कोरोना भाइरस : इटालीमा एकको मृत्यु, मृतकको संख्या २३६० पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरस : इटालीमा एकको मृत्यु, मृतकको संख्या २३६० पुग्यो


प्रशासन संवाददाता

१० फाल्गुन २०७६, शनिबार


बेइजिङ । युरोपेली मुलुक इटालीमा कोरोना भाइरसका कारण शुक्रबार एक जनाको मृत्यु भएको छ । इटालीयन टेलिभिजन आरएआईका अनुसार उत्तरी भेनेतो क्षेत्रका ७८ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

इटालीमा कोरोना भाइरसको कारण मृत्यु भएको यो पहिलो घटना हो। चीनबाट फर्केका ३८ वर्षीय इटालियन युवामा पहिलो पटक जनवरी २१ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो। शनिबार बिहानसम्म इटालीमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको संक्रमण बिस्तारै कम हुँदै गएको जनाएको छ। शुक्रबार थप १०९ जनाको मृत्यु भएको तथा थप ३९७ जनामा संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ।

बिहीबार भने ११५ जनाको मृत्यु भएको थियो। शनिबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण दुई हजार तीन सय ४५जनाको मृत्यु भएको छ। त्यस्तै चीनमा संक्रमितको संख्या ७६ हजार २ सय ८८ पुगेको छ। शुक्रबार मात्रै २ हजार ३ सण्य ९३ जना अस्पतालबाट डिस्चार्ज भएको तथा निको हुनेको संख्या २० हजार ६ सय ५९ पुगेको पनि चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।

चीनबाहिर इरानमा ४, जापानमा ३, दक्षिण कोरिया र हङकङमा २–२, ताइवान, इटाली, फ्रान्स र फिलिपिन्समा एक–एक जना गरी १५ जनाको मृत्यु भएको छ। कोरोना भाइरसका कारण विश्वभर दुई हजार तीन सय ६० जनाको मृत्यु भएको छ भने ७७ हजार ७ सय ६७ जना संक्रमित भएका छन्।

कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि आवश्यक कदम चाल्नका लागि भन्दै शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को राजनीतिक ब्युरोको बैठक बसेको छ। पार्टीका महासचिव राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बैठक बसेको थियो। दुई दिनअघि सीकै अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक पनि बसेको थियो। बैठकमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य र आवश्यक सामग्रीमा ध्यान पुर्याउने विषयमा पनि छलफल भएको सिन्ह्वाले जनाएको छ। एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस