नाइजेरियामा तीस जनाको विभत्स हत्या « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नाइजेरियामा तीस जनाको विभत्स हत्या


प्रशासन संवाददाता

४ फाल्गुन २०७६, आइतबार


कानो, नाइजेरिया । हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ ।

देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रहरी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले गाउँलेहरूलाई अन्धाधुन्ध आक्रमण गरेका थिए ।

उनीहरूले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रवार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीहरूले स्थानीय बासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरूको घरमा समेत आगजनी गरेका छन् ।

“हतियारधारी आक्रमणकारीहरूले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरू ९ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्,’ कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने ।

मृत्यु भएका मध्ये अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीहरूले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा वृद्धवृद्धा र बालबालिका धेरै भएको अधिकारीहरूले जनाएका छन् ।

आक्रमणकारीहरूले मानव हत्या र घरहरूमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाई छ ।

स्थानीय एक बासिन्दाले भने, ‘यति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।’ रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस