जिल्ला अस्पताल फाप्लुलाई ३० लाखको उपकरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जिल्ला अस्पताल फाप्लुलाई ३० लाखको उपकरण


२१ फाल्गुन २०७६, बुधबार


सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुलाई रु ३० लाख बराबरको उपकरण प्राप्त भएको छ । प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश नं १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लब इन्टरनेशनलले प्रसूतिका लागि अति आवश्यकीय १२ प्रकारका उपकरण प्रदान गरेको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा लाइन्स क्लब इन्टरनेशनलका पूर्वगभर्नर अनन्त भेटवालले हिमाली जिल्ला सोलुखुम्बु विश्वकै आकर्षणको केन्द्र भएकाले सहयोग गरेको बताए। उनले पर्यटनको आकर्षणको केन्द्र सोलुखुम्बुलाई हरेक सेवासुविधाको हिसाबले अब्बल बनाउनु आजको आवश्यकता भएको बताए।

सो अवसरमा फाप्लु अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले लाइन्स क्लबको सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास व्यक्त गरे । उनले हिमाली जिल्ला दुर्गम जिल्लामै पर्ने भएकाले पनि यहाँका जनता स्वास्थ्यलगायत अन्य अति आवश्यक सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताए।

लाइन्स क्लब अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुँदै सोलुखुम्बुसम्म ढुवानीको जिम्मेवारी लाइन्स क्लब काठमाडौँले गरेको छ । अत्यन्तै संवेदनशील उपकरण भएकाले पोखराबाट सोलुखुम्बुसम्म ढुवानी गर्न करिब रु एक लाख २५ हजार बराबर खर्च भएको लाइन्स क्लब काठमाडौँका सभापति राजेन्द्र कोइरालाले बताए ।

जनशक्ति भए पनि उपकरण नहुँदा यहाँका अधिकांश महिला ओखलढुङ्गाको मिशन अस्पताल या काठमाडौँलगायत अन्य स्थानमा जानुपर्ने बाध्यता छ । सोही बाध्यतालाई दृष्टिगत गर्दै उपकरण सहयोग मागिएको प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक राजभण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस