निजामती सेवामा महिलाको प्रतिनिधित्व « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निजामती सेवामा महिलाको प्रतिनिधित्व


२५ फाल्गुन २०७६, आइतबार


नौ वर्षको अवधिमा निजामती सेवामा महिलाको प्रतिनिधित्व झन्डै दोब्बरले बढेको छ । निजामती किताबखानाबाट प्राप्त तथ्यांकअनुसार निजामती सेवामा आर्थिक वर्ष ०६७/६८ मा १३ दशमलव ८४ प्रतिशत रहेको महिला प्रतिनिधित्व अहिले २५ दशमलव ७६ प्रतिशत पुगेको छ ।

किताबखानाका अनुसार आव ०६७/६८ मा निजामती सेवामा कार्यरत ६७ हजार ७५ कर्मचारीमध्ये १० हजार सात सय ७३ महिला थिए । हाल कुल ८६ हजार आठ सय कर्मचारीमध्ये २२ हजार तीन सय ५९ कर्मचारी महिला छन् । यस अवधिमा निजामती सेवामा महिला प्रतिनिधित्व ११ दशमलव ९२ प्रतिशतले बढेको छ ।

खासगरी, समावेशिताको व्यवस्था भएदेखि महिला निजामती सेवामा महिलाको प्रतिनिधित्व बढेको हो । राज्य सञ्चालनमा महिलाको प्रतिनिधित्व बढाउने उद्देश्यले तत्कालीन सरकारले ०६४ मा समावेशिताको व्यवस्था गरेको थियो । सोहीअनुसार आव ०६६/६७ देखि निजामती सेवामा समावेशिताको व्यवस्था लागू भएको थियो । जसले खुला प्रतियोगिताद्वारा पूर्ति हुने ४५ प्रतिशतमध्ये ३३ प्रतिशत कोटा महिलाका लागि सुरक्षित गरेको थियो ।

निजामती सेवामा महिलाको प्रतिनिधित्व बढे पनि नेतृत्व तहमा भने महिलाको प्रतिनिधित्व अत्यन्त कमजोर छ । निजामती सेवाको सर्वोच्च पद सचिव (विशिष्ट श्रेणी)मा पुग्ने महिलाको संख्या निकै कम छ । आर्थिक वर्ष ०६७/६८ मा चारजना महिला विशिष्ट श्रेणीमा पुग्न सफल भए ।

हाल ६९ जना विशिष्ट श्रेणीको दरबन्दीमा तीनजना महिला मात्र छन् । जसमा यामकुमारी खतिवडा (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय), देवकुमारी गुरागाईं (निर्वाचन आयोग) र राममाया कुँवर (महालेखापरीक्षक कार्यालय) मात्र विशिष्ट श्रेणीमा कार्यरत छन् । समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस