आईजिपी ज्ञवालीसहित चार प्रहरी अधिकृतविरुद्ध मानहानी मुद्दा चलाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आईजिपी ज्ञवालीसहित चार प्रहरी अधिकृतविरुद्ध मानहानी मुद्दा चलाउन सर्वोच्चको आदेश


१७ फाल्गुन २०७६, शनिबार


काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी)सहित चारजना प्रहरी अधिकृतविरुद्ध अदालतको अवहेलनामा मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई थुनामुक्त भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउका घटना बारम्बार दोहोरिएपछि प्रहरी महानिरीक्षक, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे प्रमुख, महानगरीय प्रहरी परिसर टेकु प्रमुख र महानगरीय प्रहरी वृत्त सिंहदरवार प्रमुखविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

अदालतले छोड्‍न आदेश दिँदा पनि प्रहरीले फेरि पक्राउ गरेर हिरासतमा लिएका नेत्रविक्रम चन्द समूहका कार्यकर्ताहरू भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीको तर्फबाट भीमप्रसाद शर्माले दायर गरेको रिटमा सर्वोच्चले शुक्रबार उक्त आदेश दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण आदेशबाट छुटेका व्यक्तिलाई अदालतको गेटबाट पक्राउ गरेको भन्‍ने उजुरीमा सुनुवाइ गर्दै अदालतको मानहानीमा प्रहरी अधिकारीहरूविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो।

चन्द समूहका तीनैजना कार्यकर्ता फागुन ५ गते सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण आदेशमा रिहा भएका थिए। सर्वोच्चको आदेशमा रिहा भएका उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले अदालतको गेटबाटै पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई थुनामुक्त भएका व्यक्तिलाई प्रहरीले अदालतको गेटबाट पक्राउ गरेको विषयमा बुझ्‍न प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, महानगरीय प्रहरी वृत्त सिँहदरवारका प्रमुख डिएसपी कौशल बुढाथोकी, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदी र महानगरीय प्रहरी वित्त सोह्रखुट्टे प्रमुख डिएसपी सन्तोषसिंह राठौरलाई अदालतमा उपस्थित हुन भनेको छ।

न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘यो आदेशको जनाउ पाएको ७(सात) दिनभित्र महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका प्रमुख, महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख र प्रहरी महानिरीक्षक सहितका ४ जना प्रहरी अधिकारीका नाउँमा लिखित जवाफ लिई आफै उपस्थित हुन आउनु भनी म्याद जारी गरी रीतपूर्वक तामेल गराउनु’

‘यो आदेशको प्रतिलिपि राखी अवहेलना मुद्दाको छुट्टै मिसिल खडा गरी, मुद्दा दर्ता गरी, अरु कानुन बमोजिम गरी लिखत जवाफ परेपछि वा सो अवस्था नाघेपछि नियमाअनुसार पेश गर्नू’ आदेशमा लेखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस