औपचारिक शिक्षा भित्रको खुला शिक्षाः भर्चुअल सिकाइ - प्रशासन प्रशासन
prasaLogo
२७ माघ २०७६, सोमबार

औपचारिक शिक्षा भित्रको खुला शिक्षाः भर्चुअल सिकाइ


प्रकाशित मिति : 10 February, 2020 11:00 am

विषय प्रवेश
सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम नै भर्चुअल सिकाइ हो । वेभको प्लेटफर्म भर्चुअल कक्षा हो । यस्तो सिकाइ विद्युतीय सिकाइ हो । यो अनलाइनमा आधारित सिकाइ हो । प्रविधिमैत्री सिकाइ हो । सूचना र सञ्चारका साधनहरू र त्यसको प्रयोगमार्फत शिक्षक र विद्यार्थीबिच अन्तरक्रिया गर्ने, खुला र लचकदार प्रक्रियामार्फत इन्टरनेट, सिडीरोम, भिडियो कन्फरेन्सिङ, सफ्टवेयर लगायतका अन्य सञ्चारका माध्यमहरू प्रयोग गर्दे व्यवस्थित सिकाइ अनुभवसहित आवश्यक श्रोत साधनयुक्त कक्षाकोठाभित्रको सिकाइ प्रक्रिया भर्चुअल सिकाइ हो । कक्षाकोठाको सिकाइमा इन्टरनेटको जडान गरी सिकाइलाई प्रविधि मैत्री, खुला र विश्वव्यापी बनाउने आधुनिक औजार भर्चुअल सिकाइ हो । तसर्थ ‘लाइभ कक्षा’ वा रेकर्ड गरिएको श्रव्य दृश्य सामग्रीमार्फत विषयगत शिक्षकको अभाव भएका तथा सिकाइ पद्धतिलाई अन्तराष्ट्रियकरण गर्न चाहने विद्यालयका सयौँ/हजारौँ/लाखौँ विद्यार्थीहरूले इन्टरनेटको माध्यमबाट आफ्नो विद्यालयको कक्षाकोठामा बसेर पढ्न पाउने आधुनिक सिकाइ प्रविधि भर्चुअल सिकाइ हो ।

– आर्थिक वर्ष २०७२/०७३ देखि साबिकको शैक्षिक जनशक्ति विकास केन्द्रले सुरु गरेको
– आ. ब. २०७३/०७४ मा १०० वटा विद्यालयमा
– आ. ब. २०७४/०७५ मा ६५ थप गरी १६५ वटा विद्यालयमा सञ्चालन गरिएको ।

आर्थिक वर्ष २०७२/०७३ देखि साबिकको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्याण्ड इन्टरनेटका माध्यमबाट अङ्ग्रेजी, गणित र विज्ञान विषयको अध्यापन गर्न सुरु गरेको यस कार्यलाई निरन्तरता दिँदै आ. ब .२०७३/०७४ मा १०० वटा र आ. ब. २०७४/०७५ मा ६५ गरी १६५ वटा विद्यालयमा मल्टिकास्टिङ प्रविधिबाट ब्यान्डविथ शुल्कसहित प्रविधिगत उपकरण जडान गरी भर्चुअल कक्षाको प्रारम्भ गरेको थियो । तत्पश्चात् उक्त केन्द्रद्वारा गठित कार्यदलको प्रतिवेदनको सुझावअनुसार हाल ब्रोडकास्टिङ पद्धतिबाट शिक्षा तथा मानव श्रोत विकास केन्द्रले कक्षा १० का अनिवार्य ६ वटा विषयमा ५४२ र कक्षा ९ का अनिवार्य ६ वटा विषयमा ४०० वटा पाठहरू उत्पादन गरी नेपाल टेलिभिजनबाट प्रसारण गरिरहेको छ । कक्षा ९ र १० का उत्पादित भर्चुअल पाठहरू यूटुवमा राखी विद्यार्थी तथा शिक्षकहरूले आफ्नो आवश्यक्तानुसार हेर्न सक्ने व्यवस्था समेत गरिएको छ । सुरुमा साबिकको शैक्षिक जनशक्ति विकास केन्द्रबाट एकोहोरो प्रणालीबाट विकसित र सञ्चालन भएको भर्चुअल कक्षा र सिकाइ हाल पछिल्लो समयमा आएर दोहोरो सञ्चार प्रणालीबाट सञ्चालन गर्ने अभ्यास भइरहेको देखिन्छ । कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाले दोहोरो सञ्चार प्रणाली सहितको मल्टिकास्टिङ प्रविधिको प्रयोग गरी आफ्नो नगरपालिका क्षेत्रका पाँच वटा माध्यमिक विद्यालयका नौं वटा कक्षामा कक्षा दशको अङ्ग्रेजी, गणित र विज्ञान विषयको भर्चुअल सिकाइको व्यवस्थापनको परीक्षण गरिरहेको छ । तत् पश्चात् सुर्खेतको वीरेन्द्रनगर लगायतका अन्य स्थानीय तह, प्रदेश र सङ्घीय तहमा समेत यस प्रविधिको प्रयोगको कार्यान्वयन अगाडी बढाउनु पर्ने बहस उत्पन्न भएको देखिन्छ ।


‘धूलो, सिलोट, खरी वा हरिया पात र अँगार पिसेर बासको कलमले कालो पाटीमा लेखेको इतिहास सुनाएर नयाँ पुस्ता अहिलेको युगको प्रतिस्पर्धी बन्न सक्दैन’


केही वर्ष अगाडि ओएलइ नेपाल नामक संस्थाको सहयोगमा ‘वान चाइल्ड, वान ल्यापटप’ अर्थात् ‘एक विद्यार्थी, एक ल्यापटप’ भनी केही जिल्लामा ल्यापटप वितरण गरिएको थियो । तत्पश्चात् साबिकको शिक्षा विभागले माध्यमिक र निम्न माध्यमिक तह सञ्चालन भएका विद्यालयहरूका लागि जोड कोष अनुदानको रूपमा एक लाख चालिस हजार उपलब्ध गराएर इन्टरनेट कनेक्टिभिटी कार्यक्रम सञ्चालनमा ल्यायो तर प्रभावकारी हुन सकेन । मानव श्रोतको व्यवस्थापन र भौतिक पूर्वाधारको व्यवस्थापन विना वितरण गरिएको यो कार्यक्रमले कुनै उत्पादन दिन सकेन । पछिल्ला समयमा आएर विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगशाला निर्माण गर्न माध्यमिक विद्यालयहरूलाई ६ लाख ५० हजार उपलब्ध गराइन्छ जसले पनि कक्षाकोठाको सिकाइमा इन्टरनेट जोडिन सकेको अनुभूति गर्न सकिएको पाइँदैन । यी र यस्तै चुनौतीहरूका बिचमा राज्यको करोडौँ लगानी प्रविधि मैत्री सिकाइकालागि खर्च भइरहेको तितो यथार्थता हामीसँग छ । विश्व नै एउटै परिवार र विद्यार्थीको लागि एउटै कक्षाकोठा भइसकेको परिवेशमा परम्परागत शिक्षण शैली र सोच तथा प्रवृत्तिले पक्कै पनि गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिँदैन ।

नीतिगत प्रावधान
पन्ध्रौँ योजनामा डिजिटल डिभाइडर न्यूनीकरण गर्ने, सूचना प्रणालीलाई सुदृढीकरण गर्ने र प्राथमिक तहदेखि उच्च शिक्षासम्मको शिक्षण सिकाइ प्रक्रिया तथा शिक्षक तालिममा कम्प्युटर सीप उपयोग गर्ने र यसका लागि पूर्वाधार र मानवीय क्षमता विकास गर्ने नीति उल्लेख गरिएको छ ।

राष्ट्रिय शिक्षा नीति, २०७६ ले सङ्घीय तथा प्रदेश स्तरमा रहने पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक तालिम प्रदायक निकायबाट इ लाइब्रेरी, भर्चुअल ल्याब, भर्चुअल कक्षाकोठा र शिक्षण सिकाइमा आधारित एप्सहरुको विकास गरी प्रयोगमा ल्याइने नीति उल्लेख गरेको छ ।

