भत्किँदै सरकारी भवन, भाडामा वडा कार्यालय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भत्किँदै सरकारी भवन, भाडामा वडा कार्यालय


३१ बैशाख २०७७, बुधबार


डोटी । डोटीको केआइसिंह गाउँपालिकाका अधिकांश वडा कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । साविकका गाविस भनवलाई वडा कार्यालय बनाइए पनि जनप्रतिनिधिले आफ्ना मान्छे रिझाउनका लागि नयाँ घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दै आएको पाइएको छ ।

सरकारी भवन हुँदाहुँदै भाडाका घरबाट कार्यालय सञ्चालन नगर्न स्थानीयवासीले पटक–पटक आग्रह गर्दा पनि त्यसको कुनै वास्ता नगरी मनपरी ढङ्गले वडा कार्यालयले कामकाज गर्दै आएको भन्दै स्थानीयवासी आक्रोसित भएका छन् । उक्त गाउँपालिकाको वडा नं ३ मा चारकोठे पक्की सरकारी भवन छ । साविकको वासुदेवी गाविस कार्यालय सोही भवनबाट सञ्चालन हुँदै आएको थियो । तर, अहिले वडा कार्यालय भने भाडाको घरमा सञ्चालन भइरहेको छ । उक्त वडाले मासिक रु आठ हजार भाडा तिर्ने गरी स्थानीय काँग्रेस कार्यकर्ता कालुराम ओझाको घर भाडामा लिएको बताइएको छ ।

चार कोठे उक्त सरकारी भवनको एक कोठामा वडा सचिवको निवास बनाइएको छ भने अन्य कोठामा ताल्चा झुण्ड्याइएको छ । स्थानीय तहको चुनावलगत्तै वडा नं ३ का अध्यक्ष रत्न कुँवरले वडा कार्यालय छाडेर भाडामा घर खोजेर सञ्चालन गर्न लगाएको स्थानीय दिनेश कुँवरले आरोप लगाए। उनले भने, ‘वडा कार्यालय सञ्चालनका लागि सरकारी भवन छँदैछ तर वडाध्यक्षले आफ्ना कार्यकर्ताको मन जित्नका लागि घर भाडामा लिएका हुन् ।’ वडा कार्यालय अपायक ठाउँमा भएकाले सबैलाई पायकपर्ने ठाउँमा वडा सम्पर्क कार्यालयका लागि घर भाडामा लिएको वडाध्यक्ष कुँवरले बताए । उनले भने, ‘स्थानीय गोदावरी सहकारी संस्थाका लागि घर भाडामा लिनुपर्ने नै थियो, त्यसैको एक कोठा खाली भएकाले त्यहीबाट कामकाज चलाउँदै आएका छौँ, कसैको चित्त दुःखेको हो भने अर्को आर्थिक वर्षदेखि सरकारी भवनमै सरौला ।’ तर, सहकारी संस्थाका लागि वडाको बजेटबाट भाडा तिर्न नपाइने प्रावधान छ ।

केआइसिंह गाउँपालिकाकै वडा नं ६ मा पनि त्यस्तै अवस्था छ । सरकारी लगानीमा जस्तापाताले छाएको भवन छ, पहिले वडा कार्यालय त्यसै भवनबाट सञ्चालन हुन्थ्यो । दुई वर्ष अगाडि आएको हावाहुरीले छानो उडाएपछि एक स्थानीय नेताको घर भाडामा लिएर कामकाज गरिँदै आएको स्थानीय जगत बलायरले बताए। उनले भने, ‘वडा कार्यालयको भवन मर्मत गरेर काम सञ्चालन गर्नुपर्नेमा वडाध्यक्षले आफुखुशी आफन्त खुशी पार्न घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् ।’ उचित मर्मतसम्भार नगरिँदा वडा कार्यालयको सरकारी भवन दिनानुदिन जीर्ण बन्दै गइरहेकोे छ तर वडा कार्यालयले भने मासिक रु १० हजार भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको स्थानीयवासी बताउँछन् ।

सो वडाका वडाध्यक्ष दीप वलायरले हुरीले छानो उडाएपछि बस्ने अवस्था नभएका कारण भाडाको घरबाट काम काज चलाइरहेको बताए । उनले भने, ‘एककोठे भवन भएकाले साँघुरो पनि थियो, त्यसैमा हुरीले छानो उडाएपछि समस्या भयो र अर्को आर्थिक वर्षमा जीर्ण भवनको मर्मत गरेर आफ्नै भवनमा सर्नेर्छौ ।’ एककोठे भवन भए पनि आवश्यक मर्मत गरेर सकिने जति काम उक्त भवनबाटै गर्नुपर्ने युवासंघ डोटीका संयोजकसमेत रहनुभएका स्थानीय गोविन्द खड्काले बताए । उनले भने, ‘भत्किएको भवन मर्मत गरेर वडा कार्यालय सञ्चालन गर्न पटक–पटक अध्यक्षसँग आग्रह गर्‍यौँ, तर उनले टेरपुच्छर लगाएका छैनन्, आफूखुशी भाडा तिरेर काम गर्दै आएका छन् ।’

सरकारी भवन बेवारिसे बनाएर भाडामा कार्यालय सञ्चालन गर्नु गलत भएको स्थानीय तह अनुगमन तथा समन्वयको समेत जिम्मेवारी पाएको जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले बताए। उनले भने, ‘सरकारी भवन हुँदाहुँदै कार्यकर्ताको घर भाडामा लिनु हुँदैनथ्यो, प्राप्त अख्तियारीको दुरुपयोग गर्नु पदीय मर्यादाविपरीत हुन्छ, आवश्यक कारवाहीका लागि गाउँपालिकालाई पत्र लेख्ने छौँ ।’ वडाको विकासका लागि आएको रकमबाट घर भाडा तिर्नुपरेकाले यथाशीघ्र सरकारी भवनमा कार्यालय सार्न त्यहाँका वडावासीको माग छ । मनपरी गर्ने वडाका प्रतिनिधिलाई आवश्यक कानूनी कारवाही हुनुपर्ने बताउँदै आएका छन् ।

रोकिएका काम पुनः शुरु
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण देशका अधिकांश क्षेत्र बन्द भए पनि डोटीमा विकासका केही ठूला आयोजना भने खुलेका छन् । आयोजनास्थलमा कामदार रहेका तर बाहिरबाट कोही पनि नयाँ मानिस नआएका परियोजना भने सञ्चालन भएका हुन् । डोटीसहित समग्र सुदूरपश्चिममा रहेका दर्जनौँ परियोजना सञ्चालन भएका छन् ।

जिल्ला पछिल्लो समय जलविद्युत्, सडक तथा विमानस्थल निर्माणको काम शुरु भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । सरकारले मुलुकभर लकडाउन गरे पनि डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन विकास निर्माणकामा उच्च सतर्कता अपनाउँदै निर्माणकार्यलाई निरन्तरता दिएका छन् । यहाँका विकास निर्माण भइरहेका आयोजनाका ठेकेदारले बाहिरी आवतजावतलाई रोक लगाउँदै कमदारलाई काममा लगाएका हुन् ।

लकडाउनले शुरुका केही दिन समस्या आए पनि अहिले सरकारी निकायले समेत सहयोग गरेकाले निर्माणकार्यलाई निरन्तरता दिइएको विभिन्न विकास निर्माणमा काम गर्दै आएका निर्माण कम्पनीले जानकारी दिएका छन् । सरकारले निर्माणकार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयले समेत सहयोग गरेपछि रोकिएका विकास निर्माणको कामलाई अगाडि बढाएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ । सबै आयोजनालाई निर्माण सामग्रीको अभाव हुन नदिने गरी समन्वय गरी कामलाई तीव्रता दिन थालिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, ‘कोरोनाबाट बच्न सजगता अपनाउँदै विकास निर्माणकार्यलाई निरन्तरता दिन थालेका छौँ, निर्माण सामग्री सहज उपलब्ध भए तोकिएको समयमै यहाँका योजना सम्पन्न हुनेछन् ।’

यसै सिलसिलामा कोरोना भाइरसका कारण केही समय रोकिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडक निर्माणकार्य पुनः सञ्चालन भएको छ । जिल्लामा कोरोना सङ्क्रमित नभेटिएपछि अहिले कामदारले उक्त सडकको काम तीव्रगतिमा अगाडि बढाइरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेसँगै शुरु गरिएको उक्त सडकको काम कोरोनाका कारण रोकिएको थियो । ठेकेदार कम्पनीले काम सञ्चालन गर्न अनुमति पाएसँगै अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेक–झिग्राना जोड्ने सडकको निर्माण तथा कालोपत्रको काम तीव्रगतिमा भइरहेको स्थानीय दीर्घबहादुर साउदले जानकारी दिए ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्दछ । प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड ठेक्का सम्झौता भएको उक्त सडक अहिले निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको उक्त सडक हेर्ने जिम्मा पाएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, ‘कोरोनाको त्रासका कारण कालोपत्रको काम रोकिएको थियो, अहिले काम सञ्चालन गर्न अनुमति पाएपछि तीव्रगतिमा काम भइरहेको छ ।’ खप्तडक जोड्ने उक्त सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्स्ट्रक्शन र सिलगढी–मेल्लेक सकडको राजेन्द्र तथा पिएस जेभीले काम गरिरहेका छन् ।

प्रदेशको प्रमुख पर्यटकीयस्थलका रूपमा रहेको खप्तड जाने सडक कालोपत्र गर्ने काम पुनः सञ्चालन भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । खप्तड जाने सडक कालोपत्र भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकै सहज हुने होटल व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए। उक्त सडकमा रातदिन कामदारले काम गरिएका छन् । उक्त सडक तोकिएको समयमै सम्पन्न हुने लक्ष्यसहित काम सञ्चालन गरिएको पिएस कन्स्ट्रक्सनका प्रमुख प्रेमशङ्कर भट्टले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस