भ्रष्टाचारको मामलामा कसैको मुख हेर्दिनँ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचारको मामलामा कसैको मुख हेर्दिनँ : प्रधानमन्त्री ओली


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बाटोमा लागिसकेको बताउँदै भ्रष्टाचार गर्ने आफ्ना नजिकका मानिसलाई पनि नछाड्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले आफु सुशासनका लागि लडिरहेको बताउँदै आफ्ना नजिक र टाढाका मानिस भनेर नछाड्ने बताएका हुन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी एजेन्टसँग कमिसन बार्गेनिङ् गरेको अडिओ टेप सार्वजनिक भएपछि प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै उनले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएको समेत बताए । ‘ भ्रष्टाचारको मामलामा कसैको मुख हेर्दिन । सिस्टमका लागि भ्रष्टाचार गर्ने नजिक र टाढाका कसैलाई पनि छोड्दिनँ,’ उनले भने ।

मन्त्री बाँस्कोटासँग प्रधानमन्त्री ओलीको निकट सम्बन्ध छ । केही दिनअघिमात्र प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटा प्रतिभावान् व्यक्ति रहेको भन्दै बाँस्कोटाको खुलेरै तारिफ गरेका थिए ।

मन्त्री बाँस्कोटाले उक्त कम्पनीसँग कमिसन मागेको अडिओ सार्वजनिक भएपछि उनले राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने भन्दै नेकपाभित्रै र बाहिरबाट माग उठिरहेका बेला बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस