निगमले नयाँदिल्लीको उडान घटायो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निगमले नयाँदिल्लीको उडान घटायो


प्रशासन संवाददाता

३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ ।

काठमाडौँ–दिल्ली–काठमाडौँ उडान चैत २ गते (मार्च १५, सन् २०२०) देखि लागू हुने गरी उडान तालिकामा केही कटौती गरेको निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । पहिला दैनिक दुईवटा उडान हुँदै आएको दिल्ली गन्तव्यमा अब निगमले एक मात्रै उडान गर्नेछ । ‘अब बिहानको उडान नियमित राखी साँझको उडान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ’, निगमको विज्ञप्तिमा भनिएको छ ।

बैङ्गलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्चदेखि १५ अप्रिलसम्म स्थगित गरिएको छ । त्यस्तै बैङ्कक गन्तव्यको मार्च ११ र मार्च २५ को उडान एवम् हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको निगमले जनाएको छ ।

निगमले काठमाडौँ दोहाबीचको उडान फागुन २७ गतेदेखि नै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकेको छ । उडान स्थगन गरिएका गन्तव्यको उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने र टिकटको उडानको मिति एकपटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस