सुदूरपश्चिम समाचार : प्रदेश प्रहरी र क्षेत्रीय प्रहरी अस्पताल तत्काल नसर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिम समाचार : प्रदेश प्रहरी र क्षेत्रीय प्रहरी अस्पताल तत्काल नसर्ने


प्रशासन संवाददाता

२० चैत्र २०७६, बिहिबार


डोटी । सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने निर्णय हाल रोकिएको छ । प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सर्दै भन्ने समाचार प्रकाशन भएपछि डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आले मगरको पहलमा उक्त निर्णय हाल रोकिएको हो ।

दिपायलबाट ती कार्यालय कैलाली जिल्ला सार्ने प्रहरी प्रधान कार्यालय नक्सालको पत्र आएसँगै डोटीमा निकै विवाद शुरु भएको थियो । डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल तत्काल नसारिने भन्ने जानकारी आएपछि अहिले यहाँका बासिन्दा निकै खुशी भएका छन् । दिपायलबाट राजधानी कैलालीमा सरेसँगै यहाँ भएका क्षेत्रीयस्तरका कार्यालय पछिल्लो समय धमाधम त्यतै सारिन थालेका छन् ।

दिपायलमा भएका कार्यालय सारिन थालेपछि यहाँ भएका भौतिक संरचना खण्डहर बन्दै गएको स्थानीयवासीको गुनासो छ । डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्ने भन्नेबारे जानकारी पाएपछि आफूले केन्द्रमा सम्बन्धित निकाय र पदाधिकारीसँग कुरा गरेर प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल नसार्ने विषयमा आग्रह गरेको सांसद आलेले बताए । उनले भने, “प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल नसार्न मैले आग्रह गरेलगत्तै सम्बन्धित निकायबाट नसर्ने भन्ने जानकारी आएको छ, कुनै पनि हालतमा दिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सर्ने छैन ।”

सीमामा रोकिएका नेपाली भारतको क्वारेन्टाइनमा
भारतका विभिन शहरबाट काम गरेर स्वदेश फर्किने सयौँ सुदूरपश्चिमेली केही दिन यतादेखि नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका छन् । सीमा क्षेत्रमा रोकिएका नेपालीलाई भारत सरकारले नै खानेबस्ने व्यवस्था मिलाएको सीमा क्षेत्रका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

नेपाल र भारतबीच दुवै देशमा अलपत्र पनागरिकलाई आआफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएअनुसार उनीहरुलाइ भारतका विभिन्न ठाउँका क्वारेन्टाइनमा राखी खाना खुवाउन थालिएको छ । त्यसैगरी उनीहरुको स्वास्थ्य परीक्षणसमेत क्वारेन्टाइनमा गर्न लागिएको छ ।

नेपालतर्फ कैलालीको धनगढीमा क्वारेन्टाइन बनाई भारतीयका लागि खानेबस्ने व्यवस्थापन मिलाइएको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए। यसरी सीमा क्षेत्रमा रोकिने नेपालीमा सबैभन्दा बढी दार्चुला जिल्लाको सीमा क्षेत्रबाट आउने नेपाली छन् । भारत सरकारले धार्चुला क्षेत्रका चार र जोलीजिबी क्षेत्रको एक ठाउँमा क्वारेन्टाइन बनाएर करीब छ सय नेपालीलाइ खानेबस्ने व्यवस्था मिलाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

वन उपभोक्तालाई साबुन र मास्क
अजयमेरु गाँउपालिका २ कोख बसानामा रहेको विन्द्राधुरा पन्नडा सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्तालाई साबुन र मास्क वितरण गरेको सामुदायिक वनका अध्यक्ष भरत सार्कीले बताए ।

वडा नं २ का वडा सदस्य नन्दादेवी पालसहित सामुदायिक वनका पदाधिकारी तथा सदस्यको टोलीले घरघरमा पुगेर ती वस्तु वितरण गरेको सामुदायिक वनकी सचिव पार्वतीदेवी भाटले बताइन् । सामुदायिक वनका हरेक उपभोक्तालाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सचेतना अपनाउन र घरभित्रै बस्न आग्रह गरिएको छ ।

भारतबाट आएका ३१० क्वारेन्टाइनमा
बैतडीका स्थानीय तहले क्वारेन्टाइन निर्माणमा जोड दिएका छन् । जिल्लाका दशै स्थानीय तहले ७०२ क्वारेन्टाइन निर्माण गरिसकेका छन् । भारतबाट फर्केका नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेको जनाइएको छ ।
भारतका विभिन्न ठाउँबाट जिल्लाका विभिन्न स्थानीय तहमा आएका ३१० जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

विदेशवाट आएकाको तथ्यांक संकलन
सुर्नया गाउँपालिकाले भारत तथा अन्य मुलुकबाट आएका स्थानीय नागरिकको तथ्यांक संकलन गरेको छ । संकलित तथ्यांकानुसार ३४६ जना भारत तथा अन्य मुलुकबाट आएका गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए।

क्वारेन्टाइनमा बस्न नमान्दा जोखिम
भारतबाट फर्किएका नेपाली नागरिकले क्वारेन्टाइनमा बस्न नमान्दा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उनीहरु सेल्फ क्वारेन्टाइमा समेत नबसी अनावश्यक रुपमा डुुल्ने गरेको दोगडाकेदार गाउँपालिका १ रिमका रामसिंह कुँवरले जानकारी दिए ।

पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा नबसेकाहरुलाई होम क्वारेन्टाइनमा अनुरोध गरिएको छ । विश्वका शक्तिशाली मुलुक पनि कोरोनासंँग जुध्न असफल भएकाले हेलचेक्य्राइँ नगर्न बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सबैलाई आग्रह गरे। विमल विष्ट, भूपेन्द्रसिंह विष्ट र विनोद विष्ट (रासस)

Tags :
प्रतिक्रिया दिनुहोस