिकाको मति सप्रेन I

सीमामा युद्धको भयङ्कर तयारी भइरहेको थियो I राज्यमा सङ्टकाल लागू भयो I जुनसुकै काम त्वरित् शैलीमा हुन थाले I कुन्जहरुमा तदर्थ माया गर्ने सुविधा अर्को आदेश नभएसम्मका लागि निलम्बित भयो I तर यही सङ्टको समयमा सुन्दरानन र बिम्बिका आपत्तिजनक अवस्थामा पक्राउ परे I सामान्य समयमा भए यसरी फेला पर्नेलाई सामान्य कानून अनुरुपको दण्ड दिइन्थ्यो I किन्तु राज्य नै विपत्तिमा परेको या शत्रु देशसङ्ग युद्ध भइरहेको समयमा अनुशासनहीन कार्य गर्नेलाई भारी सजाय हुन्थ्यो I राज्यले पत्याएका र योग्य भनी भरोसा गरिएका नारीले मर्यादा उल्लङ्घन गरेमा विशेष दण्डको पनि दुईगुणा दण्ड भोग्नु पर्दथ्यो I माया , दया , टिठ , कृपा र करुणा भन्ने कुरा सामान्य अवस्थाका लागि हुन् I अस्तित्वको सङ्कट परेको समयमा राज्य क्रूर होइन , तर कठोर र निष्ठुर हुनुपर्छ भन्ने आम मान्यता थियो शार्दूलशिलामा I सङ्कटकालीन न्यायका लागि राज्यले बिम्बिकाकी माता रुद्रिकाको अध्यक्षतामा पाँच सदस्य रहेको विशेष न्यायाधिकरण गठन गर्यो I

आज बिम्बिका र सुन्दराननलाई सङ्कटकालीन विशेष न्यायालयमा उपस्थित गराइयो I सुन्दराननको हात फलामको सिक्रीले बाँधिएको थियो भने बिम्बिकाको नरम रेशमी डोरीले I विशेष न्यायालयको अध्यक्षता गर्ने गरी तोकिएकी पीठासीन अधिकारी महामान्या रुद्रिका देवी आएर आसन ग्रहण गरिन् I अन्य न्यायाधिकारीहरु भौमिका , मङ्गला , पिङ्गला र भ्रामिक़ा पनि न्यायालयमा उपस्थित भए I उनीहरु चारैजना शिर निहुराएर पीठासीनलाई सादर अभिवादन गरी आआफ्नो आसनमा बसे I कनिष्ठतम अधिकारी भ्रामिकाले सुन्दराननलाई यसो हेरिन I अत्यन्त सुन्दर अनुहार र आकर्षक शरीरको धनी सुन्दरानन घोप्टो परिरह्यो I उसका भूमितिर घोप्टिएका सुन्दर परेली , चित्ताकर्षक कपाल र मनोहारी कपोल देख्दा भ्रामिका मनमनै विचलित भइन I राज्यको कठोर कानूनले चालीस वर्षे नारीलाई भावुक बन्नबाट रोक्न सकेन I पीठासीन रुद्रिकाले ‘के भयो भ्रामिका ?’ भनेर हकारेपछि भ्रामिका सचेष्ट भइन् I त्यस वातावरणमा भ्रामिकाको मनस्थितिलाई बुझ्न सक्ने अरु दुईजना मात्र थिए , रुद्रिका र बिम्बिका I त्यसपछि भ्रामिका बिम्बिकातर्फ फर्किन् I

भ्रामिका – बिम्बिका तिमी आफ्नो पूर्ण परिचय देऊ ! बिम्बिका – देवी ! मेरो कुलको नाम भद्रिका हो I मेरी माताको नाम देवी रुद्रिका हो I मैले युद्धकला र गुप्तचरी विषयमा स्नातक गरेकी छु I पीठासीन रुद्रिकाले बिम्बिकाको बयानको टिपोट गर्दै गइन् I

भ्रामिका – तिमीलाई राज्यको विधिको जानकारी छ ?

बिम्बिका – छ देवी ! मलाई राज्यका सबै विधि , परम्परा , एघार कुलको इतिहास र छिमेकी देशका बारेमा पनि जानकारी छ I

भ्रामिका – तिमीलाई राज्यको कानून उल्लङ्घन गरेको अभियोगमा के कस्तो दण्ड हुन्छ भन्ने जानकारी छ ?

बिम्बिका – जानकारी छ देवी ! मलाई सङ्कटकालीन कानूनमा उल्लेख भएको विशेष दण्डको दोब्बर दण्ड हुने कानूनबारे पनि जानकारी छ I

भ्रामरी – तिमी आफ्नो भूल स्वीकार गर्न तयार छौ ?

बिम्बिका – मैले राज्यको विधिको उल्लङ्घन गरेको हो , स्वीकार गर्दछु I किन्तु मेरो राज्यको विधि कठोर र मानवीय भावनाको विरुद्ध छ भन्ने कुरा पनि मलाई ज्ञान छ देवी I

भ्रामिका – तिमी तिमीमा राष्ट्रभक्तिको कमी छ भनेर थप आरोप लगाउन मिल्ने छन्दले बयान दिँदै छौ I

बिम्बिका – लगाउनुहोस् आरोप I किन्तु मेरा पनि केही मान्यताहरु छन् I हाम्रो राज्यले आधा जनसंख्यालाई राज्यको मूलप्रवाहभन्दा बाहिर राखेको छ I हामी नारी जातिलाई सत्ता र शक्तिको मदले लट्ठ पारेको छ I पुरुष जातिलाई हामी कठपुतली मात्र मान्दछौं I

रुद्रिका – हे अभियुक्ता ! यो भावुक कुरा गर्नका लागि तयार गरेको मन्च होइन I आफ्नो अपराधको मूल कुरालाई विषयान्तर गर्ने अधिकार तिमीलाई छैन I

बिम्बिका – सम्मान्या देवी ! मैले यहाँ अधिकारको कुरा गरिरहेकी छैन I म यो न्यायपीठको ध्यान एउटा कुरामा आकर्षित गर्न चाहन्छु I हामी विदुषी नारीहरु जुन तथाकथित सभ्य भाषामा यो संवाद गरिरहेका छौं , के यो अभियुक्त युवकले बुझिरहेको छ त ? छैन I हामीलाई आफ्नै जनकलाई दास बनाउन पाउँदा गौरवको अनुभूति हुन्छ , हामीलाई धिक्कार छ I यदि हाम्रो स्थानमा पुरुष र पुरुषको स्थानमा हामी भएको भए हाम्रो अवस्था कस्तो हुन्थ्यो ? कल्पना गर्नु भएको छ ?

पिङ्गला – पुरुष जातिको त प्रज्ञा नै हुँदैन I हाम्रो शास्त्र भन्छ – यिनीहरु मन्दबुद्धि , स्वार्थी , कामुक र भयभीत हुन्छन I यिनीहरु भोग्य हुन I यिनीहरु चिरन्तन मायाका अधिकारी होइनन , मात्र तदर्थ मायाका पात्र हुन् I

रुद्रिका – बिम्बिका ! तिमीले तदर्थ मायालाई स्थायी माया जस्तो मानेर कुमार्गलाई रोजेको प्रष्ट छ I तिमी तदर्थ मायालाई छाडेर एउटा पुरुषमा वसिभूत भयौ I तिम्रो वासनातृप्ति गर्नका लागि असंख्य युवक थिए , तर तिमी हाम्रो संस्कृति र परम्परा विरुद्ध एक पुरुषतर्फ आकर्षित भयौ I यसमा तिम्रो भनाइ के छ ?

बिम्बिका – हो , म प्रेमासक्त हुँ I म प्रेमासक्त हुँ , किन्तु कामासक्त होइन I कामातुर नारीका लागि त यहाँ सयौं भोग्य दासहरु छन् I तर मेरो ध्यान त्यतातर्फ गएन I मलाई नारी हुनुमा गर्व छ , किन्तु पुरुष जातिको दासताको मूल्यमा होइन I जुन पुरुषबिना हामी नारी जातिको वासना पूर्ति हुँदैन , जुन पुरुषको बीजबाट हाम्रो जन्म भयो , हामी त्यही पुरुषलाई दास बनाएर गौरव गर्दछौं I म जुनसुकै दण्ड भोग्न तयार छु , किन्तु मेरो राज्यसङ्ग विनम्र निवेदन छ , कृपया यो चिरनिद्राबाट जागौं I

भौमिका – हामीलाई अन्नले प्राण दिन्छ , के हामी अन्नसङ्ग प्रेम गरौँ ? हामीलाई वनस्पतिले फल र माहुरीले मधु दिन्छ , के हामी उनीहरुसङ्ग स्थायी अनुराग राखौं ? हामी जसरी अन्य पदार्थको भोग गरेर आनन्द लिन्छौं , त्यसै गरी पुरुषलाई भोग गरेर आनन्द लिन्छौं I पुरुषलाई जन्म दिने पनि हामी नारी नै हौँ I आफूले उत्पादन गरेको वस्तुलाई भोग गर्नु उत्पादकको अधिकार हो I पुरुषमा पात्रता नै नभएको अधिकार दिन हाम्रो चेतनाले स्वीकार गर्दैन I हामीलाई हाम्रो देश , परम्परा र संस्कृति प्राणभन्दा प्यारो छ I तिम्रो कुनै पनि तर्क विधिसम्मत छैन I भावुकतामा आधारित तथ्यहीन तर्कका आधारमा तिमीले आफूलाई निर्दोष सिद्ध गर्न सक्दिनौ I

