कोरोना भाइरस : इटालीमा संक्रमितको संख्या ४०० पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस : इटालीमा संक्रमितको संख्या ४०० पुग्यो


१५ फाल्गुन २०७६, बिहिबार


इटालीमा कोरोनाभाइरस संक्रमणको संख्या चार सय पुगेको छ। बितेको २४ घण्टामा इटालीमा यो दर २५ प्रतिशतले बढेको हो।

अन्य युरोपेली राष्ट्रले पनि कोरोना संक्रमणको मामिला सार्वजनिक गरेका छन्। उनीहरूले ती संक्रमण इटालीबाट सरेको जनाएका छन्। बुधबार विश्व स्वास्थ्य संगठनले चीनबाहिर पहिलो पटक यो स्तरमा कोरोना संक्रमणको इटालीमा फैलिएको बताएको छ।

हालसम्म विश्वव्यापीरुपमा ४० देशका ८० हजार मानिसहरूमा यो संक्रमण देखिएको छ। डिसेम्बरबाट सुरु भएको यस संक्रमणबाट चीन सबैभन्दा बढी प्रभावित छ।

कोभिड–१९ नाम दिएको यो नविन कोरोनाभाइरसका कारण २७ सय जनाले ज्यान गइसकेको छ।

इटालीका अधिकारीहरूले कोरोनाभाइरस संक्रमण संख्या ८० बाट ४०० पुगेको पुष्टि गरेका हुन्।

हालसम्म इटालीमा यस संक्रमणका कारण १२ जनाको मृत्यु भइसकेको छ। यसको संक्रमण इटालीको मिलान शहर वरपर र भेनिस नजिकको भेनेटोमा ज्यादा देखिएको छ।

संक्रमण बढेपछि इटालीको सरकारले ती क्षेत्रका स्कूल, विश्व विद्यालय तथा सिनेमाघरहरू बन्द गर्नुका साथै अन्य सार्वजनिक कार्यक्रमहरू स्थगीत गरेको छ।

११ शहरका ५५ हजार नागरिकलाई उसले क्वाराइनमा राखेको छ।

जानकारहरूले कोरोनाभाइरसको संक्रमणले इटालीलाई आर्थिक मन्दीतर्फ लैजान सक्ने संकेत गरेका छन्।

संक्रमणका कारण त्यहाँका क्याफेहरू रित्तो भएका छन् भने होटल बुकिङ पनि धमाधम स्थगीत हुन थालेको बिबिसीले जनाएको छ।

इटालीमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि युरोपियन युनियनकी स्वास्थ्य मन्त्री स्टेला क्यारियाकिड्सले इटालीका स्वास्थ्य मन्त्रीसँग रोममा भेट गरेकी छन्।

‘सावधान हुनपर्ने भएपनि डराइहाल्नुपर्ने अवस्था भने छैन’, उनले भनिन्, ‘अझैपनि धेरैजनालाई यो भाइरसका बारेमा थाहा छैन र यो कहाँबाट सुरु भयो र कसरी फैलियो भन्ने पनि थाहा छैन।’

बितेका दुई दिनमा अस्ट्रिया, क्रोएशिया, ग्रिस, नरवे, स्वीट्जरल्याण्ड, जर्जिया र उत्तरी म्यासेडोनियाले आफ्नो मुलुकमा पहिलो पटक कोरोनाभाइरसका संक्रमितहरू भेटिएको बताएका छन्। उनीहरूले ती संक्रमितहरूमध्ये धेरै जना इटाली पुगेर आएका मानिसहरू रहेको जनाए।

यसैगरी स्पेन, फ्रान्स र जर्मनीले पनि थप संक्रमितहरू भेटिएको बताएका छन। संक्रमणबाट सावधानी अपनाउँदै आयरल्याण्डले ६ देश सम्मिलित रग्बी खेलहरू स्थगीत गरेको छ।

युरोपका अलावा अल्जेरिया, ब्राजिल र पाकिस्तानमा कोरोनाभाइरस संक्रमणका पहिलो मामिलाहरू भेटिएको छ।

यसैगरी मध्यपूर्वमा यसका धेरै संक्रमित इरानमा भेटिएका छन्। यसका कारण हालसम्म इरानमा १९ जनाको मृत्यु भइसकेको छ भने १३९ जना मानिसहरूमा यसको संक्रमण भेटिएको छ।

मामिलाहरू सार्वजनिक भएपनि बुधबार इरानले कुनै पनि शहरलाई क्वारेन्टाइन राख्ने आफूहरूको योजना नरहेको बताएको छ।

इरानले संक्रमण देखिएको कोम शहरमा नजान मानिसहरूलाई भनेको छ। उसले त्यसो भनेपनि लाखौं सिया मुसलमानहरूको आकर्षणको केन्द्र रहेको पवित्र स्थल भने बन्द गरेको छैन।

यसैगरी चीनबाहिर सबैभन्दा बढी संक्रमित देखिएको दक्षिण कोरियामा हालसम्म संक्रमणका १२ सय मामिला सार्वजनिक भएका छन्। यसैगरी यसबाट त्यहाँ १२ जनाको मृत्यु भएको छ।

विश्वका अन्य मुलुकमा कोरोनाभाइरसका संक्रमितहरूका नयाँ संख्या थपिरहेको भएपनि चीनमा भने यो दर घट्दै गएको छ।

चीनले मानिसहरूलाई घरभित्रै रहन दिएको आदउश र सार्वजनिक भेलामा लगाएको रोकको असरका रुपमा यसलाई हेरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस