वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री खतिवडा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री खतिवडा


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताए ।

वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उनले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राखे । अर्थमन्त्री डा. खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको बताए ।

उनले बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बीमा संस्थाले गरिरहेको भनाइ राखे। गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा.खतिवडाले पछिल्लो पटक छायाँ बैंकिङ मौलाएको बताए ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरिञ्जीवी नेपालले पछिल्लो समय बैंकले कृषि, ऊर्जाजस्ता उत्पादन क्षेत्रमा लगानी बढाएको जानकारी दिए । उनले उत्पादकत्व क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताए । उनले नेपालको आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व देखिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस