वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार


१४ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न नेकपा सचिवालय बैठकले गरेको प्रस्तावलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

पार्टीभित्रबाटै आफू विरुद्ध खेल भएको भन्दै सम्पूर्ण परिस्थितिको सामना गर्ने बताएका प्रधानमन्त्री ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने भनेका हुन् ।

उपाध्यक्ष गौतमलाई यसअघि नै राष्ट्रियसभामा लैजान खोज्दा संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने सर्त बनाएको तर अहिले सर्त छाडेर पनि राष्ट्रियसभामा जान तयार भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो विरुद्ध खेल खेल्ने प्रयास भएको बताएका हुन् ।

बुधबार(आजै) बसेको नेकपा बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । शनिवार बसेको सचिवालय बैठकमै सहमति जुटे पनि नेकपाले बुधवार(आज)को बैठकमा गौतमलाई राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रियसभामा पठाउने औपचारिक निर्णय गरेको हो।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट तीन जना मनोनीत हुनेव्यवस्था रहेकोमा युवराज खतिवडाको कार्यकाल यही फागुन २०गतेदेखि सकिन लागेकोले गौतमलाई राष्ट्रिय सभामा पठाउन लागिएको थियो ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएकोमा अर्थमन्‍त्री रहेका खतिवडाले दुई वर्ष अवधि पाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस