प्रदेश नं ५ मा प्रदेशस्तरीय प्रदर्शनीको आयोजना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश नं ५ मा प्रदेशस्तरीय प्रदर्शनीको आयोजना


४ फाल्गुन २०७६, आइतबार


दाङ । प्रदेश नं ५ सरकारले यस सरकारको स्थापनादेखि हालसम्मका अर्थात् दुई वर्षको अवधिमा गरेका काम कारवाही एवं गतिविधि र उपलब्धिबारे जानकारी दिन प्रदेश महोत्सव (प्रदेश एक्स्पो) को आयोजना गर्ने भएको छ । ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य राखेको यस प्रदेशले उक्त उद्देश्य पूरा गर्ने उद्देश्यले दाङको बेलझुण्डीमा यही फागुन १० देखि १२ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।

यस प्रदेश महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न प्रदेश नं ५ का आन्तरिक मामिल तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा एक मूल समारोह आयोजक समितिसमेत गठन गरी आवश्यक तयारी अघि बढाएको बताइएको छ । सो महोत्सवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ५ बाट स्थापनाकालदेखि हालसम्म अर्थात् दुई वर्षको अवधिमा गरेका कामको जानकारी गराउने सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीको कार्यालयबाट मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको जानकारी गराउने, प्रदेश समन्वय परिषद्का गतिविधिबारे जानकारी दिने, सुझाव पेटिका राख्ने, प्रदेश सरकारले तयार पारेका पुस्तिका तथा पर्चा वितरण गर्ने कार्यक्रम राखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पनि प्रदेशअन्तर्गतका स्थानीय तहका अधिकारीका लागि वित्तीय व्यवस्थापनको परामर्श तथा तालिम सञ्चालन गर्ने, लगानी सम्मेलनको तयारीबारे जानकारी गराउने लगायतका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पनि सो अवधिमा गरेका प्रगति तथा सेवा प्रवाहसम्बन्धी जानकारी गराउने, विपद्को अवस्थामा गरिने उद्धार कार्यको अभ्यास प्रदर्शन गर्ने, राहत व्यवस्थापन र वितरण प्रणालीको प्रस्तुति गर्ने, सूचना सञ्चार क्षेत्र, टेलिसेन्टर, टिभी, रेडियो र टिभीबाट मन्त्रालयले प्रसारण गरेका कार्यक्रम बारेमा जानकारी प्रदान गर्ने बताइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचनासम्बधी प्रदर्शनी, भवन निर्माण प्रविधि, खानेपानी, सिँचाइ नवीकरणीय ऊर्जासम्बधी प्रदर्शनी गर्ने, झुलुङ्गे पुल तथा सडक पुलका नमूना र खानेपानीको गुणस्तर परीक्षणका विधि पनि सो प्रदर्शनीमा देखाइनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रदेश नं ५ को कलासंस्कृति झल्किने नृत्य, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुति गर्ने, भ्रमण वर्ष २०२० को जानकारी तथा प्रचारप्रसार गर्ने, स्थानीय घरेलु तथा व्यावसायिक उत्पादनका सामग्री प्रदर्शन गर्ने बताइएको छ ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयबाट योग तथा ध्यान कार्यक्रम सञ्चालन गर्ने, बालबालिकाका लागि खेल, शैक्षिक तथा वैज्ञानिक कार्यक्रम प्रदर्शन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, मुटु तथा मिर्गौलासम्बन्धी रोगको परीक्षण गर्ने र निकोटिबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि प्रविधि तथा प्रदेशका प्रमुख उत्पादनको प्रदर्शनी गर्ने, भूमि व्यवस्था तथा सहकारीसम्बन्धी जानकारी प्रदान गर्ने, जैविक मल, वैकल्पिक सिँचाइ, गोबर जाँच माटो जाँच, प्लान्ट क्लिनिक र खोप आदिको प्रत्यक्ष सेवा तथा जानकारी प्रवाह गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रदेशसभामा गरिएका कार्यक्रमको प्रस्तुति, नमूना सांसदको अभ्यास तथा प्रदेशसभाको वृत्तचित्र प्रस्तुत गर्ने, विधेयक र स्मारिका वितरण गर्नेलगायतका कार्यक्रम प्रदर्शनीका क्रममा सञ्चालन गरिने मूल समारोह व्यवस्थापन तथा कार्यक्रम सञ्चालन समितिका संयोजक जीतेन्द्रमान नेपालीले जानकारी दिए ।

सो समितिका सदस्यमा प्रदेश नं ५ का सबै मन्त्री, विपक्षी दलका नेता, उपसभामुख, प्रमुख सचेतक, प्रदेशसभा सदस्य र यस जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, तुलसीपुर, बुटवल, नेपालगञ्ज उपमहानगरपालिकासहित यहाँका स्थानीय निकायका प्रमुख तथा प्रदेश नं ५ का सुरक्षा निकायका प्रमुखसहित यहाँ सरकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सदस्य रहेको ४४ सदस्यीय मूल समिति गठन गरिएको प्रदेश सरकारले जनाएको छ ।

सो समितिको प्रमुख सल्लाहकारमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सो प्रदेशका सभामुख पूर्णबहादुर घर्ती सल्लाहाकार रहेका छन् । त्यस्तै सो कार्यक्रमलाई व्यवस्थितरुपमा सम्पन्न गर्न आठ वटा विभिन्न उपसमिति पनि गठन गरिएको छ । ती सबै उपसमितिमा ५ सय सदस्य रहेका छन् । मूल समारोह व्यवस्थापन उपसमितिको संयोजकमा जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली, व्यवस्थापन उपसमितिको संयोजकमा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे, सुरक्षा, यातायात तथा पार्किङ उपसमितिको संयोजकमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रचारप्रसार उपसमितिको संयोजकमा महाशाखा प्रमुख, सुरक्षा समन्वय महाशाखा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेको छ ।

त्यसैगरी बिजुली, खानेपानी तथा सरसफाइ समितिको उपसमितिका संयोजक तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे रहेका छन् । अतिथि एवं सहभागी व्यवस्थापन समितिको उपसमितिको संयोजकमा उपप्रमुख जिल्ला समन्वय समिति दाङ, निजी क्षेत्रका कक्ष निर्माण तथा व्यवस्थापन उपसमिति संयोजकमा प्रदेश नं ५ का उद्योग वाणिज्य संघका अध्यक्ष रहेका छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको भवनमा सचिवालय कार्यालय स्थापना गरिएको छ ।

कार्यक्रममा प्रदेश नं ५ का १२ वटै जिल्लाबाट जिल्लागतरुपमा सम्बन्धित जिल्लाको पहिचान झल्कने उत्पादन, सार्वजनिक सेवा प्रवाहसम्बन्धी व्यवस्थाको प्रस्तुति तथा प्रदर्शन, प्रदेशभित्रका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारीमूलक सामग्रीको प्रस्तुति गरिनेछ ।

प्रदर्शनीमा योग, ध्यान शिविर सञ्चालन, विशेषज्ञ डाक्टरद्वारा मुटु र मिर्गौलासम्बन्धी रोगको निःशुल्क स्वास्थ्य परीक्षण, विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थी तथा अन्य व्यक्तिले उत्पादन एवं आविष्कार गरेका नवीन प्रविधिको प्रदर्शन, प्रदेशभित्रका मौलिक ज्ञान सिप, लोककला, स्थानीय उत्पादनको खाना तथा परिकारको प्रस्तुति र प्रदर्शन रहेका छन् । प्रदर्शनीमा ३५० व्यापारिक कक्ष राखिनेछ ।

यसैबीच दाङमा हुन गइरहेको प्रदेश एक्स्पोलाई अवसरका रुपमा लिनुपर्ने बताउनुहुन्छ संघीय सांसद सुजिता शाक्य । उनले प्रदेश सरकारका हरेक गतिविधिका बारेमा नागरिकले जानकारी लिन पाउनुका साथै निःशुल्क स्वास्थ्य परीक्षण, ध्यान, योग शिविर जस्ता कार्यक्रमको आयोजनाले नागरिकले लाभ लिनुका साथै सकारात्मक सोचमा वृद्धि हुने बताइन् । उनले यसले प्रदेशका कृषकले गरेका उत्पादनलाई बजारीकरण गर्न, कलासंस्कृतिको संरक्षण हुनुका साथै सरकारले घोषणा गरेको भ्रमण वर्ष सन २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केएल बुढाथोकीले यसलाई सबैले सकारात्मकरुपमा लिनुपर्ने बताउछन् । उनले प्रदेश सरकारले दुई वर्षमा के के काम गरेको रहेछ भनी कामका बारेमा नागरिकले जानकारी पाउनुका साथै नयाँ प्रविधिदेखि, उन्नत तरिकाले खेती गर्नेदेखि प्रदेशका महत्वपूर्ण सांस्कृतिक सम्पदाका बारेमा जानकारी पाउन सक्नेछन् । विभिन्न जातजातिका कलासंस्कृतिदेखि स्वास्थ्य शिविरसमेत रहेकाले सहभागी हुन सबैलाई आग्रह गरे। उनले यसले प्रदेश सरकार र स्थानीय तहबीचको सम्बन्धलाई सुदृढ गर्ने बताए ।

प्रदेश नं ५ भौगोलिक, जैविक तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण प्रदेशका रुपमा रहेको छ । यो प्रदेश सुस्ता पश्चिमदेखि रुकुमको पूर्वी भागसम्म फैलिएको छ । यस प्रदेशमा १२ वटा जिल्ला रहेका छन् । यस प्रदेश उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा पाल्पाको रामपुरदेखि पश्चिममा र बर्दियाको राजपुरसम्म फैलिएको छ । यस प्रदेशमा चार वटा उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तह रहेका छन् भने ती स्थानीय तहमा ९८३ वडा रहेका छन् । यस प्रदेशले २२ हजार २८८ वर्गकिलोमिटर भू–भाग ओगटेको छ ।

यस प्रदेशमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दूको आस्थाको केन्द्र स्वर्गद्वारी, रुरु क्षेत्रलगायत थुप्रै ऐतिहासिक र सांस्कृति सम्पदा पर्दछन् । दक्षिण एशियाकै ठूलो उपत्यका दाङ पनि यसै प्रदेशमा पर्दछ । यो प्रदेशमा तराईको समथर भूगोलदेखि भित्रीमधेश एवं पहाड र हिमाली भूगोल पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस