इटहरी अस्पतालमा सहायता कक्ष स्थापना गरिने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

इटहरी अस्पतालमा सहायता कक्ष स्थापना गरिने


२९ फाल्गुन २०७६, बिहिबार


इटहरी । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि इटहरी उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उपमहानगरको ७४ औँ बैठकले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रमसहित सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको उपप्रमुख लक्ष्मी गौतमले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइन् ।

उपमहानगरपलिकाले विभिन्न सरोकारवाला निकायसँग बिहीबार छलफल गरेर कार्यक्रम अगाडि बढाउने बताएको छ । बैठकले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि इटहरी अस्पतालमा सूचना सामग्रीसहित हेल्पडेस्क स्थापना गर्ने, सार्वजनिक स्थानमा भेला, सम्मेलन तथा भीडभाड नगर्ने, सामुदायिक विद्यालयमा सूचनामूलक व्यानर तथा साबुनपानीको व्यवस्था गर्ने र नगरवासीलाई साबुनपानीले मिचीमिची हात धुन आग्रह गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

यसरी जनचेतना तथा आवश्यक सतर्कता अपनाउनका लागि सहयोग गर्न निजी स्वास्थ्य संस्थालाई समेत आग्रह गरिएको उपप्रमुख गौतमले बताइन्। इटहरी अस्पतालका निमित्त मेसु मनिष शर्माले यो रोगको भाइरसले विशेष गरेर विभिन्न रोगको सामना गरिरहेका व्यक्ति तथा ६० वर्षभन्दा वढी उमेरका मानिसमा लाग्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस