सडक ढलानपछि हरिचौरको मुख्यबजारको आकर्षण बढ्दो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सडक ढलानपछि हरिचौरको मुख्यबजारको आकर्षण बढ्दो


५ चैत्र २०७६, बुधबार


बागलुङ । पुरानो बजार भएकाले सडक चौडा पार्ने काम नभएपछि बागलुङको गल्कोट नगरपालिका-५ हरिचौर बजारका अधिकांश सडकखण्ड ढलान गरिएको छ । ढलानपछि अहिले हरिचौरको मुख्यबजार आकर्षक देखिएको छ ।

यसअघि हिलो र धुलोले सताउने बजारमा ढलानपछि आकर्षण बढेको वडाध्यक्ष नारायणध्वज मल्लले बताए । वडा कार्यालयले गत वर्षको रु ४० लाख खर्चेर बजार क्षेत्रमा ढलान गरेको हो । अझै यहाँको पृथ्वी मावि र वडा कार्यालयतर्फको सडकखण्ड बाँकी छ ।

उक्त खण्ड चालु आर्थिक वर्षमा ढलान गरिने उनले बताए । हाल विद्यालयको भवन पनि निर्माणाधीन छ । भवनको कारणले समेत बाटोमा ढुङ्गामाटो खसेको थियो । अब भने सरसफाइ गरेर ढलान गर्न सकिने अवस्थामा पुगिएको मल्लले बताए ।

वडा कार्यालयले ताराखोलातर्फ जानका लागि उपल्लो बजारको सडकलाई मुख्य सडक बनाउने निर्णय गरेको छ । “पुरानो र ऐतिहासिक बजार भत्काउनभन्दा उपल्लो बजारबाट सडक लैजाँदा सहज हुने भयो”, मल्लले भने, “अहिले कालोपत्रसहितको योजना परेको छ, उक्त काम माथिल्लो बजारबाटै हुन्छ ।” खहरेखोलामा पक्की पुल बनाउने चुनौतीसमेत छ । तर अस्थायी पुलबाट भए पनि सडक सञ्चालन गर्न उपल्लो बाटो सहज हुने स्थानीयवासीको भनाइ छ ।

“विद्यालय नजिक भएको र विस्तार गर्ने ठाउँ पनि थिएन”, हरिचौरस्थित पृथ्वी माविका प्रअ बद्रीप्रसाद ढकालले भने, “साना गाडी हिँड्ने बाटो यहाँ पनि छ, लामो दूरीका र ठूलो गाडी हिँड्ने सडक मुख्य बजारभन्दा बाहिरबाट जाँदा संरचना जोगाउन सकियो ।” धेरै विद्यार्थी भएको र थोरै जमिनमा धेरै भवन बनाएर व्यवस्थापन गर्नु परेकाले सडक विस्तार गर्दा विद्यालयमा क्षति हुने सम्भावना टरेको उनले बताए ।

नगरपालिकाले हाल इलाका प्रहरी कार्यालय रहेको स्थानमा जग्गा किनेर सडक विस्तार तथा अन्य संरचना बनाउने तयारीसमेत गरेको छ । ‘बजारक्षेत्र संरक्षण गर्ने र संरचना बनाउने काम गर्न खोजेका छौँ”, उनले भने, “ऐतिहासिक क्षेत्रलाई पहिचानसहितको विकास गर्न पनि खोजिएको छ ।” हरिचौरले सरसफाइको अब्बल वडा बनाउनसमेत काम गरेको उनले बताए ।

उपल्लो बजारबाट सडक लैजाँदा टेउवा जाने सडकका लागि पनि सहज हुने सामाजिक अगुवा पूर्णसिंह रानाले बताए । टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको छ । उक्त स्थानमा जाने सडक हाल कच्ची छ । पक्की सडक निर्माणका लागि पनि यो सडकबाटै जोडिन्छ । हरेक टोलमा सडक लैजाने आवश्यकतालाई पनि यो सडकले जोडेको छ । सिमलबोटतर्फको गाउँलाई जोड्न पनि सहज भएको स्थानीय नरबहादुर थापाले बताए ।

सडक सफाइका लागि नाली बनाउने, फोहर सङ्कलनका लागि चोकचोकमा बाल्टिन राख्ने र घरघरमा फोहर व्यवस्थापनमा समेत लागिएकाले बनेका सबै सडक सफा बन्ने उनले बताए । डोजर लगाएपछि अलपत्र छाडेर पहिरो खस्ने गरी सडक नबन्ने उनले बताए ।

वडा नं ६ ले पनि हरिचौरमा मुख्य सडक नलाने योजनामा साथ दिएको छ । वडाले नगरपालिकाको कार्यालय रहेको स्थानबाटै राजाको पुल नतरीकन ताराखोला लैजाने सडक बनाएको हो । नगरपालिका र वडाको गरी झण्डै रु २० लाख रकम खर्चेपछि सडक पुगेको हो । यो सडकले ताराखोला जाने सवारीलाई हरिचौर बजार नगइकनै सोझै जाने बाटो खुलेको छ । यो सडकले वडा नं ६ को आन्तरिक सडक विस्तारमा पनि महत्वपूर्ण योगदान पुगेको वडाध्यक्ष नरबहादुर खत्रीले बताए ।

गण्डकी प्रदेश सरकारको रु ४० करोड लगानीमा हटियादेखि ताराखोलासम्म पुग्ने सडकको कालोपत्र गर्ने गरी काम भइरहेको छ । यो सडक बनिसकेपछि ताराखोलासम्म कालोपत्र सडकमा पुग्न सकिन्छ । पहिलो चरणमा भने १२ किमी सडक कालोपत्र हुने ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । आगामी वर्ष गाउँपालिका केन्द्रसम्मै कालोपत्र लैजाने गरी काम गरिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस