गाँजा उपयोगलाई कानुनी मान्यताको अर्थ राजनीति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गाँजा उपयोगलाई कानुनी मान्यताको अर्थ राजनीति


२९ माघ २०७६, बुधबार


गाँजाको उपयोगलाई कानुनी मान्यता दिनुपर्छ भन्ने विषयमा केही सांसदहरूले संसद्को बैठकमा आवाज उठाएपछि नेपालमा पनि गाँजाको विषयमा नीति बहसको प्रारम्भ भएको छ।विश्वमा गाँजालाई औषधी र मनोरञ्जनका लागि उपयोग गर्ने गरिन्छ। जुनसुकै उद्देश्यका लागि गाँजालाई कानुनी मान्यता दिनु अगाडि यसले भविष्यमा पार्न सक्ने आर्थिक तथा सामाजिक असरको गहिरो अध्ययन तथा विश्लेषण हुनु आवश्यक छ।यसका लागि विश्वका अन्य देशमा यस सम्बन्धी लागु गरिएको कानुनी व्यवस्थाको प्रभाव र नेपालमा सामाजिक, आर्थिक, राजनीतिक तथा सुशासनका दृष्टिले यसको सम्भावनाको विषयलाई समेत नियाल्नु जरुरी छ।

गाँजा उपयोगको कानुनी मान्यता लगायत केही जटिल नीतिगत विषयहरूमा आर्थिक र सामाजिक उद्देश्यमा फरक पर्न जाँदा राजनीति स्तरमा ठुला-ठुला बहस हुँदै आएका छन्। यस्ता कतिपय मुद्धाहरु समाधान हुन पनि सकेका छैनन्। जस्तै अमेरिकामा बन्दुक नियन्त्रण गर्ने सवाल, अस्ट्रेलियाको कोइला खानी नियन्त्रण र वातावरण संरक्षणको सवाल र इन्डोनेसियाको सुर्ती नियन्त्रण गर्ने सवाललाई प्रतिनिधि उदाहरणको रूपमा लिन सकिन्छ। यी विषयहरूमा तत्कालीन आर्थिक फाइदाका लागि दिर्घकालिनरुपमा पर्न सक्ने सामाजिक असरसँग सम्झौता गरिएको छ।

गाँजाको कानुनी मान्यताको सवालमा पनि यसका विभिन्न फाइदाको कुरा उठाएता पनि यसको उद्देश्य भनेको आर्थिक वृद्धि नै हो। विश्वका धेरै देशहरूले गाँजालाई औषधीका रूपमा प्रयोग गर्न सकिने कानुन ल्याएर आर्थिक लगानीमा जोड दिएका छन्। तथापि गाँजाको मनोरञ्जनात्मक उपयोगको कानुनी मान्यता भने थोरै देशमा मात्र छ।उरुग्वे र क्यानडाले गाँजाको दुवै उपयोगलाई कानुनी मान्यता दिएका छन्। हाल विश्वमा चौतिसवाटा देशले गाँजाको औषधि उपयोगलाई कानुनी मान्यता दिएका छन्।

मुख्य गरेर ल्याटिन अमेरिकाका चिली, कोलम्बिया, पेरु, उरुग्वे लगायतका देशले गाँजाको औषधी उपयोगलाई कानुनी मान्यता दिएर लगानी प्रवर्द्धनमा जोड दिएका छन्। उक्त देशहरूमा अमेरिकन र क्यानेडियन बहुराष्ट्रिय कम्पनीहरूले लगानी गरेका छन्। चिलीमा मात्र तीन वटा अन्तर्राष्ट्रिय कम्पनीहरूले चौध मिलियन भन्दा बढी लगानी गरेका छन्। अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल र अमेरिकाका धेरै राज्यहरूमा यसको औषधि प्रयोग गर्न छुट छ। यी देशहरूले समेत गाँजाको अन्तर्राष्ट्रिय व्यापारलाई जोड दिएका कारण यस क्षेत्रको लगानी बढ्दो क्रममा छ। ग्रण्ड भ्यू रिसर्चको प्रतिवेदन अनुसार सन् २०२५ सम्ममा गाँजाको अन्तर्राष्ट्रिय बजार लगानी त्रिचालिस हजार मिलियन हुने र सन् २०२९ सम्ममा साढे दुई खर्व अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यसका साथै गाँजाको कानुनी मान्यता दिने देशहरूले गाँजाको उपयोगलाई खुल्ला गर्दा कर राजश्वमा अभिवृद्धि हुने, गाँजा निषेधका हुँदा कानुन कार्यान्वयन गर्दा खर्च हुने नागरिकको कर कटौती हुने, गाँजा तस्करी तथा कालोबजारी र यसले समाजमा पार्ने असरको अन्त्य हुने र रोजगारी सिर्जना हुने तर्क गर्ने गर्दछन्।

हाल नेपालमा भइरहेको गाँजा खुल्ला गर्ने बहस पनि आर्थिक वृद्धिकै सेरोफेरोमा हुने गरेको देखिन्छ। गाँजाको औषधी उपयोगले लगानी बढ्ने र रोजगारी सिर्जना हुने अपेक्षा गर्नु भन्दा अगाडि यसले सामाजिक रूपमा पार्ने असर तथा जोखिमको आँकलन गर्नु पर्छ। मुलत: जनस्वास्थ्य, सामाजिक सुरक्षा र सङ्गठित अपराधको विषयहरू गाँजाको खुल्ला उपयोगसँग सम्बन्धित हुने गर्छन्।

तत्काल आर्थिक वृद्धि गर्ने अभिलाषामा भविष्यमा जनस्वास्थ्यमा पर्ने जोखिम र त्यसले निम्त्याउने गम्भीर परिणामको पूर्ति गर्न कयौँ पुस्ता सम्म अर्वौँ लगानी गर्दा पनि अपर्याप्त हुन सक्छ।सुर्तीजन्य उत्पादनका उद्योगहरू टाट पल्टिने र अर्थतन्त्रमा असर पर्ने भन्दै सुर्तीको प्रयोगलाई खुल्ला छोड्दा इन्डोनेसियामा सुर्ती सेवनका कारण वर्षेनी दुई लाख पचास हजार व्यक्तिले ज्यान गुमाउने गर्छन्। त्यस्तै बालबालिकामा सुर्ती सेवन गर्ने दर उच्च रहेको कारण त्यहाँको उत्पादनशील जनसङ्ख्यालाई गम्भीर असर गरेको छ। अध्ययनहरूका अनुसार गाँजा सेवनले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने, प्रजनन क्षमतामा असर गर्ने तथा बाँझोपना बढाउने, मुटु रोग निम्त्याउन सक्ने, फोक्सोमा असर गर्ने लगायतका स्वास्थ्य समस्या आउन सक्छ। त्यस्तै गरेर गाँजाको धुवाँमा एनिमियाको मात्रा सुर्ती चुरोटको धुवाँमा भन्दा बिस गुणा बढी हुने र सुर्ती चुरोट सेवन गर्ने भन्दा गाँजा सेवन गर्नेहरूमा बिस वर्ष अगाडि नै फोक्सो खराब हुन सक्ने हालैका अध्ययनहरूले पुष्टि गरिसकेका छन्।

मुलुकको महत्त्वपूर्ण स्रोत साधन तथा पुँजी मध्ये मानवीय पुँजी महत्त्वपूर्ण हो। स्वास्थ्य र गुणस्तरयुक्त मानवीय पूँजीको विकास गर्नु पर्नेमा गाँजाको लतमा फस्न सक्ने वातावरण सिर्जना गरिदिने हो भने मुलुकको आर्थिक तथा सामाजिक विकासमा ठुलो अवरोध आउन सक्ने पक्‍का छ। यसका साथै गाँजाको खुल्ला उपयोगको अर्को डरलाग्दो असर भनेको सामाजिक सुरक्षा चुनौती र संगठिक अपराधको सञ्जाल हो। समाजमा चोरी डकैती बढ्ने र सामाजिक असुरक्षाको वातावरण सिर्जना हुनसक्ने कुरालाई पनि कम आँक्न सकिँदैन। अन्तर्राष्ट्रिय सङ्गठित अपराध विस्तारमा समेत सम्बन्धित देशको गाँजा लगायत अन्य लागु औषध सम्बन्धमा अवलम्बन गरेको नीतिले प्रभाव पारेको हुन्छ। नेपालको भारतसँगको खुल्ला सिमाना र कमजोर अध्यागमन प्रशासनको कारण यस प्रकारको गम्भीर परिणाम नआउला भन्न सकिन्न।

गाँजाको औषधी उपयोगको अन्तर्राष्ट्रिय बजार झाँगिँदै गएको अवस्था विभिन्न तथ्याङ्कहरूले देखाइरहेको सन्दर्भमा नेपालमा समेत गाँजाको उपयोग प्रतिबन्धलाई कनूनी रूपमा खुल्ला गरेर आर्थिक बिस्तार गर्न सकिन्छ भन्ने तर्कलाई अन्यथा मान्न सकिँदैन। तर मुलुकको आर्थिक-सामाजिक अवस्था, स्रोत साधन उपयोग गर्न सक्ने शासकीय क्षमता, सुशासनको अवस्था, अन्तर्राष्ट्रिय बजारको पहुँच आदि विषयमा गहिरो अध्ययनविना नै राजनीतिक लोकप्रियता र अन्तर्राष्ट्रिय माहोलको बहकावमा मात्र निर्णय गर्दा अपेक्षाकृत परिणाम नआउन सक्छ।

नेपाल प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना भएको मुलुक हो। मुलुकको आर्थिक समृद्धिको लागि कृषिजन्य उत्पादन तथा जडीबुटीको उपयोगलाई महत्त्वपूर्ण क्षेत्रको रूपमा लिने गरिएको छ। पन्ध्रौँ योजनाले प्राकृतिक स्रोत साधनको कुशल उपयोगद्वारा मुलुकको विकास गर्ने लक्ष लिएको छ। यद्यपि लामो समयको प्रयासका बाबजुद पनि मुलुकमा उत्पादन हुने बहुमूल्य जडिबाटी काचैं र सिङ्गै बेच्नु परेको छ। धेरै कसानको गतिलो आम्दानीको श्रोत अलैँचीको मूल्य सिमानाकाका भारतीय व्यापारीको मात्र भर पर्नु पर्ने हुँदा मुल्यामा गिरावट भएको छ।यार्सागुम्बाको उपयोग नबुझ्दा विदेशी व्यापारीले चाहेको मूल्यमा बेच्नु परेको छ। यहाँ यो विषयवस्तु किन उठाउन खोजेको हो भने हामीले आर्थिक विकासका प्रचुर सम्भावना भएका बहुमूल्य स्रोत साधनबाट त फाइदा लिन सकेका छैनौ भने गाँजा जस्तो लागुऔषधयुक्त पदार्थको सदुपयोग गरेर आर्थिक तथा सामाजिक फाइदा लिन सकिन्छ नै भन्ने निश्चित छैन।

कुनै पनि दूरगामी तथा बहुपक्षीय प्रभाव नीति कार्यान्वयनका लागि मुलुकमा सुशासनको अवस्था बलियो हुनु आवश्यक छ। नीतिगत रूपमा नै भ्रष्टाचार गर्ने, सार्वजनिक जग्गा लगायत स्रोत साधन हडप्ने, सीमा भन्सार तथा अध्यागमन प्रशासनकै दुरुपयोग गरी चोरी, तस्करी तथा कालोबजारी गर्ने, वस्तु उत्पादन तथा ढुवानी गर्दा गुणस्तरमा बेइमानी गर्ने लगायतका कार्यहरूमा नियन्त्रण हुन सकेको छैन। यस्तो कमजोर सुशासन भएको अवस्था गाँजा खुल्ला गर्ने नीति अवलम्बन गरियो भने सदुपयोग भन्दा दुरुपयोग हुने र यसको नकारात्मक असर पर्न सक्ने बढी संभावन हुन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस