इच्छाशक्तिकै कारण सकरात्मक परिणाम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इच्छाशक्तिकै कारण सकरात्मक परिणाम


प्रशासन विशेष ब्युरो

३० फाल्गुन २०७६, शुक्रबार


धुलोधुँवाको पर्याय बनेको राजधानी काठमाडौँलाई खाल्डाखुल्डीको शहरका रुपमा आलोचना गर्नेको कमी थिएन । खाल्डाखुल्डीकै कारण सर्वसाधारणले सास्ती भोग्नु परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खाल्टाखुल्टी पुर्ने निर्देशन नदिएको पनि होइन तर त्यो झारा टार्नेमा सिमित देखिन्थ्यो । यद्धपि पछिल्लो समयमा भने काठमाडौँमा सडक सुधारले सकरात्मक सुधारका संकेत देखाएको छ । कोही उच्चपदस्थ विदेशी पाहुना आए मात्र सडकको स्तरोन्नती हुन्छ भन्ने मान्यता अहिले बदलिएको छ । यतिबेला काठमाडौँ उपत्यकाका मुख्य सडकमै परेका खाडल पुरिएका मात्रै छैनन्, अघिल्लो साँझ धुलाम्मे र उवडखावड सडक विहान चिल्लो र सफा देखिन थालेको छ ।

यतिबेला सरकारको राम्रो र प्रभावकारी कामका रुपमा लिइएको छ सडकको स्तरोन्नती र चर्चामा छन् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ । यो आजको भोलि भने पक्कै भएको होइन । प्रधानमन्त्रीको पटक पटकको निर्देशनपछि पनि नपुरिएका खाल्टाहरु ‘के साच्चिैकै सम्भव छैन त ? भन्ने प्रधानमन्त्रीका विकास व्यावस्थापन विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलियाको अध्ययन, सरोकारित पक्षहरुसँगको निरन्तरको छलफल तथा तत्पश्चात बनाइएको कार्ययोजनाको सफल कार्यान्वयले आम नागरिकले महसुस हुनेगरी उपत्यकाका सडकको स्तरोन्नति सम्भव भएको हो । केही समययता दिउँसो अफिस र साँझको खानापछि मन्त्रालय तथा विभागका पदाधिकारीसहित मध्यरातसम्म सडक मर्मत तथा स्तरन्नतिको अनुगमनमा खटिँदै आएका प्रधानमन्त्रीका विकासविद् इ. थपलियासँग प्रशासन डटकमका लागि एस राज उपाध्यायले गरेको कुराकानी ।

पछिल्ला केही दिन यता राजधानीका सडक मर्मत कार्य तिव्र गतिमा भईरहेको छ, राति खाल्टैखाल्टा भएको सडक विहान चिल्लो देखिँदा हो कि होइन जस्तो पनि लाग्न थालेको छ, एकाएक तात्नुको विशेष कारण ?
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि पनि विकास निर्माणलाई निरन्तरता दिदै आउनु भएको छ । उहाँले आम जनतासँग जोडिएका स–साना कुराहरुलाई पनि मसिनो रुपमा हेर्नुपर्छ भनेर खाल्टाखुल्टीलाई सांकेतिक रुपमा हेर्नुभएको थियो ।

२०७६ मंसिर १ गतेदेखि मलाई विकासविद्को जिम्मेवारी दिइएको थियो । सबै मन्त्रालयका मन्त्री र सचिवहरुलाई राखेर मंसिर ९ गते आयोजना गरिएको समिक्षा बैठकमा प्रधानमन्त्रीज्यूले उपत्यकाका सडकका खाल्टाखुल्टी तत्काल पुर्न निर्देशन दिनुभएको थियो । त्यसभन्दा पहिला पनि पटक पटक निर्देशन दिइसक्नु भएको अवस्थामा काम किन भएन भनेर मैले सोचे र, यही बुँदालाई लिएर काम गर्ने अठोट गरेँ । यद्यपी सँगसँगै ट्राफिक लाईटको विषयमा पनि मैले लामो अध्ययन गरको थिएँ । अहिले ट्राफिक लाइट प्रायः सबै ठाउँमा संचालन भईसकेको छन् ।

भौतिक पूर्वाधार मन्त्री पनि नयाँ आउनु भएकोले शुरुवातबाटै फरक ढंगले अघि बढ्न सकिन्छ भनेर १ हप्ता काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्थाबारे जानकारी लिएँ । काठमाडौँ डिभिजनको ९३ वटा सडक, ललितपुर डिभिजनको ३८ र भक्तपुर डिभिजनका १९ वटा सडकको अवस्थाबारे एक हप्ता अध्ययन गरी सकेपछि सबै डिभिजन प्रमुखहरुसँग भेटे । मन्त्री र सचिवज्यूसँग पनि कुरा गरेँ । सबैसँग कुरा गरिसकेपछि १७ गतेबाट तीनकुनेदेखि गौशाला खण्डबाट काम शुरु गरियो ।

उपत्यकाको कुन कुन ठाउँमा खाल्टाखुल्टी र बिग्रेको छ, एकसरो सबै तिर पुगेँ । अहिले हजारौँ खाल्टाखुल्टीहरु पुरिएपछि पनि थप कहाँ के कसरी काम भयो भनेर राती काम भईरहेको तथा सम्पन्न गरिसकेको ठाउँमा पनि अनुगमन गरिँदैछ । सधैँभरी प्रधानमन्त्रीज्यूले निर्देशन दिइरहन नपरोस् भन्नकै लागि सम्बन्धित निकायलाई सक्रिय गराउँदै सडकको स्तरोन्नतीको कामलाई तदारुकताका साथ अघि बढाइएको हो । यो कुनै विशेष प्रयोजनका लागि नभई विकास कार्यलाई गति दिन नै प्रभावकारी थालनी गरिएको हो ।

गति कहिलेसम्म कायम रहन्छ ? यो हिसाबले उपत्यका कहिलेसम्म खाल्टाखुल्टीमुक्त भईसक्छ ?
यो एकदमै जटिल प्रश्न हो किनभने सडक मर्मत नियमित गरिराख्नु पर्ने काम हो । फेरी पानी प¥यो भने कहिँ कतै खाल्टाखुल्टी हुन्छ तर सोही अनुसार समय समयमा त्यसलाई मर्मतसम्हार गर्नुपर्छ । मुलुक संघीयतामा गईसकेपछि संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । उपत्यकाभित्रै पनि सबै सडक संघ अर्थात् केन्द्रको जिम्मेवारीमा मात्र नभई कतिपय प्रदेश र स्थानीय तहको जिम्मेवारीभित्र पनि छन् । सबैले समयमै आ–आफ्नो जिम्मेवारी पुरा गरिदिएमा चुस्त दुरुस्त राख्न सकिन्छ हैनभने त सर्वसाधारणले यो संघ, त्यो प्रदेश र यो स्थानीयको भनेर बुझ्दैनन् । बुझ्ने भनेकै जो जसको दायित्व र जिम्मेवारी भित्र छ त्यो चुस्तदुरुस्त होस् भन्नेहुन्छ ।

जनताले यो सडक राम्रो, यो नराम्रो भनेर हेर्दैन । अनुकुलता, प्रतिकुलता, ऐन, कानून, नियमावली तथा कार्यक्षेत्र सबै मिलाएर काम गर्नुपर्ने हुन्छ । समग्रमा भन्नुपर्दा शहरी क्षेत्रको मुख्य मुख्य ठाउँमा त हेर्न लायक भइसकेको छ बाँकी ठाउँतिर पनि चैत महिनाभित्रमा सबै सक्ने लक्ष्यका साथ अघि बढेका छौँ ।

खाल्टाखुल्टी पुर्न प्रधानमन्त्रीले कैयौँ पटक निर्देशन दिँदा पनि सोचेअनुरुप काम नभएको अवस्थामा अहिले कसरी लय समातियो ?
अहिलेका भौतिक पूर्वाधार मन्त्री, सचिव, महानिर्देशक डिभिजन प्रमुख लगायत जिम्मेवार अधिकारीहले निकै खट्नु भएको छ । यद्यपि यसअघि कामै नभएको भन्ने होइन तर सही समयमा सही कार्यान्वय कसरी गर्ने भन्ने समस्या नै विकासको प्रमुख बाधक बनेको देखियो ।

पहिले सर्फेसको टेम्पेचर र लेयिङ गर्ने टेम्पेचरलाई मेन्टेन गरेर कहिल्यै पनि जाडो समयमा पिच हुँदैनथ्यो । काठमाडौँ उपत्यकाको हकमा ट्राफिक व्यवस्थापनदेखि अन्य व्यवस्थापनलाई मिलाएर लैजान सकेकै कारण अहिले कामको नतिजा देखिएको हो । अहिले झारा टारेजस्तो गरौँ भन्ने हिसाबले नभई योजना, तयारी र नियमित अनुगमनसहित गुणस्तरीय काम गराउने गरी लागेकोले यो सम्भव भएको हो ।

यहाँ आफै पनि फिल्डमा खटिएर काम गराईरहनु भएको छ, वर्षौदेखि हुन नसकेको काम कसरी केही घण्टा तथा दिनमै हुँदो रहेछ, कर्मचारीले काम नगरेर या काम गराउने जिम्मेवार व्यक्ति नभएर रोकिएको रहेछ ? यहाँले के अनुभव गर्नुभयो ?
काम गराउने तौर तरिकामा पनि अलि अलि भर पर्ला तर व्यक्तिको जेनेटिक गुणले पनि ठूलो भुमिका खेल्छ । कसले कसरी व्यवस्थापन गर्छ र कसरी काम गराउन सक्छ भन्ने रहला तर समष्टिमा हामीले अनुगमन मात्रै गर्ने हो । काम गर्ने भनेकै कर्मचारीले हो । हामीले उहाँहरुलाई प्रोत्साहित गर्दै छिटोछरितो र प्रभावकारी ढंगले काम गराउन उत्प्रेरणा भर्ने हो । जब हामी आफैँ फिल्डमा खट्छौ तब उहाँहरु पनि आफै फिल्डमा आउन बाध्य हुनुहुन्छ । उहाँहरु १२ बजे आउनु भएको छ, हामीहरु सुतिरहन त मिल्दैन भनेर मोरल्ली पनि आफैँ उत्प्रेरित भएर काम गर्दा रहेछन् ।

यहाँ आफै पनि इन्जिनियर भएर कर्मचारी तथा ठेकेदारले ठग्न, छल्न तथा ढाँट्न नसकेर पनि परिणाम देखिएको हो कि ? यहाँको विषय विज्ञताले कतिको काम गरेको ठान्नुहुन्छ ?
यहाँले भनेको कुरामा सत्यता छ । कहाँनेर कमजोरी हुन्छ र के परिक्षण गर्ने भन्ने कुरा मैले थाहा पाउँछु । म सम्बन्धित क्षेत्रको नै भएकोले कसले कहाँनेर बदमासि गर्न खोज्छन्, कुन ठाउँमा लुपहोल हुन्छ त्यो मलाई थाहा छ । म दिनभरी नै बस्न परेन तर दसै मिनेट गएपनि केही प्यारामिटरहरु जाँच गर्छु र त्यसले गुणस्तरमा कहाँनेर असर गर्छ भन्ने ठाउँका ठाउँ देखाउन सक्छु ।

दुई दर्जन बढी मन्त्रालयमध्ये नागरिकलाई महसुस हुने गरी काम गर्ने मन्त्रालयमा परेको छ भौतिक पूर्वाधार । प्रधानमन्त्रीको सचिवालय, मन्त्रालय, विभाग तथा कार्यालयबीच समन्वयतात्मक पाटो कस्तो छ ?
प्रधानमन्त्री कार्यालयले समन्वयको भूमिका बढी खेल्छ । प्रधानमन्त्री कार्यालयमा उपत्यका भित्रको हेर्न भनेर क्विक रेस्पोन्स टिम पनि हामीले बनाएका छौँ । सहसचिवको नेतृत्वमा एउटा कार्यदल पनि छ । काठमाडौँ उपत्यकाको हकमा हेर्ने हो भने महानगरपालिका, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर छलफल गर्र्छाै । त्यसपछि साईड हेर्न पठाउँछौँ । भोलि प्रगति के भयो भनेर भन्छौ र त्यसको नियमित रुपमा अनुगमन हुन्छ ।

हामीबाट समन्वय र अनुगमनसँगै अफ्ठ्यारो फुकाई दिने काम हुन्छ । मैले अफ्ठ्यारोे फुकाई दिने काम गर्छु । अनुगमन गरेर थर्काउने, हप्काउने होइन कि कहाँ कसलाई भनिदिएर खुकुलो हुन्छ त्यो हिसावले काम गर्छु । फिल्डमा अनेकखाले समस्या परिरहेका हुन्छन् ति गाँठाहरु फुकाउने काम गर्ने गरेकोले पनि उहाँहरुले सहज ढंगले काम अगाडि बढाउन सकेको देखिन्छ । देखिँदा व्यक्ति देखिएपनि यो सिंगो टिमले काम गरिरहेको छ । हामीले प्रधानमन्त्रीको सपना पुरा गर्नेतर्फ सघाउने हो । त्यो हुँदा विकास हुने र समग्र मुलुक समृद्ध बन्ने हो ।

प्रधानमन्त्रीको टिमै राम्रो भएन भनिरहँदा सबैभन्दा बढी आलोचना हुने गरेको सडकबाटै सकरात्मक नतिजा देखाउँदै गर्दा नियुक्त सदस्यको विज्ञतामा भरपर्दो रहेछ कि इच्छाशक्ति ?
एउटा त इच्छाशक्ति हो । जतिसुकै विशेषज्ञ र काबिल मान्छे भयो भने पनि उसँग इच्छाशक्ति भएन भने काम हुँदैन । यससँगै म अर्को कुरा पनि जोड्छु त्यो हो समय । समय भएन भने जतिसुकै काम गर्दा पनि परिणाम निकाल्न सकिँदैन । त्यसैले समय पनि हुन प¥यो र इच्छाशक्ति पनि हुनुप¥यो । यो दुईवटा कुरालाई संयोजन गरेर गुडविइलिङ पावरसहित लैजान सकियो भने परिणाम निकाल्न सकिन्छ । मेरो हकमा भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले बोलेको कुरा सम्भव छ कि छैन भनेर म आफूले आफैलाई टेष्ट गरेको पनि हो ।

अर्को महत्वपूर्ण कुरा ठूला महत्वपूर्ण नीतिगत कामहरु पनि धेरै भएका छन् तर त्यसलाई आम नागरिकले देख्दैन । म यहाँलाई उदाहरण दिन्छु नागढुंगामा बन्ने टनेल सुचारु भएपछि मात्र जनताले त्यो महसुस गर्छन् । तर हामीलाई त्यहाँसम्म पुग्न धेरै चरण पार गर्नुपर्छ । हामीले ठूला योजनासँगै आम नागरिकका दैनिकीसँग प्रत्यक्ष जोडिएका र तत्काल गर्न सकिने कामहरुपनि सँगसँगै अघि बढाउनु पर्छ भनेर ट्राफिक लाईट र सडक मर्मत तथा व्यवस्थापन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाएको हो ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
मिडियाकर्मी र मिडियाहरुले जे यथार्थ हो त्यो लेखिदिनु र भनिदिनु होला । बरु राम्रा कुराहरु सुनाउनु परेन, कहिँकतै सुधार्नुपर्ने कुरा छन् भने सुनाई दिदा सुधार्ने मौका पाउँछु । सबैले समयमै आ–आफ्नो जिम्मेवारी पुरा गरिदिएमा हरेक काम चुस्त दुरुस्त राख्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस