प्रधानमन्त्रीका मुख्य सूचक राम्रो अवस्थामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीका मुख्य सूचक राम्रो अवस्थामा


प्रशासन संवाददाता

२१ फाल्गुन २०७६, बुधबार


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उनको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जनाइएको छ ।

हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षामा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ओलीको उपचार टोलीमा चिकित्सक प्रा डा.दिव्या शाह, डा.महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा.रवीन नेपालीलगायत छन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्ग्रौलाको शल्यक्रिया टोलीमा प्रा डा.उत्तमकुमार शर्मा, प्रा डा.प्रेम ज्ञवाली, प्रा डा.आनन्द कुमारलगायत छन् । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ र प्रा डा सुवास आचार्यलगायत छन् ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान १०ः०० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पताल परिसरमा उपस्थित शुभेच्छुकले खुशियाली मनाएका थिए । मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस