महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै


प्रशासन संवाददाता

४ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । पूर्व सभामुख महराको मुद्दामा आज अन्तिम सुनुवाई हुँदै छ । प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबर्जस्ती करणी उद्योग मुद्दामा अन्तिम सुनुवाइ हुने भएको हो।

आइतबार महराका कानुन व्यवसायीहरुले जिल्ला आदालत काठमडौँमा बहस गर्दैछन् ।

महराविरुद्द गत कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। अदालतले पहिलो सुनुवाइ गर्दै महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसविरुद्ध उनी उच्च अदालत पाटनसम्म पुगेका थिए। तर पाटनले धरौटीमा रिहा गर्न अस्वीकार गर्दै एक महिनाभित्र फैसला गर्न जिल्ला अदालतको नाममा आदेश गरेको थियो। उक्त आदेशपछि जिल्लाले अन्तिम फैसलाको तयारी गरेको थियो।

काठमाडौँ जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ माघ २६ गतेदेखि सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए।

पीडितका तर्फबाट चन्द्रकान्त खनाल, उमाकान्त पौडेलसहित अरु दुई महिला जिल्ला न्यायाधीवक्ताहरुले बहस गरेका थिए।

उनीहरुले घटनाको विवरण र प्रहरीले संकलन गरेको प्रमाणका आधारमा महरा दोषी भएकाले १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका थिए।

अब आज महराका तर्फबाट बहस हुनेछ। उनीहरुको बहसपछि जिल्ला न्यायाधीशले उठेका बाँकी प्रश्नको बारेमा सरकारी वकिलको बहस सुन्नेछन् ।

दुवैका तर्फबाट बहस सकिएपछि उनीविरुद्ध लागेको अभियोग पुष्टि हुने वा नहुने निर्णय अदालतले सुनाउने छ। उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग अभियोगपत्रमा गरिएको छ।

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

गत असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबर्जस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस