स्वास्थ्य मन्त्रालयको टोलीद्वारा भरतपुर अस्पतालको निरीक्षण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य मन्त्रालयको टोलीद्वारा भरतपुर अस्पतालको निरीक्षण


२१ फाल्गुन २०७६, बुधबार


चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो ।

सो अवसरमा दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउनसक्ने खतराबारे सजग रहन निर्देशन दिए । छिमेकी देश र रोजगारीको सिलसिलामा गएर फर्किएकालाई घरमा नै बसेर क्वारेन्टाइन गराउनतर्फ केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ थियो । अस्पतालमा आएका बिरामीमध्ये विदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेलाई निगरानी बढाउन उनले निर्देशन दिए ।

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना भाइरस देखिइहालेमा अस्पतालले गरेका पूर्वतयारीका बारेमा जानकारी दिएका थिए। उनले पाँच श्ययाको छुट्टै कक्ष (आइसोलेसन वार्ड) स्थापना गरिएको, दुई चिकित्सकलाई विशेष जिम्मेवारी (फोकल पर्सन) तोकिएको बताए । ज्वरोका बिरामीलाई छुट्टै परीक्षण गरिएको र विशेषज्ञ चिकित्सकहरुबीच नियमित अन्तरक्रिया गरिएको उनले जानकारी दिए।

अस्पतलमा अहिले मास्क र पिपी (उपचारका क्रममा लगाइने कपडा) अभाव रहेको भन्दै त्यसको व्यवस्थापनका लागि उनले आग्रह गरे । कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै अस्पतालका स्वास्थ्यकर्मीलाई सचेत गराउने र जनचेतना फैलाउने काम भइरहेको तिवारीले बताएका थिए । भरतपुर अस्पतालमा चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस