विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा गर्न परराष्ट्र मन्त्रालयको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा गर्न परराष्ट्र मन्त्रालयको आग्रह


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरू रहेका मुलुकहरूलाई उनीहरूको आवश्यक सुरक्षा गर्न कूटनीतिक नियोगहरू मार्फत आग्रह गरेको छ ।

लकडाउनका कारण अन्तर्राष्ट्रिय नाकाहरू दुई दिनदेखि बन्द भएपछि मन्त्रालयले विदेशमा रहेका आफ्ना ३० राजदूतावास र तीन स्थायी नियोगमार्फत उक्त सन्देश सम्बन्धित मुलुकलाई पठाएको हो।

मन्त्रालयले नेपालमा रहेका सम्बन्धित मुलुकहरूका नागरिकहरूलाई नेपाल सरकारले सुरक्षित रूपमा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘तपाईँका नागरिक हाम्रोमा सुरक्षित छन्, हाम्रो नागरिकलाई पनि सुरक्षित साथ राखिदिन हुन अनुरोध गर्दछौँ,’ मन्त्रालयले आफ्ना नियोगमार्फत पठाएको सन्देशमा उल्लेख छ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशस्थित नेपाली नियोगहरूका राजदूत तथा नियोग प्रमुखहरूसँगको भिडियो कन्फरेन्समा पनि विदेशमा रहेका नेपालीहरूलाई त्यहाँको सरकारले गरिरहेको सुरक्षाको बारेमा जानकारी दिएका थिए।

चैत ११ मा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको बेलामा विदेशमा रहेका नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकहरूमा सुरक्षित राख्न परराष्ट्र मन्त्रालयलाई समन्वय गर्न आग्रह गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस