बाँस्कोटाको घरमा भेटिएको ‘विप्लव पर्चा’ का दश बुँदा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाँस्कोटाको घरमा भेटिएको ‘विप्लव पर्चा’ का दश बुँदा


२८ फाल्गुन २०७६, बुधबार


भक्तपुर । पूर्वमन्त्री गोकुल बाँस्कोटा निवासमा भएको बम विस्फोटको जिम्मा प्रतिबन्धित विप्लव समूहले लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको खुल्न आएको जानकारी दिए।

उनले घटनास्थलमा बिप्लव समूहको पर्चा भेटिएकाले विप्लवको संलग्नता रहेको पुष्टि भएको बताए।

विप्लव समूहले बाँस्कोटाले सरकारको प्रवक्ता पदको समेत दुरुपयोग गरेको दाबी गरेको छ। साथै, समूहमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बाँस्कोटा बनेको भन्दै विष्फोट गराएको जनाएको छ।

घटनास्थलमा भेटिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदांगो पारेकाले करबाही किन नगर्ने भनि उल्लेख गरिएको छ। पर्चामा दशवटा बुँदा समेटिएका छन्।

बुँदागत रुपमा विष्फोटकको कारण उल्लेख गर्दै भनिएको छ, ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।’

सरकारको प्रवक्ता पदको समेत दुरुपयोग गरेको दाबी गरिएको छ । साथै, समूहमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बास्कोटा बनेको पनि दाबी गरिएको छ ।

बास्कोटाविरुद्ध लगाएका १० आरोप

१. सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा (७० करोड) घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।

२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोर-जी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले।

४. १० अर्बको अप्टिकल फाइवर विस्तारमा करोडौँ कुम्लाएर देशलाई कंगाल बनाउने भूमिका खेलेकाले ।

५. मोवाइल डिभाइस् र स्कुलमा इन्टरनेट सेवा(सुविधाको नाममा करोडौं हिनामिना गरेकाले ।

६. सरकारको प्रवत्ता पदको दुरुपयोग गरी देशभरको ठुला परियोजनाबाट अरबौं घोटाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फाँसिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयवल्सशैलीमा निक्रिष्ट, उदण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले

९. आफ्नो औकात भुलेर कान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको
असली ठेकेदार र मुलुकमा साँडेखालको दादागिरी मच्चाएकाले।

१०. देशलाई अहिलेको जर्जर र संकटग्रस्त अवस्थामा पुर्‍याउने नामुद दलाल भ्रष्ट मध्ये एक भएकाले।

 

Tags :
प्रतिक्रिया दिनुहोस