अधिकारसँगै कर्तव्यबोध हुनु आवश्यक : मन्त्री गुरुङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अधिकारसँगै कर्तव्यबोध हुनु आवश्यक : मन्त्री गुरुङ


प्रशासन संवाददाता

१६ फाल्गुन २०७६, शुक्रबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभ्य समाज निर्माणका लागि सर्वसाधारणमा अधिकारसँगै कर्तव्यबोध हुनु आवश्यक भएको बताएका छन् ।

नेपाल स्काउटद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय स्काउट आधारभूत तालीमको आज यहाँ उद्घाटन गर्दै उनले नेपालमा अधिकारका कुराले धेरै प्राथमिकता पाए पनि कर्तव्यका विषय त्यसअनुरुप उठ्न नसकेको बताए । राजनीतिक आन्दोलनदेखि एनजिओ आइएनजिओले पनि अधिकारका कुरालाई नै सधैँ उठाइरहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले नागरिकलाई अधिकारसँगै उनीहरूको दायित्व तथा कर्तव्यबारे जानकारी हुनुपर्ने बताए ।

देश परिवर्तित संघीय शासन व्यवस्थाअनुरुप समृद्धि र विकासको बाटोमा अघि बढेको उल्लेख गर्दै उनले देशमा राजनीतिक स्थिरतासमेत कायम भएका कारण विकासमा क्रमशः गति लिँदै गएको बताए । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले लामो समयदेखि अन्योलतामा गुज्रिएको स्काउटलाई वर्तमान सरकार आएपछि गतिशील बनाइएको बताए ।

नेपाल स्काउटलाई समयसापेक्ष अघि बढाउनका लागि नयाँ ऐनको मस्यौदा अघि बढाइसकिएको बताउँदै उनले आगामी अधिवेशनमा उक्त ऐन संसद्बाट पारित हुने बताए । प्रदेशस्तरमा स्काउटका तदर्थ समिति गठन गरिने बताउँदै मन्त्री विश्वकर्माले देशका सबै स्थानीय तह एवं विद्यालयसम्म स्काउटका संरचना पुर्‍याइने जानकारी दिए ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताउँदै प्रदेशस्तरमा गरिने यस किसिमका प्रशिक्षण बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सांसद विद्या भट्टराई, प्रदेशसभा सदस्य कृष्ण थापा, राजीव पहारी, विन्दुकुमार थापालगायतले स्काउटको महत्वबारे प्रकाश पारे । पोखरामा आगामी फागुन २० गतेसम्म चल्ने प्रशिक्षणमा गण्डकी प्रदेशअन्तर्गत ८५ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी १८ देखि ३५ वर्ष उमेर समूहका ३९१ प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा जानकारी गराइयो ।

Tags :
प्रतिक्रिया दिनुहोस