सुत्केरीको मृत्यपछि वीपी प्रतिष्ठान तनावग्रस्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुत्केरीको मृत्यपछि वीपी प्रतिष्ठान तनावग्रस्त


१५ फाल्गुन २०७६, बिहिबार


इटहरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ ।

चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । आज बिहान १ः०० बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको मृत्यु भएको थियो । उनलाई गत फागुन १२ गते सुत्केरी गराउनका लागि प्रतिष्ठानको प्रसूति वार्डमा आफन्तले बेड भर्ना गरेका थिए । लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै अस्पतालले सुत्केरी नगराएकाले बच्चा पेटमै मरेको र आमाको पनि अस्पतालमै मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।

आमा र बच्चा दुवैको मृत्युको कारण प्रसूति गराउन ल्याइएकी बिरामीलाई समयमै चिकित्सकले नहेरेको तथा लापरवाही गरेका कारण आमा बच्चा दुवैको ज्यान गएको मृतकका मामा ससुरा गणेश चौहानले बताए । प्रतिष्ठानमा प्रसूति गराउन नसक्ने भए अन्त सिफारिस गर्नुको साटो त्यत्तिकै यहाँ राखिएका कारण आमा बच्चा दुवैको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

आज बिहान मृतकका आफन्तलाई प्रतिष्ठान प्रशासनले वार्ताका लागि अडिटोरियम हलमा बोलाएको भए पनि प्रतिष्ठानका पदाधिकारी समयमै नआएका कारण वार्ता नभएको आफन्तले बताएका छन् । अहिले वार्ता भइरहे पनि वार्ताको पूरा विवरण आइसकेको छैन । वार्तामा प्रतिष्ठानका डा.अर्चना ठाकुर, डा.रोहित रिजालसहितको टोली छ भने मृतकका तर्फबाट आफन्त सहभागी रहेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस