लकडाउन र यसका मोडलहरू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लकडाउन र यसका मोडलहरू


२२ बैशाख २०७७, सोमबार


के हो लकडाउन (बन्दाबन्दी) ?
अत्यावश्यक कामबाहेक नागरिकलाई घर बाहिर ननिस्कन जारी गरिएको राज्य निर्देशन नै ‘लक डाउन’ हो । यसमा औषधि उपचार, खाद्यान्न ढुवानीजस्ता अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर निस्कन प्रतिबन्ध लगाइन्छ । आकस्मिक कामका लागि निस्कनै परे सरकार अथवा सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ ।

सङ्कटको स्थितिमा राज्यले यस्तो लकडाउन गर्छ । यति बेला कोरोना भाइरस सङ्क्रमणको महामारी नफैलियोस् भनेर सतर्कताका लागि ‘लक डाउन’ गरिएको हो । यस्तो समयमा भोज भतेर, यात्रा र भेलामा पनि प्रतिबन्ध लगाइएको छ । सार्वजनिक यातायात सञ्चालनमा पूर्ण बन्देज गरिएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक कुनै पनि प्रकारका सार्वजनिक तथा निजी सवारी चलाउन पाइँदैन । यस्तै सुरक्षा निकायले प्रयोग गर्ने वायु यान र अनुमति प्राप्त अन्य उडान बाहेक सबै आन्तरिक तथा बाह्य व्यावसायिक उडान बन्द गरिन्छ । नेपालमा ‘लक डाउन’ घोषणा हुनु पहिले नै सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको थियो । ‘लक डाउन’को घोषणापछि जो जहाँ छ’, त्यहीँ सुरक्षित ढङ्गले बस्नुपर्छ । नेपाल सरकारले २०७६ साल चैत्र ११ देखि पटक पटक गरी लकडाउनको अवधि थप गरी हाल २०७७ साल वैशाख २५ सम्म कायम गरेको छ । सङ्क्रमणको अवस्थालाई विश्लेषण गरेर नेपाल सरकारले अवधि बढाउन सक्नेछ । सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी कोरोना फैलिन नदिन नेपाल सरकारले जसरी लकडाउनको घोषणा गर्‍यो । त्यसैले गर्दा कोरोना भाइरस फैलिन नपाएको भन्दै आम जनसमुदायले नेपाल सरकारको अहिलेसम्मको निर्णयलाई सकारात्मक रूपमा लकडाउनलाई
सफल बनाउन सहयोग गरेका छन् ।

लकडाउनले गर्दा कोरोना संक्रमण रोक्न महत्त्वपूर्ण साबित भएको छ । लकडाउन र सामाजिक दूरी कोरोना सङ्क्रमणको जित्ने अचुक अस्त्र हुन् । लामो लकडाउन र अनिश्चित कालीन कोरोना सङ्क्रमण अवधिको कारण आम मानिसमा विभिन्न समस्या देखिन थालेका छन् । एकातिर लामो समयको लकडाउनले जनजीवनमा अप्ठ्यारो परिरहेको छ । मुलुकको अर्थतन्त्र चौपट बनेको छ । योजनाहरू कार्यान्वयन हुन सकेका छैनन् । व्यापार व्यवसाय ठप्प छन् । उत्पादन र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन अप्ठेरो पारेको छ । अर्कोतिर लकडाउनलाई खुल्ला गर्दा कोरोनाको महामारी समुदायमा फैलिएला कि भन्ने जोखिम पनि हटिसकेको अवस्था छैन । सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढी रहेका छन्, हाल १५ जिल्ला सङ्क्रमणबाट प्रभावित बनेको छ । जसले गर्दा खतराको घण्टी बजिरहेको अवस्था छ । इरान, इटली र अमेरिकामा हेलचेक्र्याइँ गर्दा ठुलो दुर्घटना निम्तिएको अवस्था छ । यो सवैलाइजगजाहेर नै छ । त्यसैले लकडाउन हाम्रो सुरक्षाका लागि भएकोले यसको महत्त्व धेरै छ । नेपाल सरकारले समयमा लकडाउनको घोषणा गरेकोले ठुलो क्षति भने भएको छैन । सङ्क्रमितहरू पनि निको भएर घर फर्केको अवस्था छ जुन लकडाउनको एउटा उपलब्धि पनि हो । अब हामीले यस्तो अवस्थालार्इ कसरी व्यवस्थित गर्न सकिन्छ भनेर विभिन्न उपायहरूको अनुसन्धान भराइरहेको छ । यसैको एउटा नमुना लकडाउनको मोडेललाई लिन सकिन्छ।

लकडाउनका मोडेल (स्वरूप) हरू
लकडाउनका विभिन्न मोडलहरू छन् । यो कोरोना भाईरसबाट उत्पन्न महामारीबाट सुरक्षित राख्न लकडाउन गरिएको नयाँ सिकार्इ भएकोले यसका मोडेलहरू यिनै हुन्छन् भनेर त्यस्ता वैज्ञानिक स्वरूपहरू पाईएका छैनन् । तर पनि भौगोलिक अवस्था, सङ्क्रमणको वर्तमान अवस्था र परिस्थिति समेतलाई अध्ययन गरेर मोडलहरू तयार गर्न सकिन्छ । सबै देशका लागि यहाँ उल्लेख गर्न खोजिएका मोडलहरू सर्वमान्य नहुन सक्ला तर सबै वा कुनै न कुनै लकडाउनको एउटा मोडल प्रयोग भएको पाईन्छ । लकडाउनको मोडल तयार गर्दा धेरै विषयको विश्लेषण गर्नु पर्दछ । सङ्क्रमणको अवस्था, परीक्षण गरिएको परिमाण र परिणाम, यथार्थ तथ्याङ्क, परिस्थिति, जनशक्ति परिचालनको अवस्था, विज्ञको सुझाव,भौगोलिक परिवेश, वातावरण, सूचना र सञ्चारको पहुँच, अस्पताल तथा स्वास्थ्य संस्थाका क्षमता र अवस्था, देशको आर्थिक अवस्था जस्ता सबै बिषयलाई विश्लेषण गरेर लकडाउनका मोडल तयार गर्न सकिन्छ ।

कृषि, उद्योगधन्दा तथा कोरोनाका कारण दीर्घ रोगी र अन्य बिरामीहरू अस्पतालबाट पाउने सेवाबाट वञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउन पनि लकडाउनको स्वरूप परिवर्तन गर्न सकिन्छ । यसरी लकडाउनलाई परिस्थिति अनुसार समयानुकूल नयाँ ढङ्गले गर्नु पर्छ । अवस्था हेरेर सहजीकरण गर्दै जानु पर्ने परिस्थिति हुन सक्छ । कृषि, उद्योगधन्दाहरू लगायत अन्य विभिन्न खालका अत्यावश्यक विषयका अतिरिक्त महत्त्वपूर्ण क्षेत्रमा विचार पुर्‍याउनुपर्छ । कृषि, उद्योगधन्दा तथा अरू महत्त्वपूर्ण कुराहरूलाई मध्यनजर गर्दै लकडाउनको स्वरूप परिवर्तन हुन्छ। यसरी लकडाउनका मोडलहरू परिवर्तन गर्नु पर्ने हुँदा यसका स्वरूपको सृजना हुँदै जान्छ । यसमा नेपाल सरकारले विभिन्न विषय विज्ञहरूसँग छलफल चलाई रहेको अवस्था पनि छ । यसलाई पनि लकडाउनको एउटा मोडलको रूपमा लिन सकिन्छ ।

त्यसैले अब जुन ठाउँमा सङ्क्रमण देखिन्छ, त्यस ठाउँलाई सिल गरेर सबैको परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा मार्किङ गर्ने बाटो हुनसक्छ । सङ्क्रमण नदेखिएको तर सम्भावना भएको ठाउँहरूमा पनि परीक्षण गरेर मार्किङ गर्नु उपयुक्त हुन सक्छ । यसरी परीक्षण गरेपछि रेड, एल्लो र ग्रिन जोन गरेर मार्किङ गर्न सकिन्छ । रेड जोन निर्धारण गरेको क्षेत्रमा लकडाउन कडा गर्ने । एल्लो जोनमा अलिक खुकुलो बनाउने र ग्रिन जोनमा झन् खुकुलो बनाउने । बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्ट्याएर उक्त क्षेत्रमा मात्र मार्किङ गर्न सकिन्छ । मार्किङका आधारमा लकडाउनलाई निरन्तरता दिने, खुकुलो बनाउने, सिल गर्ने वा रेड,एलो, ग्रिन जोन छुट्ट्याउन सकिन्छ । तर हडताल जस्तो एकै चोटि खुला गर्नु भने हुँदैन, यसमा विशेष सतर्कता अपनाउनु पर्दछ ।

कोभिड-19 को भ्याक्सिनको पत्ता लागेपछि मात्र पूर्ण रूपमा नियन्त्रण हुन्छ होला यो विषय विज्ञहरूबाट थाहा होला, तर पनि हामीले नियन्त्रण नहुन्जेल कुनै न कुनै रूपमा लकडाउनलार्इ निरन्तर दिनु पर्छ । चाहे सरसफाईमा ध्यान दिएर होस, सामाजिक दुरी कायम गरेर होस, यात लकडाउनलाई नै निरन्तरता दिएर होस अथवा सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पालना गरेर भए पनि सङ्क्रमणबाट सुरक्षित हुन कुनै न कुनै उपाय अवलम्बन गर्न जरुरी देखिन्छ । यसैले यहाँ लकडाउनका मोडल भनेर उल्लेख गरिएको हो ।

रेड, एल्लो र ग्रिन जोन निर्धारण गरेपछि मात्रै लकडाउनको नयाँ मापदण्ड निर्धारण गर्नु पर्दछ । कोरोनाको जोखिम नभएको ठाउँमा पनि लामो समयसम्म लक डाउन गर्दा देशको अर्थतन्त्रमा घाटा पर्ने हुँदा विज्ञहरू परिचालन गरेर जोन छुट्ट्याइ अगाडि बढ्नु पर्दछ । अर्थात् बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्ट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने कार्य गर्दा बढी प्रभावकारी हुन सक्छ । जुन ठाउँमा सङ्क्रमण देखिन्छ त्यस ठाउँलाई सिल गरेर सबैको परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा मार्किङ गर्ने बाटो हुनसक्छ । सङ्क्रमण नदेखिएको तर सम्भावना भएको ठाउँहरूमा पनि परीक्षण गरेर मार्किङ गर्नु उपयुक्त हुन्छ ।

नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय सीमा क्षेत्र बन्द गर्ने, जुन जुन जिल्लामा सङ्क्रमण देखिएको छ त्यस जिल्लालाई एलोजोन तोकी जुन जुन स्थानीय तहमा सङ्क्रमण देखिएको छ त्यस स्थानीय तहलाई रेड जोन तोक्ने र जुन जिल्ला सङ्क्रमण भएको जिल्लासँग सिमाना जोडिएको त्यस जिल्लालाई एलो जोन नै कायम गर्ने । जुन जिल्लाको सिमाना अन्तर्राष्ट्रिय र सङ्क्रमित जिल्लासँग जोडिएको छैन त्यस्ता क्षेत्रका स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइन पूर्ण पालना गराउने व्यवस्था गरी ग्रिन जोन छुट्ट्याउन सकिन्छ ।

एलो जोनमा परेका स्थानीय तहमा आवासीय रूपमा स्थानीय श्रमिक वा मजदुर परिचालन गरेर सङ्क्रमण नियन्त्रणका मापदण्ड पालना गरी योजना सञ्चालन गर्न सकिने तर रेड जोनमा भने सरकारले मानवीय सुरक्षाका लागि राहत घरमा नै वितरण गरी कडाइका साथ लकडाउन लागू गर्ने र प्रभावकारी स्वास्थ्य परीक्षणलाई अगाडी बढाउने कार्य गर्दा प्रभावकारी हुन सक्छ । ग्रिन जोनका लागि ग्रिन जोन भित्रबाट उपलब्ध सामाग्री प्रयोग गरी ग्रिन जोनका श्रमिक परिचालन गरेर योजना सञ्चालन गर्दा रोजगारी सृजना हुन गई राहत उपलब्ध गराउन नपर्ने हुन्छ । तर सामाजिक दुरी र सरसफाईमा सरकारले निर्धारण गरेको मापदण्डको पूर्ण पालना भने गराउनु जरुरी हुन्छ । यसो हुन सकेमा आर्थिक विकासमा नकारात्मक असर कम पर्ने अनुमान गर्न सकिन्छ ।

लकडाउनको अर्को मोडललार्इ यसरी पनि लिन सकिन्छ । सम्पूर्ण निजी अस्पताल पहिलेजस्तै सञ्चालनमा ल्याउने । सरकारी र निजी अस्पतालले कोरोना परीक्षण, उपचार र सघन उपचारको लागि समन्वय गर्ने । यो वर्ष नाफारहित सेवा दिने । अत्यावश्यक क्षेत्रका पसलहरू खोल्ने । औषधि निर्माण, परिबहन तथा बिक्री वितरण सुचारु गर्ने । बैङ्क, वित्तीय संस्था तथा स्टक मार्केट खोल्ने । अत्यावश्यक सेवाका उद्योगहरू नेपाल सरकारले तोकेको मापदण्ड पालना गरी सञ्चालनमा ल्याउने । कृषि तथा पशुपक्षीजन्य पदार्थका पसल खोल्ने । उत्पादन भएका अन्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, मासु तथा अण्डा आदि कृषकबाट किनेर सहरमा पुर्‍याउने व्यवस्था गर्ने । यसको लागि चालक र हेल्पर मात्र ट्रकमा बसेर सामान ओसारपसार गर्न पाउने व्यवस्था मिलाउने । अत्यावश्यक निजी सवारी साधन, प्रहरी, सेना तथा साझाका बस निस्संक्रमण गरेर सुरक्षित ठाउँमा, सुरक्षित रूपमा चलाउन दिने । सामाजिक दुरी कायम गरेर घर, भवन तथा सडक निर्माण सुरु गर्ने । पहिलो चरणमा सुरक्षित ठानिएका ग्रिन जोन तोकिएका सहर आन्तरिक रूपमा मात्र खोल्ने । सहरमा रोजगारी गुमाएका तथा आफ्नो घर जान इच्छुकलाई सुरक्षित रूपमा सहरबाट गाउँ जाने प्रबन्ध मिलाउने । अत्यावश्यक सामग्रीको होम डेलिभरीलाई थप प्रभावकारी बनाउने । कोरोना सङ्क्रमणको अवस्था हेरेर सरकारले एलो जोन वा ग्रिन जोनलाई पनि पून : लकडाउन कायम गर्न वा थप खुकुलो बनाउन सक्नेछ । सिमाना सिल गर्ने तथा थप निगरानी बढाउने । अन्तर स्थानीय निकाय, अन्तर जिल्ला, अन्तर प्रदेश लकडाउन कायम गर्ने । यो पनि लकडाउनको एउटा मोडल हुन सक्छ ।

माथि उल्लेख गरिएका उपायहरूलाई लकडाउनका मापदण्ड, मोडेल, स्वरूप वा उपायहरूको रूपमा लिन सकिन्छ । एउटा भुल्नै नहुने विषयमा के बुझ्नु पर्दछ भने लकडाउनको कारण हामी सुरक्षित भएका हौँ । सामाजिक दुरी कायम गरी सकारात्मक सोचका साथ आत्मबल बलियो बनाऊ भन्ने शुभकामना छ । धन्यवाद ।।

( लेखक सैनामैना नगरपालिका,रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ। )

Tags :
प्रतिक्रिया दिनुहोस