विद्यालय क्षेत्र विकास योजनाले अघि सारेका दश वटा प्राथमिकतामा सूचना तथा सञ्चार प्रविधि अन्तर्गत आवश्यक पूर्वाधार तयार गरी सूचना तथा सञ्चार प्रविधिलाई माध्यमिक तहका शिक्षाको निम्ति अनुकूल सिकाइ वातावरण विकास गर्ने, पेसागत क्षमता विकासका प्याकेज तथा निर्देशिका निर्माण गरी माध्यमिक शिक्षा पाठ्यक्रममा सूचना तथा सञ्चार प्रविधिको समायोजन गर्ने, शिक्षकहरूलाई शिक्षण सिकाइका क्रममा सूचना तथा सञ्चार माध्यमको प्रयोगको लागि प्रशिक्षित गर्ने, विज्ञान, गणित र अङ्ग्रेजी विषयमा अनलाइन तथा अफलाइन तालिम कोर्स र सामग्री विकास गर्ने, प्रारम्भमा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षण सिकाइ सामग्री विकास गर्ने र शिक्षक तथा विद्यार्थीका लागि विषयगत रूपमा विद्युतीय स्रोतको विकास र तिनको भण्डारणको व्यवस्था गर्ने रणनीतिहरू अगाडि सारेको छ ।

उद्देश्य र औचित्य
भर्चुअल कक्षाको मुख्य उद्देश्य नै शिक्षणमा पहुँच र गुणस्तर अभिवृद्धि गर्नु हो । यसका अलावा शिक्षण प्रक्रिया र शिक्षक तालिम कार्यको कक्षाकोठामा प्रयोग गर्न, समावेशी, एकीकृत, रहस्यात्मक, सिर्जनात्मक, समालोचनात्मक र समस्या समाधानमुखी शिक्षण अभ्यासको थालनी गर्न, शिक्षकको विकल्पको रूपमा प्रयोग गर्ने र प्रविधिमैत्री सिकाइ प्रदान गर्ने भर्चुअल सिकाइका अन्य केही उद्देश्यहरू हुन् ।

भर्चुअल सिकाइको प्रयोगले शिक्षक र विद्यार्थीको सिकाइ प्रणालीलाई सहज त बनाउने छ नै, साथसाथै सिकाइ स्तरलाई अन्तर्राष्ट्रियकरणसमेत गरिदिन्छ । विद्यालयहरूमा ई–क्लास, भर्चुअल क्लास, टेक्नो ल्याब, स्मार्ट बोर्ड, ई–पाटीलगायतका प्रविधिहरू भित्रिएका छन् । पहिले जस्तो कालोपाटीमा चकले घडी र गाई बनाएर सिकाउने चलन बदलिँदै गएको छ । अब गाई र घडीकै तस्बिर र भिडियो बाट पढाउन थालिएको छ ।

‘शिक्षण पेसाबाट निवृत्त भएका योग्य र अनुभवी शिक्षकहरूबाट भर्चुअल कक्षा सञ्चालन गर्ने वातावरण सिर्जना गरेर शिक्षा क्षेत्रको थिङ्क ट्याङ्कलाई उत्पादनमुखी कार्यमा लगाउने नीति अवलम्बन गर्न जरुरी छ ।’

कक्षाकोठाको शिक्षण सिकाइमा यस्ता प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, व्यवहारिक, मनोरञ्जक र चिरस्थायी बनाउने गर्दछ । समयसापेक्ष शिक्षा, प्रतिस्पर्धी जनशक्ति, शैक्षिक रूपान्तरण र व्यवहारिक सिकाइ सीपको विकास र विस्तारका लागि समेत सिकाइमा नवीन प्रविधिको प्रयोग अत्यावश्यक रहेको देखिन्छ । विद्यालयको कक्षाकोठाको चौघेराले वा ४५ मिनेटका दरले हुने दैनिक सात घण्टी पढाइले मात्रै विद्यार्थीहरूको सिकाइ भोक र तलतल थेग्न नसक्ने निश्चित देखिएको छ । गुम्बा, मदरसा र गुरुकुलबाट विकास हुँदै आएको हाम्रो सिकाइ प्रणालीलाई अन्तर्राष्ट्रिय सिकाइसँग जोड्नसमेत प्रविधियुक्त पढाइ आवश्यक देखिन्छ । शिक्षक र विद्यार्थीमा अनुसन्धान र खोज गरेर सिक्ने बानीको समेत विकास गर्नमा प्रविधिले सहयोग पुर्‍याउँदछ ।

कम्प्युटर, इमेल, इन्टरनेट त शिक्षण सिकाइको लागि वरदान साबित भएका छन् । शिक्षकलाई सम्बन्धित विषय र शीर्षकमा अत्यन्त नवीन ज्ञान प्राप्त गर्नदेखि विद्यार्थीले सिकेको ज्ञानलाई स्थायी बनाउन, नयाँ–नयाँ विषयमा ज्ञान आर्जन गर्न इन्टरनेटको प्रयोगले निकै सहयोग पुर्‍याउँछ । कक्षाकोठा शिक्षणको लागि कुनै पनि यस्तो विषयवस्तु छैन, जुन सिक्न र सिकाउन कम्प्युटरले सहयोग नपुर्‍याओस् ।

सिकाइमा सूचना र सञ्चार प्रविधि
सूचना र सञ्चार प्रविधिद्वारा सिकाइ, सूचना र सञ्चार प्रविधिसँग सिकाइ, सूचना र सञ्चार प्रविधिको बारेमा सिकाइ कक्षाकोठाको सिकाइमा सूचना र सञ्चार प्रविधिका मुख्य तीन वटा सिद्धान्तहरू हुन् । जसको समुचित प्रयोगले शिक्षक र विद्यार्थीहरूलाई प्रविधिको माध्यमबाट कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुन सक्दछ । प्रविधिले विश्वलाई एउटा सानो गाउँ र प्रत्येक विद्यार्थी तथा शिक्षकलाई एक आपसमा जोड्ने सेतुको कार्य गर्दछ । प्राविधिक माध्यमबाट विश्वको कुनै एउटा कुनामा बसेर अर्को कुनाको समाचार तथा ज्ञानका कुरा सहजै हासिल गर्न सकिने र आफ्ना प्रतिक्रियाहरू पनि तुरुन्तै प्रदान गर्न सकिन्छ । जब हाम्रा शैक्षिक संस्थाहरू प्रविधि मैत्री हुन्छन् तब हामीले उत्पादन गरेका विद्यार्थीहरू विश्व बजारमा सहज रूपमा समायोजन हुन सक्दछन् ।

केही अपवादहरू होलान्, तर सत्य के हो भने अहिलेको पुस्ता हत्केलामा प्रविधि बोकेर आफ्ना औँलाहरूमा संसार घुमाइरहेको छ । धूलो, सिलोट, खरी वा हरिया पात र अँगार पिसेर बासको कलमले कालो पाटीमा लेखेको इतिहास सुनाएर नयाँ पुस्ता अहिलेको युगको प्रतिस्पर्धी बन्न सक्दैन भन्नेमा हामी सचेत हुन जरुरी छ । अहिलेको संसार ज्ञानमा अडेको छ । सूचना र प्रविधि दुवैको भूमण्डलीकरणले ज्ञानको दायरालाई फराकिलो तथा सहज पहुँचमा जोड दिएको छ । त्यस कारण एक्काइसौँ शताब्दीले माग गरेको बिश्ववजारमा खपत हुने सिकाइ प्रदान गर्नका लागि कक्षाकोठामा प्रविधिको प्रयोग निर्विकल्प बनिरहेको छ ।

चुनौतीहरू
सिकाइमा प्रविधिको प्रयोग आफैमा चुनौतीपूर्ण कार्य हो । विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका लागि आर्थिक, भौतिक र कार्यक्रमगत चुनौतीहरू धेरै रहेका छन् ।

कक्षाकोठामा प्रविधिको समुचित प्रयोगका लागि आवश्यक पर्ने श्रोत साधन र तिनको दिगोपना महत्त्वपूर्ण विषय हुन् । शिक्षकको क्षमता विकास र उत्प्रेरणा अर्को जरुर पाटो हो । प्रविधि मैत्री कक्षाको व्यवस्थापन र समुचित प्रयोग, पैरवी, प्रचार प्रसार, सचेतना, उपलब्धता, सङ्घ, प्रदेश र स्थानीय तहहरूबिच सामञ्जस्यता, सहयोग, साझेदारी र समन्वय आदिजस्ता विषयवस्तुहरू भर्चुअल सिकाइका मात्र नभएर समग्र प्रविधि मैत्री सिकाइका चुनौतीका विषयहरू हुन् । भर्चुअल सिकाइको माध्यमबाट सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार तयार गर्ने कार्य समेत चुनौतीको विषय बनिरहेको छ ।

उपसंहार
गाउँ र सहर, सुगम र दुर्गम तथा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुबीच देखिने डिजिटल डिभाइडरलाई कम गर्दै शिक्षामा समानता र न्यायको पूर्ण प्रत्याभूति दिलाउने महत्त्वपूर्ण अभिभारा हामीसँग छ । सबै बालबालिकालाई एक्काइसौँ शताब्दी अनुकूलको बनाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा विक्न सक्ने बनाउन सूचना तथा सञ्चार प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको छ । खुला सरकार, खुला सिकाइ, खुला शिक्षा जस्ता नवीनतम धारणा विश्वमा आइरहेको समयमा सिकाइलाई एउटा पाठ्यपुस्तकमा बाँध्नु र नियन्त्रण गर्नु झनै बाल अधिकार विपरीत नबन्ला भन्न सकिँदैन ।

भर्चुअल कक्षाको माध्यमबाट खुला सिकाइ र खुला शिक्षाको अभ्यास कक्षाकोठामा गर्न सबै विद्यालयहरूमा प्रविधि मैत्री सिकाइका आवश्यक पूर्वाधारको विकासका लागि तीन वटै तहका सरकारहरू जिम्मेवार र उत्तरदायी बन्नु पर्दछ । शिक्षण पेसाबाट निवृत्त भएका योग्य र अनुभवी शिक्षकहरूबाट भर्चुअल कक्षा सञ्चालन गर्ने वातावरण सिर्जना गरेर शिक्षा क्षेत्रको थिङ्क ट्याङ्कलाई उत्पादनमुखी कार्यमा लगाउने नीति अवलम्बन गर्न जरुरी छ । कक्षाकोठाको सिकाइमा इन्टरनेटको कनेक्टिभिटी गराउन आवश्यक पर्ने रणनीतिको रूपमा भर्चुअल कक्षालाई प्रयोग गर्न सकिन्छ । मल्टिकास्टिङ र ब्रोडकास्टिङ गरी दुवै माध्यमबाट भर्चुअल कक्षाहरू सञ्चालन तथा व्यवस्थापन गरेर विद्यालय शिक्षालाई डिजिटलाइज्ड गराउन सकिन्छ । विद्यार्थीको सिकाइलाई मनोरञ्जनपूर्ण र दिगोपन बनाउँदै शिक्षकको बोझ कम गर्न तथा विद्यार्थीको आवश्यकता, रुचि, क्षमता र स्तर अनुसार सिकाइ गर्न भर्चुअल कक्षा र सिकाइ जस्ता नविनतम् प्रविधिहरूको प्रयोग कक्षामा गर्नुपर्ने देखिन्छ ।

तसर्थ भर्चुअल सिकाइ विद्यार्थीहरूलाई वैकल्पिक तरिकाबाट सिक्न सक्ने पूरक सामग्री मात्र नभएर शिक्षक र शिक्षणको एक महत्त्वपूर्ण विकल्प बनिरहेको छ । भर्चुअल सिकाइ पेडा गोजीमा आएको रूपान्तरण हो । फोर्थ जेनरेशनको अपेक्षा हो । रुचि हो । चाहना हो । आवश्यकता हो । सुशासनको महत्त्वपूर्ण औजार हो । स्व अनुशासन, नैतिकता र सदाचारिताको मुख्य कडी हो । सिकाइमा इन्टरनेट जोड्ने सजिलो मार्ग हो । औपचारिक शिक्षाभित्रको खुला सिकाइ हो । अतः भर्चुअल कक्षाजस्ता नवीनतम प्रविधिहरूको समुचित व्यवस्थापन गर्न सके देशको शैक्षिक गुणस्तर उकास्नमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

उपसचिव, भेरीगंगा नगरपालिका, सुर्खेत

Tags :
प्रतिक्रिया दिनुहोस