सक्रियता बढाउँदै वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सक्रियता बढाउँदै वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग


४ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा सक्रियता बढाएको छ । पछिल्लो समय विभागले बजार अनुगमन, कारवाहीसँगसँगै सचेतना कार्यक्रमहरूलाई पनि अगाडी बढाएको छ ।

समयमा फसल नलागी किसानहरू पीडित भएको सम्बन्धमा स्थलगत छानबिनपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत विभागमा प्राप्त फाइलको छानबिनका क्रममा दोषी भेटिएका आयातकर्ता, फर्म तथा बिक्रेतालाई कारबाही गरेको छ ।

बीउ विजन विज्ञसहित विभागका निर्देशकको टोलीले माघ २५ देखि फागुन २ सम्म गरेको स्थलगत निरीक्षणका क्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली चितवन र तनहुँमा गरी एक आयातकर्ता फर्मलाई तीन लाख, १४ वटा विक्रेता फर्मलाई दुई-दुई लाखका दरले २८ लाख र एक विक्रेता फर्मलाई २० हजार गरी ३१ लाख २० हजार जरिवाना गरेको छ ।

जरिवाना गरिएका अधिकांश फर्मले विभागमा जरिवाना रकम बुझाएको बैङ्क भौचर पेस गरिसकेको विभागले जनाएको छ ।

त्यसै गरी जथाभाबी मूल्यमा मास्कको कारोबार भएको सम्बन्धी विभागमा प्राप्त उजुरीका आधारमा अनुगमन टोलीले नर देवी र क्षेत्र पाटीमा रहेका औषधी पसल एवं खाद्यान्न पसल गरी ४ वटा फर्मको अनुगमन गरेकोमा २ वटा औषधी पसललाई कारबाही गरेको छ । विभागले विविआर इन्टरप्राइजेज र आयुषा सर्जिकल९क्षेत्रपाटी० लाई व्यवसाय दर्ता प्रमाणपत्र नभएको एवं खरिद बिल देखाउन नसकेपछि क्रमशः १ लाख र ५ हजार जरिवाना गरिएको छ ।

साथै नरदेवी मार्ट, नरदेवीमा म्याद गुज्रेका दुई हजार पाँच सय ८० रुपैयाँ बराबरका सामग्रीसमेत नष्ट गरिएको छ ।

त्यस्तै जनचेतनामूलक कार्यक्रम अन्तर्गत विभाग तथा उपभोक्ता हित संरक्षण मञ्चको साझेदारीमा नवलपुरको कावासोतीमा सरोकारवालाहरूको उपभोक्ता सचेतना गोष्ठी हिजो फागुन ३ गते सम्पन्न भएको छ भने उक्त संयुक्त टोलीले देव चुली र कावासोतीमा गरी ४ वटा विद्यालयमा सचेतना कक्षाहरूसमेत सञ्चालन गरिरहेको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस