खाद्यवस्तु घरघर पुर्‍याउन गृहको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खाद्यवस्तु घरघर पुर्‍याउन गृहको निर्देशन


प्रशासन विशेष ब्युरो

१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो ।

गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगी÷व्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केट÷ग्रोसरी, खाद्य स्टोर तथा महानगरपालिकाका पदाधिकारीसग छलफल गरेको हो। गृहसचिव महेश्वर न्यौपानेले लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरेका थिए।

सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको तर लकडाउन पालनामा अझै अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको हो।

उपभोग्य वस्तुको होमडेलिभरीमा महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयहरुबाट सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।

गृहसचिव महेश्वर न्यौपानेज्को अध्यक्षतामा बसेको बैठकले सबै खाद्यवस्तुको डेलिभरी भ्यानबाट घरघरमा पुर्‍याउने, सहज आपूर्तिको व्यवस्था मिलाउने। प्रशासनले आवश्यक मात्रामा सवारी पास दिने तथा पसल सञ्‍चालन, माग संकलन र वितरणमा महानगरीय प्रहरी कार्यालयबाट आवश्यक सुरक्षा व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। यसका लागि सुरक्षाकर्मी, खाद्यबिक्रेता तथा स्थानीय तहले माइकिङलगायतबाट पनि सर्वसाधारणलाई जानकारी गराउन भनिएको छ।

गृहले जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधान तथा कालोबजारी, कृत्रिम अभाव गर्नेको सूचना दिन पनि ११४९ नम्बर वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। लकडाउनका बेला मानिस आवतजावत निषेध गरिए पनि सरकारले दूध, दालरचामल, पानी, तरकारी, ग्यासलगायत दैनिक उपभोग्य वस्तु बिक्रीलाई खुकुलो बनाएको छ।

सरकारले लकडाउनका बेला दैनिक उपभोग्य वस्तु भण्डारण तथा आपूर्तिमा समस्या आउन नदिन सुरक्षा निकायलाई हाइअलर्टमा राखेको छ। भारतमा लकडाउन हुँदा पनि सामान नेपाल आइरहेको र यसका लागि स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा पर्ने सीमा नाका तथा आफ्ना काउन्टर पार्टस सहजीकरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस