भित्रीकोट : जे देखियो ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भित्रीकोट : जे देखियो !


१७ फाल्गुन २०७६, शनिबार


पाल्पा भन्दा पश्चिमका राज्यहरूमा प्युठान राज्य पनि शक्तिशाली मानिन्थ्यो । प्युठानमा मध्यकालमा सिंह राज परिवारले शासन चलाएको मानिन्छ भने त्यसपछि मगर जाट राजा र सो पश्चात् चन्द वंशीय राजाहरूले शासन गरेको पाइन्छ । सदर मुकाम नजिकै मल्ल राजा, उदयपुर कोटमा ब्राह्मण अधिकारी राजा (जोसँग सैन्य शक्ति नै थिएन) भए । एकीकरणको समयमा चन्द वंशीय राजालाई पराजित गरी बि.सं. १८४३ मा नेपाल अधिराज्यमा प्युठान पनि गाभिएको हो । चन्द वंशीय राजाले भित्रीकोटको दरबारबाट नै प्रशासनिक कार्य सञ्चालन गरेको पाइन्छ । ऐतिहासिकता बोकेको उक्त क्षेत्र भ्रमण गर्ने हुट हुटी भने सधैँ रहेको थियो । भित्र कोटको डाँडो घरबाट सधैँ देखिए पनि उक्त क्षेत्रमा जाने जोहो मिलेको थिएन । प्युठान नगरपालिकाले भित्रीकोट दरबारलाई पर्यटकीय स्थानको रूपमा राखेको छ । त्यसैले पनि उक्त स्थानमा जाने जमर्को गरेँ ।

२०७६/११/०९ गते त्यस क्षेत्रको अवलोकन गर्ने अवसर जुराई दिने प्युठान नगरपालिकाको उपप्रमुख प्रति आभार प्रकट गर्दछु । शिवरात्रिको उक्त दिन सिम सिम पानी परेको अवस्थामा पहिले दाङ र हाल काठमाडौँ कोटेश्वरका कुमार शर्मा आचार्य, रुपन्देही बुटवलका खुमकान्त पौडेल र प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यसँगै बिहान ७ बजे उक्त स्थानमा पुगियो । नगरपालिकाको वडा ४ मा पर्ने उक्त स्थान बिजुवार बजारको हल्दीखोलाको बाटो हुँदै करिब ५ कि.मिको यात्रा तय गरेका थियौँ । उक्त क्षेत्रमा ७ र ८ नं वडाबाट पनि कच्चिबाटोको प्रयोग गरी जान सकिन्छ । झन्डै आधा घण्टाको गाडीको यात्रासँगै भित्रीकोटलाई लक्षित गरी नगर पालिकाबाट बनाइएको गार्डेनतर्फ अवलोकन गर्न पुग्यौँ ।

के. देखियो ?
क) गार्डेन
नगरपालिकाले संरक्षण गर्न खोजेको उक्त स्थानको केही भागलाई तार बार गरेको छ । उक्त क्षेत्रलाई रमाइलो डाँडा भन्ने गरिएको स्थानीय ७९ वर्षीय ढालबहादुर थापा भन्नुहुन्छ । उक्त स्थान भित्र प्रवेश गर्न फलामे गेटको निर्माण बिचमा एउटा मन्दिर, ढिकीच्याउँ, चिप्लेटी, झुला आदि जस्ता बालमनोरञ्जनलाई ख्याल गरी निर्माण गरिएको रहेछ । तर त्यहाँ शौचालय र खान पानीको व्यवस्था भने देखिएन । उक्त स्थानबाट स्वर्गद्वारी, अन्नपूर्ण हिमाल, प्युठान उपत्यकाको केही भागहरू पनि देख्न सकिन्छ । दाखाकोट, खैराकोट, मल्ल रानी, लिस्ने धुरी देउराली लगायत पहाडी क्षेत्रको मनोरम वैभवतामा डुबुल्की मार्न सकिन्छ । उक्त गार्डेनमा विभिन्न किसिमका फूलका बिरुवाहरू रोपण गरेको उपप्रमुख आचार्य बताउनुहुन्छ । गार्डेन क्षेत्रलाई स्थानीयहरू नाच्ने डाँडा पनि भन्दा रहेछन् । अहिले सो स्थान पिकनिक स्पटको रूपमा विकास हुँदै गएको देख्न सकिन्छ ।

ख) दरबार
उपप्रमुखकै अगुवाइमा भित्री कोट दरबारतिर लाग्यौँ । सानो घरलाई आफ्नो आश्रय स्थल बनाएका ७९ वर्षीय ढालबहादुर थापामगर दरबार क्षेत्रको हेरचाह गर्ने व्यक्ति हुनुहुँदो रहेछ । राजाहरूले बनाएको सिँढीलाई २०७०/०२/२० मा बनाएको सिँढी र प्रवेश गेटबाट झन्डै ५ मिनेट पछि अर्को गेट निर्माण गरिएको रहेछ । उक्त गेटबाट भित्र प्रवेश गरेपछि भित्रीकोको प्रशासनिक भवनको भग्नावशेष देख्न सकिन्छ । लम्बाई झन्डै २४ हात चौडाइ १५ हात जस्तो मानिने र भित्र कोठैकोठाको खण्ड खण्ड जस्तो देखिने भाग छ । दरबार भएको चार शूरहरू यिनै हुन भन्दै थिए थापा । चारैतिर पर्खाल लगाइएको छ । पश्चिमतर्फको पर्खाल लगाउँदा लगाउँदै भत्किएको देखिन्छ । पूर्वतर्फ भ्यु टावरको रूपमा सिमेन्टको पर्खालले छेकेर बनाइएको छ । घरको किल्ला वरपर खन्दा मानव कङ्कालहरू भेटिएकोले उत्खनन रोकिएको छ । पाकेका इट्टा ढुङ्गाहरू यत्रतत्र छरिएको देखिन्छ । दरबार क्षेत्रको वरिपरि ९ स्थानमा सेन्ट्री राखिएको भग्नावशेष देखिन्छ । क्षेत्रपाल मन्दिरको पश्चिम पट्टी भागमा काठको मौलो जस्तो निकै पुरानो खालको मौलो ढुङ्गाको कापमा अडाइएको छ जसलाई संरक्षित रूपमा राख्नु पर्ने देखिन्छ । उक्त मौलो हेर्दा सामान्यतया ५०० वर्ष भन्दा पुरानो जस्तो देखिन्छ ।

ग) क्षेत्रपाल मन्दिर र खडगथान
दरबारको पश्चिमपट्टि भागमा क्षेत्रपाल मन्दिर र खडगथान पनि छ । क्षेत्रपाल मन्दिरमा बुट्टेदार कलात्मक टुँडालहरू पनि जडिएका छन् । उक्त टुँडालहरूलाई हेर्दा त्यति बेलाको कलाहरू काठमाडौँ उपत्यकामा मन्दिरको टुँडालहरू भन्दा कम कलात्मक छैनन् । साना ठुला घण्टहरू पनि छन् । एकदमै पुरानो घण्टको केही भाग फुटेर टुटेको देखिन्छ । क्षेत्रपाल मन्दिर सानो छ । ढोका खोलेर दर्शन गर्ने अवसर पाइयो भने अर्को खडगथानको पूर्व पट्टीको भागको टिनको छाना हावाले उडाइदिएको रहेछ । खडगथान भित्र पस्दा एउटा सो केश रहेको छ । उक्त स्वकेशमा एउटा दमाह(बाजा र नगरा) राखिएको छ । भित्रपट्टी अर्को ढोका खोलेर हेर्दा पुराना तरबार, ढुङ्गे हतियार, चुप्पी, खुकुरी जस्ता हतियारहरू देखिन्छ । चाँदीको जलप र सुनको जलप लगाइएका ती हतियारहरू तत्कालीन शासकहरूले प्रयोग गरिएको भनिँदो रहेछ । त्यहाँ विभिन्न किसिमका हात हतियार, ढाल, तरबार, तोपगोला, बन्दुकहरू पनि थिए रे तर अहिले ती सामाग्रीहरू हिनामिना भएको भन्छन् थापा ।

घ) वनस्पति
दरबार भित्र र त्यसको वरिपरि जग्गाका बोट, निगालीबाँस, टिमुर, केरा, अम्बा, सिमल र विभिन्न प्रजातिका बोट बिरुवाहरू त्यसको यत्रतत्र भेटिन्छ जसको संरक्षण हुन जरुरी देखिएको छ ।

ङ)भित्रीकोटबाट देखिने मनोरमदृश्यहरु
भित्री कोट गार्डेन र भित्रीकोट दरवारलाई जोडेर हेर्दा नै भित्रिकोटको असलियत हुन जान्छ । भित्रीकोटसंग जोडनै पर्ने स्थानहरूमा पश्चिम मंग्राखोला, उत्तर लम्च्याङ, र गुरुङ गाउँ, दीक्षामा खडगडेरा,तारिकेचौर पूर्वमा झिमरुक फाँट र झिमरुक नदी, बिजुवार टिकुरी लगायत प्युठान उपत्यका, मल्लरानी र सदरमुकाम खलङ्गा, नारीकोट, आखरकोट खैराकोट लगायत विभिन्न पहाडी थुम्काहरूको प्राकृतिक रसास्वादन गर्न पाइन्छ । विभिन्न जात जातीको बसोबास स्थल देखिने भएकोले सोबाट जिल्लाको छुट्टै पहिचान बनाउनको लागी पनि यसले मद्दत गर्दछ ।

च. सिद्धेश्वरी गुफा
क्षेत्रपाल मन्दिर र खडगथान मन्दिर भन्दा झन्डै १०० मिटर तल सिद्धेश्वरी गुफा रहेको पाइन्छ । उक्त गुफाको बाटो हुँदै तत्कालीन शासकहरू गोप्य रूपमा झिमरुक नदीमा स्नान गरी सोही बाटोबाटै फर्कने गर्दथे भन्ने किम्बदन्ती पनि छ

छ. रकते पोखरी
भित्रिकोट दरबार पुग्नु भन्दा २०० मि. तल रकते पोखरी पनि रहेको छ । तत्कालीन शासकहरूसँग हमला गर्न जाँदा आफना बैरीहरूलाई खुँडातरवारको सहायताले परास्त गर्दा त्यस्ता शत्रुहरूको रगतको खोलो बग्न गई उक्त पोखरीमा सङ लिन गएकोले त्यसलाई रकतेपोखरी भन्ने गरिएको हो भन्ने किम बदन्ती छ ।

गुठियार
क्षेत्रपाल र खडगथानको नित्य पुजाको लागी गुठीको व्यवस्था पनि गरिएको रहेछ । क्षेत्रपाल मन्दिर र खडगथान मन्दिरको लागी दिइएको रुक्काहरुलाई हेर्दा प्युठान नगरपालिका ७ मा बस्ने छबिलाल पोखरेलसँग रहेको सम्बत १८७१ वैशाख सुदी ५ रोज १ मा श्री ५ महाराज धिराजबाट दलभजन पाँडे मार्फत शक्तिनारायण उपाध्यायलाई प्युठान दरबारको कोटको पुरुहत्याइ र श्री क्षेत्रपालको पूजाको लागी गुठीको थिती बाँधेको रुक्का १ र संबत १८९६ वदी ६ रोज ६ मा श्री ५ रणजङ्ग पाण्डे, तारानाथ अर्याल र रणगम्भिर पाण्डे मार्फत गौरीश्वर पाध्यालाई प्युठान दरबारको कोट पुरोहित्याई श्री क्षेत्रपालको नित्य नैमित्य पूजा चलाउन पूजाहारी थामी दिएको सम्बन्धमा भएको रुक्काबाट पनि उक्त दरबार क्षेत्रको लागि बाहुनहरूलाई दरबारको नजिक राखेको देखिन्छ । यस प्रकारका रुक्का सवालहरूबाट चन्द राजा पछि आएका र पराजित भइसकेपछि नेपालको एकीकरण पश्चात् नै क्षेत्रपाल तथा खडगदेवताको लागि राज्यबाटै गुठीको व्यवस्था गरेको देखिन्छ ।

 

गन्तव्यको लागि तत्कालै गरिनुपर्ने कार्यहरू
क) भित्रिकोटसम्म पुग्ने पुरानो बाटोहरुलाई पैदल बाटो हिंडनसक्ने गरी बाटोको मर्मत हुन जरुरी देखिएको छ । यसरी हिंडदा सिँढीहरू अपाङ्ग मैत्री , बाल मैत्री र बृद्धा मैत्री पनि हुन जरुरी देखिएको छ । बाटोको दुबैसाइडमा सामान्यतया रेलिङहरू राख्ने सके अझ राम्रो हुने थियो ।

ख) पुरातत्त्व विभागबाट तत्कालै सो क्षेत्रमा उत्खनन गरी त्यसको ऐतिहासिकता र यथार्थता बाहिर ल्याई परम्परागत अवस्थालाई झल्को दिने गरी पुरानै संरचनामा पुनः निर्माण हुन जरुरी देखिएको छ ।

ग) जाट राजाहरू, सिंहराजाहरु र चन्द राजाहरूको बारेमा आधिकारिक प्रमाणहरू सङ्कलन गरी उनीहरूको जीवन शैली र अवस्थालाई उजागर गर्न सके त्यस क्षेत्रको सांस्कृतिक, सामाजिक र आर्थिक अवस्थाको बारेमा सत्य तथ्य बाहिर ल्याउनु पर्ने देखिन्छ भने उनीहरूले प्रयोग गरेका वस्तुहरूलाई सङ्गृहीत गरी संग्राहलय स्थापना गर्नु पर्ने जरुरी देखिएको छ ।

घ) बाटोको घुम्ती र अलमलिने स्थानहरूमा भित्रीकोट जाने बाटो देखाइदिने र मोटर जानको लागी अलि चौडा बाटो बनाउनु पर्ने हुन्छ । राजाहरू हिंडने बाटोहरूलाई पुनः निर्माण गरी ऐतिहासिकता झल्काउन जरुरी देखिएको छ भने फूलबारी डेवनडेरा हुँदै भित्रिकोटसम्म जानको लागी घोडासवार राख्ने गरेमा पर्यटकहरू हर्षराइडिङको लागी पनि आकर्षित हुन सक्दछन् । सुलभ र पदमार्गको व्यवस्थापनले सो क्षेत्रको विकास हुन सक्दछ ।

ङ) भित्रिकोटलाई नै केन्द्र बिन्दु बनाएर संग्राहलयको रूपमा केही भागलाई छुट्टाई दिने र त्यस क्षेत्रको अवलोकन अध्ययन गर्नको लागी विशेष व्यवस्था हुनु पर्ने देखिन्छ । साथै भित्रिकोटको सम्बन्धमा तथ्यपरक खोज अनुसन्धान गर्नुपर्ने अवस्था पनि त्यतिकै खडकिएको छ

च) भित्रिकोटसँग जोडिएका लम्च्याग, गुरुङ गाउँ , मगर बस्ती लगायत त्यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई होमस्टेको अवधारणमा रूपान्तरण गर्ने र स्थानीय बासिन्दाहरूको लागी स्थानीय परिकारमै रमाउनको लागी क्षमता अभिवृद्धि गर्नु पर्ने देखिन्छ जसको लागी कोदो फापर मकै गहुँ लगायतका परिकार र रोधी, मारुनी, पुरुसुङ्गे, सराय नाचहरूबाट सांस्कृतिक बैभवकासाथ स्वागत र सुरक्षित वासस्थानमा परिणत गर्न जरुरी देखिएको छ ।

छ ) यहाँका जाति जनजाति र शासकहरूबाट प्रयोग भएका सामानहरू र त्यस्ता सामानहरू लोप भएका ,हराएका वा हिनामिना भएका छन् भने त्यसलाई सङ्कलन गरी भित्रिकोट दरबारको सामानहरूको लगत सङ्कलन गर्ने र अनुसन्धानात्मक कार्यको लागी प्रचार प्रसार गर्ने । यसले यस क्षेत्रको सभ्यता संस्कृतिको बारेमा तथ्यगत अवस्थाहरू बाहिर आउनाले एउटा सभ्यता उजागर हुन सक्दछ ।

ज) भित्रिकोट दरबारसँग जोडिएको टुँडिखेल, भैरवनाथ, बारुतखाना र अन्य स्थानलाई पनि प्याकेजको रूपमा एकाकार गर्ने र डेवन्डेरामा रहेका क्षेत्रपाल मन्दिर, फूलबारी र सोसँग सम्बन्धित अन्य वस्तुहरूको पनि संरक्षित गर्न जरुरी देखिएको छ जसले गर्दा यस क्षेत्रको विकासको लागी कोषे ढुङ्गा साबित हुन सक्दछ ।

झ) यस क्षेत्रको विकासको लागी साहसिक खेल बन्जी, प्यारागलाइडिंग, हर्षराइडिंग, साइकल कलाइम्बिंग र म्याराथन र सराय जस्ता खेलहरूको व्यवस्था गर्नाले आन्तरिक एवं बाह्य पर्यटकको लागी आकर्षण हुन सक्दछ ।

ञ) चट्टान, माटो, गुफा जस्ता वस्तुहरूलाई व्यवस्थित गरी प्राकृतिक संरचनामा गार्डेनहरूको निर्माण गर्न सकिन्छ । सिंह र चन्दहरूको वंशावली सभ्यताहरूको बारेमा लिपिबद्ध भए पनि जाट(मगर) राजाहरूको सांस्कृतिक धार्मिक परिचय खुल्ने गरी त्यसको व्यवस्थापन गर्न जरुरी छ यस कार्यले सांस्कृतिक सभ्यतामा समावेशी सिद्धान्तलाई संरक्षण गर्न सकिन्छ । यसले पनि आन्तरिक एवं बाह्य पर्यटकको व्यवस्था हुन सक्दछ ।

ट) झिमरुक नदीलाई आधार मानी दम्पती देखी झमरुक जलविद्युत डयामसम्म र्‍याफ्टिंग, वा ठानाचौर वा ठानाकोटमा चिल्ड्रेन पार्कसमेत निर्माण गर्ने र झिमरुक फाँटको संरक्षणले पनि पर्यटकको लागी गन्तव्य स्थल बन्न सक्दछ ।

अन्त्यमा भ्रमण वर्ष दौडने मात्र होइन यसको अनुसन्धान अन्वेषण र पर्यटनको लागी आधार पनि खडा हुनको लागी पनि यो वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस