कोरोना भाइरस सङ्क्रमणबाट विश्वभर ४ हजार भन्दा बढीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस सङ्क्रमणबाट विश्वभर ४ हजार भन्दा बढीको मृत्यु


प्रशासन संवाददाता

२७ फाल्गुन २०७६, मंगलबार


बेइजिङ । कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् ।

यस भाइरस सङ्क्रमणका कारण विश्वभरी चार हजार २७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।

बङ्गलादेश, अल्बानिया र पाराग्वेमा तीन ओटा नयाँ देशमा कोभिड–१९ का सङ्क्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

गत वर्षको अन्त्यबाट यस भाइरसको सङ्क्रमण शुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट मृत्यु भएपछि तीन हजार १३६ पुगेको जनाइएको छ ।

एक दिनमा मारिएका १७ मध्ये १६ जना हुबेईको प्रान्तीय राजधानी वुहानका रहेका जनाइएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमणको कारण जनवरीको अन्त्यदेखि हालसम्म एकै दिनमा मृत्यु भएको यो सबैभन्दा कम सङ्ख्या भएको पनि समाचारमा जनाइएको छ ।

गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस सङ्क्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । गत २४ घण्टामा विश्वभरी तीन हजार ९९३ मा यस भाइरसको थप सङ्क्रमण देखिएको डब्लुएचओले जानकारी दिएको हो ।

इटालीमा यस भाइरसको सङ्क्रमणपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या ४६३ पुगेको जनाइएको छ । त्यसैगरी दक्षिण कोरियामा सात हजार ५१३ जना सङ्क्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच प्राप्त समाचार अनुसार इरानमा सात हजार १६१ जना सङ्क्रमित रहेका र २३७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।

विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ ।

घातक कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या भारतमा ४७ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।मङ्गलबारसम्म ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ ।

उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।

उता जर्मनीमा भने सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार ११२ जना सङ्क्रमित भएको जनाएको छ । यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रमहरु स्थगित गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार माल्दिभ्समा अहिलेसम्म दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

जापानमा भने मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म १६ पुगेको छ । सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको छ । स्थानीय समयअनुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन् ।

त्यसैगरी बेल्जियममा सङ्क्रमितको सङ्ख्या २३९ पुगेको छ भने हङ्कङमा ११५, प्यालेस्टाइनमा २५, मलेसियामा ११७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ ।रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस