श्री माननीय अर्थमन्त्री ज्यु,
सिंहदरबार, काठमाडौँ ।
महोदय,
कोरोना विरुद्ध लड्ने हौसला बोकिरहेको छु, आशा छ तपाईँमा मनोबल अझै उच्च छ । सरकारले कोरोना विरुद्ध लड्न गरेका कामहरू प्रसन्नयोग्य छन् र एक जिम्मेवार नागरिकको हकले म आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्दैछु । तथापि केही दिनको महामारी संगै राज्यबाट भ्रष्टाचारको दुर्गन्धले छोएको खबर र भ्रामक निर्णयहरुले दुखित बनाएको छ ।
प्रसङ्ग घर बहाल छुट को हो । म एउटा सामान्य परिवारमा हुर्केको ज्ञान बटुल्दै उच्च अध्ययनका लागि काठमाडौँमा भाडामा रुम सेयर गर्दै बस्दै आइरहेको छु । केहि दिन अघिको मन्त्रिपरिषद्को निर्णयमा एउटा निर्णय एक महिनाको घर बहाल छुट गर्न घरबेटीहरूलाई अनुरोध गर्ने र सो बापत कर छुट दिने निर्णय गर्नुभयो । झट्ट सुन्दा खुसी लाग्ने निर्णय छ । खुसी पनि किन नलागोस् त अर्थमन्त्रीको नाताले राष्ट्रबाट हामी जस्ता कैयौँ पीडितहरूको सुनुवाइ स्वरूप राज्यले राहत प्याकेजकै रूपमा लिएर निर्णय लिनुभएको छ । यो निर्णयले म लगायत मेरो गाउँमा रेडियो सुनेर समाचार सुन्ने परिवारका लागि क्षणिक खुसी दिनुभएको छ । मेरा साथीका सञ्जालमा तपाईँ प्रतिनिधित्व गरेर राज्यको जिम्मेवार पदमा पुग्नु भएको पार्टीका साथीहरूले बिगुल बजाइ घर भाडा छुट दिनुभयो भनेर झ्याली समेत पिट्न भ्याइसकेका छन् ।
माननीय मन्त्रीज्यु माफ गर्नुहोला, म यो खुसीको अङ्ग बन्न सकेन । त्यसैले यो महामारीमा तपाईँलाई इमेल लेख्दै राज्यको लगडाउनको नीतिप्रति दायित्व बहन गर्दै समय सदुपयोग गर्न खोज्दैछु ।
मन्त्री ज्यु, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा भएको घर बहाल निर्णयका कमी बारे अर्थमन्त्रीको नाताले आत्मालोचना गर्नुहोला भन्ने लिएको छु । निर्णयले खुल्न नसकेका ठाउँ निम्न अनुसार छन्:
१. राष्ट्रिय विपत्तिमा तपाईँको अनुरोध जायज हो तर यसले उद्देश्य पूरा गर्दैन । पीडितलाई राहत भन्दा पनि दुःख बल्झाउने खाले निर्णय भयो ।
२. अनुरोध गर्दा कार्यान्वयन पक्षमा ध्यान नपुग्नु ठुलो कमजोरी राज्य पक्षबाट गर्नुभयो ।
३. अर्थमन्त्रीको हैसियतले घर बहाल करलाई राज्यले उपेक्षा गरेको छ भन्ने अनुभव अवश्य गर्नुभयो होला ! करकै दायरा र भाडाको कुनै मापदण्ड नभएका घरबेटीहरू राज्यको अनुरोध सुन्छन् होला त ?
४. राज्यको रणनीतिक उद्देश्य र पीडितको आवश्यकता मिलान हुने ठाउँबारे प्रस्ट गृहकार्यको कमी देखियो ।
५. अनि पीडितको क्षणिक खुसी र निराशाले उब्जेको मनोवैज्ञानिक समस्याको जिम्मेवारी बहन गर्न के राज्य तत्पर छ ?
अत: यस निर्णयको केही घरबेटीले मानवताको नाताले मात्र पालना गर्ने छन्, जुन केही घरबेटीले राज्यबाट आएको अनुरोध भन्दा अगाब नै स्वघोष गरिसकेर प्रमाणित गरिसकेका छन् । त्यसैले यस्ता ठोस परिणाम नदिने राज्यका निर्णयले थप निराश मात्र बनाइरहने छन् ।
यस कोरोना भाइरसको विश्व महामारीको बिपत घडीमा राज्यप्रति निर्वाह गर्नुपर्ने दायित्वको बारेमा सधैँ प्रतिबद्ध रहेको जानकारी गराउँछु । त्यसैले अर्थमन्त्रीको नाताले राज्यबाट गर्ने निर्णय प्रस्ट र परिणाममुखी गर्नुहोला भन्ने विनम्र अनुरोध छ । स्वास्थ्य रहनुहोला ।
उही देशको कर्तव्यनिष्ठ नागरिक
रमेश पन्त
काठमाडौँ