बिम्बिका – देवी ! मलाई ज्ञान छ , म आफैलाई निर्दोष प्रमाणित गर्न सक्दिन I यो न्यायपीठ विधि , संस्कृति र झूटो ऐतिहासिक गरिमाको बन्धनबाट यसरी बाँधिएको छ कि यसले कुनै तार्किक कुरालाई मनन गर्न सक्दैन I यसो पनि हुनसक्छ, यो न्यायाधीकरणका सुमान्या देवीहरू आफ्नो भावनालाई दबाउन वाध्य हुनुहुन्छ I मलाई पनि मेरो देश प्राणभन्दा प्यारो छ I मेरो देशको इतिहासप्रति म गौरवान्वित छु I किन्तु मसङ्ग त्यसका प्रति आलोचनात्मक दृष्टिकोण पनि छ I म जान्दछु, अरु धेरैमा पनि यो अनुभूति छ , परन्तु उनीहरु प्रकट गर्न असमर्थ छन् , किनकि यहाँ तर्क वर्जित छ , समीक्षा वर्जित छ I

आदरणीया देवीहरू ! आज म एक अभियुक्तको रुपमा उभिन पाउँदा धेरै हर्षित छु I न्यायालयमा अभियुक्तले आफ्ना कुरा स्वतन्त्रतापूर्वक राख्न पाउने परम्पराले मलाई आफ्ना समस्त भावना पोख्ने मौका प्रदान गरेको हुँदा मलाई यस परम्पराप्रति गौरव छ I मलाई थाहा छ , म यो राज्यको विधिको उल्लङ्घनकर्ता हुँ I प्रचलित विधि अनुरुप म दण्डित हुनेछु र हुनु पनि पर्दछ I किन्तु मेरो एउटा प्रश्न छ – के हामी सदाकालका लागि यस्तै विधान बोकेर बस्न अभिशप्त छौं ? यस जगतको हरेक कुरा परिवर्तनशील छ I तर हामी झनै कठोरतातिर उन्मुख छौं I यसको दुष्परिणाम हाम्रो राज्यव्यवस्था र समाजले भोग्नु पर्नेछ I

रुद्रिका – तिम्रो बौद्धिकता उत्कृष्ट छ , परन्तु आफ्नो परम्परा , संस्कार र विधानविरुद्धको विद्वता अर्थहीन हुन्छ I राज्यव्यवस्था र संस्कार परिवर्तन गर्नतर्फ लाग्यौं भने त्यो परिवर्तनले विस्तारै समग्र सीमाहरु उल्लङ्घन गर्नेछ I हाम्रो इतिहास र साहित्य लेखनको धारालाई परिवर्तन गर्न थालियो भने धेरै अराजक प्रस्तुतिहरुको सामना गर्नु पर्नेछ I

बिम्बिका – सुमान्या देवीको विश्लेषण प्रबल छ I किन्तु हाम्रो इतिहास मात्र वीरगाथामा सीमित भयो I हाम्रा एघार कुलको एकाउन्न पुस्ताभन्दा अगाडिको समाज कस्तो थियो ? यी एघार कुलाहरुको स्थापना अघि कस्ता कस्ता कुल थिए र समाज कस्तो थियो ? किन हामी त्यसको अनुसन्धान गर्न भयभीत छौं ? किन हाम्रो साहित्यमा दया , करुणा , प्रकृतिप्रेम र भावना प्रकट हुँदैन ? हामी किन मात्र भोगवादी छौं ? किन हामी प्रेम गर्न सक्दैनौं ? किन हामी तदर्थ प्रेम मात्र गर्दछौं ?

यत्तिकैमा हस्याङ् फस्याङ् गर्दै एकजना सन्देशबाहिका आइपुगी I

संदेशबाहिका – आदरणीया देवीहरू ! ब्याघ्रशिलाले हाम्रो देशमाथि भीषण आक्रमण गरेको समाचार आएको छ I अहिले आधा घडीभित्र महादेवी चन्द्रघन्टाको कक्षमा आकस्मिक बैठक बस्ने भएको छ I सुमान्या देवी रुद्रिकालाई बैठकमा उपस्थित हुने आदेश छ I

रुद्रिका – यो प्रकरणको सुनुवाइ समाप्त भएको छ I यस सम्बन्धमा भोलि निर्णय सुनाइने छ I

रुद्रिका फटाफट राज्यप्रमुखको बैठकतर्फ लागिन् I

क्रमश:

Tags :
प्रतिक्रिया दिनुहोस