इन्टरलक इँटाको माग बढ्दो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्टरलक इँटाको माग बढ्दो


६ चैत्र २०७६, बिहिबार


अछाम । यहाँ इन्टरलक इँटाको माग बढ्दै गइरहेको छ ।

मङ्गलसेन नगरपालिका–३ मा युवा उद्यमी एकेन्द्र बोगटीले पहिलोपटक यहाँ सञ्चालन गरेका सो उद्योगबाट उत्पादित इँटाको माग अत्याधिक बढ्दै गइरहेको जनाइएको छ ।

बहुउपयोगी रहेको इँटाको सदरमुकाम मङ्गलसेनमा निर्माण हुने निजी सार्वजनिक भवनमा सफल प्रयोग भइसकेको उनले जानकारी दिए । करिब रु पाँच लाखको लगानीमा २०७६ असार १८ गतेदेखि सञ्चालन भएको उद्योगबाट हालसम्म २३ हजार इँटा उत्पादन भई बिक्री भइसकेको छ । कारोवार झण्डै रु १२ लाख रहेको जनाइएको छ ।

बालुवा, सिमेन्ट र माटोको प्रयोगबाट निर्माण गरिने इँटा घर निर्माणमा सबै दृष्टिकोणले राम्रो रहेको बताइएको छ । इँटा उद्योग सञ्चालनका लागि रु तीन लाख ६५ हजार मेशिन खरिदमा लागेको र बाँकी ट्रष्ट निर्माणमा गरी करिब रु पाँच लाख खर्च भएको सञ्चालक बोगटीले बताए । छिटोछरितो, आकर्षक, भूकम्प प्रतिरोधी र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि इँटा निकै उपयोगी छ ।

इँटा उत्पादन हुनुपूर्व नै माग आउने गरेकाले मागअनुसार पूर्ति गर्न नसकिएको उनले जानकारी दिए । रातो इँटाभन्दा तीन भाग ठूलो इँटाको मूल्य प्रतिइँटा रु ५५ देखि ६० सम्म पर्ने बताइएको छ । इँटाको प्रयोगबाट घर निर्माण गर्दा प्लास्टर गर्नु नपर्ने, जाडोमा तातो र गर्मीमा चिसो हुने र छिटोछरितो घर निर्माण गर्न सकिने उनको भनाइ छ ।

सो उद्योगमा अहिले तीनजनाले रोजगारी पाएका छन् । अहिले दैनिक २५० इँटा उत्पादन भइरहेको छ । इँटाको गुणस्तर मापन भइसकेको र सरकारी प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्लाका स्थानीय तहमा निर्माण हुने भौतिक संरचनामा इँटा प्रयोग गर्न मिल्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस